सुन्तलाको उत्पादन बढ्दै, तर करोडौंको आयात यथावत्

सुन्तलाको उत्पादन बढ्दै, तर करोडौंको आयात यथावत्

काठमाडौं : राष्ट्रिय फल कुन हो ? धेरैलाई थाहै छैन। २०८० चैत ३० गते सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको थियो। तर, यसको प्रवद्र्धन एवं अन्तर्राष्ट्रिय पहिचानमा प्रभावकारी काम नहुँदा सुन्तला राष्ट्रिय फल हो भन्ने जानकारी नभएकै हो। 

राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार मुलुकका ४८ जिल्लाका १०० हेक्टरभन्दा बढी क्षेत्रफलमा सुन्तलाको व्यावसायिक खेती हुन्छ। पूर्व मेचीदेखी पश्चिम महाकालीको मध्यपहाडी सबै जिल्लामा सुन्तला खेती हुन्छ। वार्षिक २४ अर्बको कारोबार हुन्छ। राष्ट्रिय पहिचान दिने एवं मौलिक फल भएकाले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरिएको सरकारको भनाइ छ। तर, यसको प्रवद्र्धन एवं अन्तर्राष्ट्रिय रूपमा पहिचान दिन भने सरकार अनुदार देखिएको छ। त्यसैकारण, मागअनुसार आन्तरिक रूपमा सुन्तला उत्पादन छैन, बर्सेनि करोडौंको आयात गर्नु परिरहेको यस क्षेत्रका जानकारहरू बताउँछन। 

सुन्तलाको मौसम, स्वदेशी रोजौं अहिले सुन्तलाको मौसम हो। स्थान र जातअनुसारका सुन्तला बजारमा छ्यापछ्याप्ती पाइन्छ। बाली, जात र स्थान विशेषअनुसार सुन्तला फल पाक्ने सिजन फरकफरक हुन्छ। उन्सु जातको सुन्तला असोजमा पाक्छ। नेपाली सुन्तला मंसिरदेखि पाक्न सुरु हुन्छ। तर किन्नो सुन्तला भने पछौटे जातको भएकोले पुस अन्तिमदेखि माघतिर टिप्न लायक हुन्छ। यसकारण सुन्तलाको मध्य सिजन चलेको छ। बजारमा स्वदेशी मात्र नभई विदेशी सुन्तला पनि छन्। तर, यस क्षेत्रका जानकारहरू स्वदेशी सुन्तला उपभोग गर्न उपभोक्तालाई सुझाव दिन्छन्। 

यसपटक अधिकांश जिल्लामा सुन्तला उत्पादन राम्रो उत्पादन भएको किसानहरू बताउँछन्। सुन्तलाको सुपर जोन क्षेत्र तोकिएको स्याङ्जामा यस वर्ष १ अर्ब २५ करोडको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र स्याङ्जाले जानकारी दिएको छ। केन्द्रका अनुसार २० देखि २१ हजार मेट्रिकटन सुन्तला फलेको छ। जुन गत वर्षभन्दा १५ प्रतिशतले बढी हो। गत वर्ष १७ हजार मेट्रिकटन सुन्तला उत्पादन भएको थियो। 

सरकारले राष्ट्रिय फल घोषणा गरेको करिब ९ महिना बितिसक्दा पनि सुन्तलाका लागि विशेष कार्यक्रम लागू गरिएको छैन। राष्ट्रिय फलफूल विकास केन्द्रले राष्ट्रिय सुन्तला जात बाली विकास कार्यक्रम पुनस्र्थापना गरी सुन्तलाको तीव्र रूपमा विकास, विस्तार र प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औंल्याएको छ। स्वस्थ बिरुवा उत्पादनको लागि विशेष नियमनकारी भूमिका खेल्नुपर्ने खाँचो रहेको केन्द्रका अधिकारीहरू बताउँछन्। 

प्राथमिकता किन परेन ? 

