मोरङको कटहरीमा ४ दिने कृषि एक्स्पो सुरु

मोरङको कटहरीमा ४ दिने कृषि एक्स्पो सुरु
सुन्नुहोस्

विराटनगर : मोरङको कटहरीस्थित कृषि थोक बजारमा पहिलोपटक ४ दिने कृषि मेलाको आयोजना गरिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र संघीय सरकारका कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले बिहीबार संयुक्त रूपमा मेलाको उद्घाटन गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आयोजना गरेको कृषि–एक्स्पो २०८१ आगामी आइतबारसम्म सञ्चालन हुने छ।

किसान र निजी क्षेत्रलाई १ ठाउँमा ल्याएर कृषि उत्पादन बढाउनका साथै यान्त्रीकरण गर्न एक्स्पो कोषेढुंगा सावित हुने मुख्यमन्त्री कार्कीले बताए। ‘लगानीको सुनिश्चिता र कृषि आधुनिकीकरणका लागि यस्ता अवसर सहयोगी हुन्छन्,’ उनले भने, ‘प्रदेश सरकारले कोशी प्रदेशलाई कृषि हबको रुपमा विकास गर्नसमेत कार्ययोजना अघि बढाएको छ।’

कार्कीले कोशी प्रदेशमा भौगोलिक अवस्थितिअनुसार कृषि क्षेत्रको विकासका लागि सरकारले काम गरिरहेको बताए। किसानका लागि बैंक ब्याजमा अनुदान, यान्त्रीकरणमा सहयोग र कृषि उद्योग सञ्चालनमा सहयोग गरिरहेको उनले सुनाए।

संघीय सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिको व्यावसासायीकरणका लागि रणनीतिक महत्वका साथ अघि बढ्नु पर्ने बताए। ‘सरकारले लगानी दशक र कृषि दशकलाई एकसाथ अघि बढाई निजीक्षेत्रलाई कृषि उद्यममा जोड्न काम गरिरहेको छ,’ उनले भने, ‘कृषिमा निजी क्षेत्रको उचित लगानी हुन नसक्दा आधुनिक ढंगको कृषि प्रणालीको विकास हुन सकेको छैन।’

सरकार निजीक्षेत्रसँग मिलेर काम गर्न तयार रहेको उनी बताउँछन्। उनले ७ वटै प्रदेश र सबै स्थानीय तहमा लगानी क्षेत्र पहिचान गरी बजेट पठाउने काम भएको बताए। अधिकारीले दूग्धजन्य पदार्थको उत्पादन तथा बजारीकरणका निम्ति विविधीकरण गर्न आवश्यक रहेको उल्लेख गरे।

महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले निर्वाहमुखी कृषिलाई आधुनिकीकरण गर्दै किसान र उद्यमीलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसाथ एक्स्पोको आयोजना गरिएको जानकारी दिए। उनले भने, ‘कृषिको विकाससँगै आयातमुखी अवस्थालाई परिवर्तन गरेर निर्यातजन्य कृषि उपजको उत्पादनमा टेवा दिने उद्देश्य हो।’ राउतले किसान, उद्यमी, लगानीकर्तासहितको उपस्थिति रहेको एक्स्पो देशमै उदाहरणीय भएको उल्लेख गरे। 
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले कृषिमा निजी क्षेत्रको प्रवेश र लगानी सुनिश्चिताको काम हुन सके नेपालले चाँडै यस क्षेत्रमा फड्को मार्ने बताए। हरेक वर्ष हुने कृषिजन्य र खाद्यान्न वस्तुको बढ्दो आयात चिन्ताको विषय भएको उनको भनाइ छ।

महासंघीकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठले भौगोलिक अवस्थिति र विविधतायुक्त हावापानीका कारण नेपालले कृषि क्षेत्रमा राम्रो प्रगति गर्न सक्ने बताइन्। भनिन्, ‘कोसी प्रदेश त कषिका लागि अझ धेरै उर्वर भूमि हो।’ कार्यक्रममा कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, सहज परियोजनाकी टिम लिडर रिमा श्रेष्ठलगायतले सार्वजनिक र निजी क्षेत्रबीचको समन्वयमा सरकारको बलियो सहभागितामा कृषि क्षेत्रले उन्नति गर्न सक्ने बताएका छन्। परियोजनाले विगत ४ वर्षदेखि कोशी प्रदेशमा काम गरिरहेको श्रेष्ठको भनाइ थियो। 

आगामी आइतबारसम्म चल्ने कृषि एक्स्पोमा नेपाल र भारतका गरी १ सय ३० वटा स्टल रहेका छन्। जुम्लाको मार्सी चामलदेखि विभिन्न प्रकारको दाल र स्याउ, झापाको गाउँले अचार र नमुना अचार, पाँचथरको काँकरा र किबीको जुसलगायतका कृषि सामग्रीका स्टल छन्।

नेपाल र भारतका १५ जना कृषि विज्ञहरूले एक्स्पोमा सहभागिता जनाएका छन्। उनीहरुले एक्स्पो अवधिभर कृषि उत्पादन, पशुपंक्षी, कष्टम हाइरिङ, क्लाइमेट चेन्ज, जैविक मल तथा विषादी बनाउने र प्रयोग विधि, पर्यावरण–मैत्री ज्ञान, सीप र प्रविधिलगायत विषयमा कृषकसँग संवाद र छलफल गर्नेछन्। 

एक्स्पोमा कृषि औजारको प्रदर्शनी, उन्नतजातका पशुपंक्षीको प्रदर्शनी, पशुपंक्षी तथा कृषि उपजको प्रतियोगिता खेतदेखि भान्साको अनुभव र फुड फेस्टिबल गरिने राउतले बताए। मेला अवलोकन गर्न बाहिरी जिल्लाबाट आउनेका लागि खाना र बस्न निःशुल्क गरिएको छ।

एक्स्पोलाई व्यवस्थित र सहज बनाउन ५ वटा ब्लक छुट्याइएको छ। ‘ए’ ब्लकमा पशुपंक्षी, ‘बी’मा कृषि, ‘सी’मा मेसिनरी, ‘डी’मा फुड स्टल र ‘ई’मा गोष्ठी तथा परामर्श सेवा रहेको जानकारी उनले दिए। उनका अनुसार कृषि व्यवसायीबीच विटुवी कार्यक्रम समेत राखिएको छ।

काठमाडौं विश्वविद्यालयले कृषि विषयमा परामर्श दिने कार्यक्रमसमेत छ। जुन लोकसेवाको तयारीमा रहेका परिक्षार्थीहरुका लागि उपयोगी राउत बताउँछन्। एक्स्पोमा जिल्ला नगर उद्योग वाणिज्य संघहरु, कृषि ज्ञान केन्द्र, कोशीका १३७ वटा स्थानीय तह, कृषक, कृषि व्यवसायी, सहकारी, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, कृषि कलेजबाट सहभागिता हुने जनाइएको छ।

कोशी प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि सहयोग गर्ने उद्देश्यसहित आयोजना गरिएको एक्स्पो सम्पन्न गर्न १ करोड खर्च लाग्ने अनुमान गरिएको राउतको भनाइ छ। कृषि एक्स्पोमा प्रवेश निःशुल्क गरिएको छ। नेपाल उद्योग वाणिज्य कोशीले प्रत्येक वर्ष कृषि एक्स्पोलाई निरन्तरता दिने भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.