मुस्ताङको बागवानीमा स्याउ टिप्ने खाने मेला सुरु
जोमसोम : मुस्ताङको घरपझोङ-२ मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्र, मार्फामा मंगलबारदेखि एक हप्ते स्याउ टिप्ने खाने मेला सुरु भएको छ। केन्द्रले पर्यटन प्रवर्द्धनका लागि स्याउ टिप्ने खाने मेला सुरु गरेको हो।
मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्र फार्मका स्याउ बगैँचामा अहिले लटरम्म स्याउ फलेका छन्। असोज १ गतेदेखि जिल्ला स्तरको निर्णय अनुसार मुस्ताङका स्याउ बगैँचामा धमाधम स्याउ टिप्ने कार्य सुरु भएको छ। यसै क्रममा केन्द्रले मुस्ताङ भ्रमण गर्ने अनुकूल समय तथा स्याउ टिप्ने सिजन सुरु हुँदा पर्यटन प्रवर्द्धन भन्दै स्याउ टिप्ने खाने मेला सञ्चालन गरेको केन्द्र प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए।
यसका लागि शीतोष्ण बागवानी विकास केन्द्रले आफ्नो कार्यक्षेत्र भित्र उत्पादन भएको स्याउ क्षेत्र अन्तर्गत एक क्षेत्र तोकेर स्याउ टिप्ने खाने मेला सुरु गरेको कार्यालय प्रमुख आत्रेयको भनाइ छ। बागवानीले पर्यटकलाई स्याउ टिप्ने खाने सुविधा उपलब्ध गराउन कार्यालय अगाडीको एक सीमित क्षेत्र तोकेको छ। झन्डै एक दर्जन बोटमा फलेका राताम्मे लटरम्म स्याउ पर्यटकहरू आफै सीमित शुल्क तिरेर बगैँचाभित्र घुम्दै धित मरुन्जेल स्याउ टिपेर खान पाउने व्यवस्था गरेको केन्द्र प्रमुख आत्रेयको भनाइ छ।
बागवानी फार्मको तोकिएको स्याउ बगैँचामा पुगेर स्याउ टिपेर खान प्रतिव्यक्ति २ सय राजश्व शुल्क तोकेको छ। केन्द्रले तोकिएको बगैँचा क्षेत्र बाहेक अन्य बगैँचामा पसेर स्याउ टिपेर खान नपाउने जनाएको छ।