छिमेकी मुलुक भारतले सन् १९५० तिर ‘आँप’लाई राष्ट्रिय फल घोषणा गर्यो‍। यस्तै, जापानले हलुवावेद र बंगलादेशले रुख कटहरलाई राष्ट्रिय फलको मान्यता दियो। तर, नेपाल सरकारले २०८० चैत्र ३० गते मात्रै सुन्तलालाई राष्ट्रिय फलको रूपमा घोषणा गरेको थियो। 

विश्वका अधिकांश मुलुकले आफ्नो राष्ट्रिय पहिचान दिने मौलिक फललाई राष्ट्रिय फलको रूपमा मान्यता दिन्छन। त्यसको अन्तर्राष्ट्रिय रूपमा पहिचान दिँदै आएका छन्। यसर्थ नेपालकै मौलिक फलको रूपमा परम्परागत तथा सांस्कृतिक महत्व बोकेको, देशको अधिकांश भू–भागमा खेती गर्न सकिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा समेत उच्च माग भएको आर्थिक, सामाजिक, रोजगारीलगायतका दृष्टिकोणबाट अन्य फलको तुलनामा अग्र स्थानमा रहेको सुन्तलालाई राष्ट्रिय फलको रूपमा मान्यता दिएको सरकारले घोषणामा उल्लेख गरेको थियो। 

मुलुकका ४८ जिल्लामा १०० हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक खेती हुने गरेको, स्थानीय जातकै व्यावसायिक खेती भएकोले सुन्तलाले राष्ट्रिय महŒव पाएको बताउँछन्, राष्ट्रिय फलफूल विकास केन्द्रका वरिष्ठ बागवानी विकास अधिकृत तथा सूचना अधिकारी सूर्यप्रसाद बराल। तर, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०७९/०८० मा प्रकाशन गरेको सुन्तलाको तथ्यांकअनुसार मुलुकका ५७ ओटा जिल्लामा २८ हजार ४ सय ५१ हेक्टर क्षेत्रफलमा सुन्तला खेती लगाइएको थियो। जसमा १ लाख ९८ हजार ७ सय ७९ मेट्रिकटन उत्पादन भएको थियो। उक्त आवमा मुलुकभर उत्पादकत्व ९.८५ प्रतिहेक्टर मेट्रिकटन रहेको मन्त्रालयले उल्लेख गरेको छ। आँप भने ४२ जिल्लाको १०० हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक खेती भइरहेको छ। आँपको वार्षिक २४ अर्ब कारोबार हुन्छ। 

यस्तै, स्याउ पनि १६ जिल्लाको १०० हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक खेती हुन्छ। सुन्तलाको तुलनामा अन्य फलको उत्पादन व्यावसायिक, क्षेत्रगत र उत्पादनको हिसाबमा कम छ। वरिष्ठ बागवानी विकास अधिकृत बराल भन्छन्, ‘सुन्तला पूर्व मेचीदेखी पश्चिम महाकालीसम्मका मध्यपहाडी सबै जिल्लामा फल्छ। समग्र मुलुकको भूगोलमा पनि मध्यपहाडीको क्षेत्र धेरै पर्छ। अझ आव २०७९/०८० को तथ्यांकअनुसार कुल कृषि गार्हस्थ्य उत्पादनमा सुन्तलाबालीको योगदान झन्डै एक प्रतिशत रहेको छ। यसकारण सुन्तलालाई राष्ट्रिय फलमा राख्न हामीले सुझाव दिएका थियौं।’ यससँगै अन्न बालीले भन्दा ७ गुणा बढी लाभदायक रहेको सुन्तला खेतीले प्रतिवर्ष करिब ७ लाखभन्दा बढीलाई प्रत्यक्ष रूपमा रोजगार सिर्जना गरेको केन्द्रको दाबी छ। 

आन्तरिक कारोबार वार्षिक ३० अर्ब, नपुगेर अझै आयात

सुन्तलाको वार्षिक कारोबार करिब ३० अर्ब ६१ करोड ४९ लाख रुपैयाँ हुने गरेको राष्ट्रिय फलफूल विकास केन्द्रले जानकारी दिएको छ। आन्तरिक उत्पादनले नपुगेर करोडौंको आयात गर्नुपर्ने स्थिति कायमै छ। 

