काठमाडौंमा सञ्चालन भएको युथ लिगमा १५३ खेलाडी सहभागी
काठमाडौं : सानै उमेरदेखि फुटबल खेलको विकासका लागि काठमाडौं किकर्स एकेडेमीले सुरु गरेको युथ लिग सम्पन्न भएको छ।
५ हप्तासम्म सञ्चालन भएको युथ लिग शनिबार सम्पन्न भएको हो। किकर्स एकेडेमी युथ लिगमा विभिन्न उमेर समूहमा खेलाडीहरूले सहभागी जनाएका थिए।
जसमा यु–८ को ४ टिममा २६ खेलाडी, यु–१० को ६ वटा टिममा ६२ खेलाडी, यु–१२ को ६ टिममा ६५ खेलाडी गरी १ सय ५३ खेलाडी लिगमा सहभागी भएको एकेडेमीका निर्देशक आशीष अधिकारीले बताए। उनले साना उमेरका लागि लिग नभएकाले एकेडेमी आफैले लिगको आयोजना गरेको बताए। युथ लिगमा उत्कृष्ट भएका खेलाडीहरूलाई देशबाहिर हुने प्रतियोगितामा सहभागी गराइने उनको भनाइ छ।
युथ लिग समापनका क्रममा उत्कृष्ट खेलाडीहरूलाई मेडल प्रदान गरिएको थियो। सानै उमेरका खेलाडीहरूलाई उच्चस्तरको प्रशिक्षणसहित नेपाली फुटबल क्षेत्रको विकासमा योगदान पुराउने उद्देश्यसहित काठमाडौं किकर्सले खेलाडीहरूको प्रशिक्षण सञ्चालन गर्दै आएको उनले बताए।