काठमाडौं: कीर्तिपुर नगरप्रमुखसहित वडा नम्बर १ र ४ मा आज उपनिर्वाचन हुँदैछ। नगरप्रमुखका लागि प्रमुख राजनीतिक दलसहित २० उम्मेदवार उपनिर्वाचनमा भिड्दैछन्।
एमालेले संवैधानिक कानुनमा विद्यावारिधि गरेका डा. सुरेन्द्र मानन्धर उठाएको छ। कांग्रेसले नगर सभापति कृष्णमान डंगोललाई उम्मेदवार बनाएको छ। माओवादी केन्द्रले शिवनारायण महर्जन र राप्रपाले इन्जिनियर ध्रुव महर्जनलाई उम्मेदवार बनाएका छन्। स्वतन्त्र उम्मेदवारहरु पनि चर्चामा रहेका छन्।
कांग्रेसका राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुर नगरपालिकामा उपनिर्वाचन भएको हो। आज बिहान ७ बजेबाट मतदान केन्द्रमा मतदाता लाइनबद्ध भएर मतदान गरिरहेका छन्।
आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ। १ मेयर, १ उपमेयर, २ गाउँपालिका अध्यक्ष, ४ गाउँपालिका उपाध्यक्ष र ३३ वडाध्यक्षका लागि चुनाव भइरहेको छ।
तस्बिर : अभिशेक महर्जन