सुन्तला राष्ट्रिय फल  घोषणापछि यसमा आत्मनिर्भर बनेर गर्व गर्ने अवस्था हुनुपर्छ। अब कम्तीमा  नेपालले अरू देशबाट सुन्तला आयात गर्न नपर्ने स्थिति बनाउनु पर्‍यो। नेपालमा  बसेर नागपुरे सुन्तला खान बाध्य भइयो भने राष्ट्रिय फल घोषणाको अर्थ हुँदैन । यसर्थ मुलुकमा खपत हुने शतप्रतिशत उत्पादन स्वदेशमै हुने प्रावधान बनाउनुपर्छ।  यसका लागि आन्तरिक उत्पादन वृद्धि हुनुपर्छ।, डा. कृष्ण पौडेल, कृषि विज्ञ

पछिल्ला वर्षमा भने सुन्तलाको आन्तरिक उत्पादन बढ्दै गएको छ। त्यसैकारण, आयातको आकार कम हुँदै गएको भन्सार विभागको तथ्यांकले देखाउँछ। आव २०७५/७६ मा १ अर्ब १२ करोड २१ लाख रुपैयाँ बराबरको सुन्तला आयात भएको थियो। २०७६/७७ मा १ अर्ब २० करोड, आव २०७७/७८ मा १ अर्ब ३७ करोड, २०७८/७९ मा १ अर्ब २७ करोड रुपैयाँबराबरको सुन्तला आयात गरिएको थियो। तर आव २०७९/८० मा भने अर्बभन्दा कम अर्थात् ८८ करोड ४१ लाख रुपैयाँको मात्रै सुन्तला आयात भयो। आव २०८०/०८१ मा आयात घटेर २२ करोड १६ लाख रुपैयाँबराबरको मात्रै आयात भयो।

चालु आर्थिक वर्षको मंसिर महिनादेखियता सुन्तलाको मुख्य सिजनमा १६ लाख ४ हजार रुपैयाँबराबरको ८ हजार ७ सय ७ किलोग्राम सुन्तला आयात भएको छ। जसमा भारतबाट एकदम न्यून आयात भएको छ। दक्षिण अफ्रिकाको सुन्तला यस पटक ८ हजार ६ सय ४७ किलोग्राम नेपाल भित्रिएको छ। विगतको तुलनामा नेपाली बजारमा आन्तरिक उत्पादनले गर्दा आयातको आकार घट्दै गएको छ। कृषि विज्ञ डा. कृष्ण पौडेल सुन्तलालाई राष्ट्रिय फल बनाइसकेपछि आत्मनिर्भर बनेर गर्व गर्ने वातावरण बन्नुपर्ने तर्क गर्छन्। ‘राष्ट्रिय फल घोषणा गरेपछि अब अरू देशबाट सुन्तला आयात गर्न नपर्ने स्थिति बनाउनु पर्‍यो,’ उनी भन्छन, ‘यसका लागि आन्तरिक उत्पादन वृद्धि हुनैपर्छ। नेपाल बसेर नागपुरे सुन्तला खान बाध्य भइयो भने राष्ट्रिय फलको अर्थ नहुने डा. पौडेलको भनाइ छ। यसर्थ मुलुकमा खपत हुने शतप्रतिशत उत्पादन स्वदेशकै हुने प्रावधान बनाइनुपर्नेमा उनको जोड छ। ‘सरकारले राष्ट्रिय भनेर तोकिसकेपछि यसमा सरकारले चासो दिन आवश्यक छ। कम्तीमा पनि उत्पादनलाई बढाएर भण्डारणको व्यवस्था गरेर नेपालमा बाह्रैमहिना खान पाउने बनायो भने बल्ल राष्ट्रिय फलले सार्थकता पाउँछ,’ कृषिविज्ञ पौडेल भन्छन्। 

राष्ट्रिय कृषक समूह महासंघ, नेपालका अध्यक्ष पञ्चकाजी श्रेष्ठ किसानले उत्पादन गर्ने प्रायःजस्तो वस्तु राष्ट्रियकरण गर्नुपर्ने बताउँछन्। सुन्तला उत्पादनसँगै किसानले उचित मूल्यसहितको बजार सहज हुनुपर्ने उनको भनाइ छ। ‘धेरैजसो कृषिजन्य उत्पादनका क्रममा रोग लाग्ने तथा पशुपन्छीले पनि नोक्सानी गर्ने गर्छ, यसैले सरकारले हार्भेस्टिङ गर्नेदेखि लगायतका व्यवस्थापन प्रविधिमैत्री बनाउनु पर्छ,’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘साथै कृषि प्राविधिकहरू सहज रूपमा किसानका घरघरमा पुग्न सक्ने खालको वातावरण बन्नुपर्छ। कृषिमा गरेको लगानी जोखिम मोल्न नपरोस् भन्नका लागि सबै खालका उत्पादनको क्रमशः बिमा सुविधा आवश्यक छ।’

कति उत्पादन हुन्छ सुन्तला ? 

