काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरूले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् । सहकारी ठगी प्रकरणमा काठमाडौं सरकारी वकिल कार्यालयमा लामिछानेको बयान भइरहँदा उनका समर्थकले माइतिघरमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले राजनीतिक प्रतिशोधका कारण निर्दोश व्यक्तिलाई थुनामा राखेको आरोप लगाएका छन् । प्रदर्शनमा सहभागीले रवि लामिछानेलाई रिहा गर,राजनीतिक प्रतिशोध बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गर्दै नारा लगाएका थिए ।
पोखराको प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा बयानका लागि बिहीबार काठमाडौं ल्याइएको थियो । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री लामिछानेसँग शुक्रबारदेखि बयान सुरू गरिएको हो। उनको बयान केही दिन लम्बिने प्रहरीले जनाएको छ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बिहीबार बेलुका बयानका लागि काठमाडौं ल्याएको थियो। लामिछानेविरुद्ध काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।
स्वर्णलक्ष्मीकै बचत हिनामिना गरेको आरोपमा छविलाल जोशी र कुमार रम्तेलसँग काठमाडौंमा बयान लिएर कास्की पठाइसकेको छ। पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सहकारीको रकम ठगी र सङ्गठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। उनलाई बयानका लागि यसअघि रुपन्देही लगेर पुनः पोखरा ल्याइएको थियो।
जिल्ला अदालत कास्कीको आदेशबाट पटक-पटक म्याद थप गर्दै प्रहरीले लामिछानेविरुद्ध सहकारीको रकम अपचलनसम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको छ।
लामिछानेलाई रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा बयान लिएको थियो। यता साहारा चितवन सहकारीको रकम ठगी र संगठित अपराधको कसुरमा उनीविरुद्ध अनुसन्धान गर्न चितवनमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ। काठमाडौंमा बयान सकिएपछि उनलाई चितवन लैजाने प्रहरीको तयारी छ।