१५ किलो गाँजासहित महिला पक्राउ
विराटनगर : मोरङको जहदाबाट लागुऔषध गाँजासहित बुधबार साँझ १ जना महिला पक्राउ परेकी छन्।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार घरमा लुकाइछिपाइ राखिएको १५ किलोग्राम गाँजासहित जहदा गाउँपालिका-१ की ५० वर्षीया मीरादेवी बैठालाई पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय रानी र बुधनगरको संयुक्त टोलीले साँझ ५:३० बजेतिर छापा हानेर बैठाको घरमा खानतलासी गरेको उनले बताए।
छापा हान्ने क्रममा घरभित्र गाँजा बरामद भएपछि घरधनी महिलालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्लाष्टिकको बोराभित्र लुकाएर राखेको अवस्थामा गाँजा फेला परेको जोशीले जनाए। पक्राउ परेकी बैठलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर इन्स्पेक्टर प्रकाश थापा नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको छ।