मुलुकमा सन् १९९० मा ४ हजार ८ सय ४० हेक्टरमा सुन्तला जात (जुनार, कागती, निबुवा आदि) फलफूलको खेती भएको इतिहास छ। जसबाट ५० हजार ५ सय ४० टन उत्पादन भएको थियो। सन् २०१८ मा बढेर ४६ हजार ४ सय १२ हेक्टर जमिनमा सुन्तला जातको खेती गरियो। उत्पादन पनि २ लाख ७१ हजार ९ सय ८ टन भयो। 

सुन्तला राष्ट्रिय फल घोषणापछि यसका लागि केही न केही कार्यक्रम गर्नुपर्छ भनेर केन्द्र सरकारको अगुवाइमा ५० ओटा स्थानीय तहमा ससर्त अनुदानका कार्यक्रम सुरु भएका छन्। अन्नबालीले भन्दा ७ गुणा बढी लाभदायक रहेको सुन्तला खेतीले प्रतिवर्ष ७ लाखभन्दा बढीलाई प्रत्यक्ष रूपमा रोजगारी सिर्जना गरेको छ।, सूर्यप्रसाद बराल, वरिष्ठ बागवानी विकास अधिकृत तथा सूचना अधिकारी, राष्ट्रिय फलफूल विकास केन्द्र

सुन्तला जातका फलफूलबाट उत्पादन सुरु हुन ३ देखि १० वर्ष लाग्छ। सुन्तला जातका फलफूल खेतीबाट मुलुकको पहाडी भेगका कृषकको आर्थिक वृद्धि भएको छ। पहाडी क्षेत्रका ३८ र हिमाली क्षेत्रअन्तर्गत पर्ने चार जिल्ला गरी ४२ जिल्लामा सुन्तला जातका फलफूलको व्यावसायिक कार्यक्रम सञ्चालन भइरहेको छ। तराई र हिमाली जिल्लाका थप २० जिल्लामा करेसाबारी कार्यक्रम सञ्चालन हुँदै आएको छ। देशका कुल ६२ जिल्लामा विभिन्न जातका सुन्तला जात फलफूल खेती भइरहेको छ। कुल ६२ जिल्लामा सञ्चालन भएको व्यावसायिक तथा घरबारी बगैंचाले ४६ हजार ४ सय १२ हेक्टर क्षेत्रफल सुन्तला जातका फलफूलले ढाकिएको छ। सुन्तला जातका फलफूलले ढाकेको कुल क्षेत्रफलको करिब ६१.२ प्रतिशत क्षेत्रफल मात्र उत्पादनशील अवस्थामा रहेको छ। आ.व. २०७५/०७६ को सुन्तला जात फलफूल खेती प्राविधिक पुस्तिकाअनुसार २ लाख ७१ हजार ९ सय ८ मेट्रिकटन फल उत्पादन भएको देखिन्छ। यद्यपि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/०७९ मा २७ हजार ९ सय ८२ हेक्टर क्षेत्रफलमा १ लाख ८५ हजार ३ सय ४६ मेट्रिकटन उत्पादन भएको थियो। 

सुन्तला प्रवर्द्धनमा पुरानै कार्यक्रम, अनुदानमा ३ करोडमात्रै

​​​​​​​सरकारले अधिक उत्पादनलगायत सूचकका आधारमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गरे पनि थप प्रवद्र्धन गर्न भने सकेको छैन। अर्थात्, यसका लागि नयाँ कार्यक्रमहरू अघि सारेको छैन। फलफूल विकास केन्द्रका वरिष्ठ बागवानी विकास अधिकृत तथा सूचना अधिकारी बराल ‘सुन्तलालाई राष्ट्रिय फल घोषणा गरौं, त्यसपछि प्रवद्र्धन गर्न कार्यक्रम ल्याऔं’ भन्ने सरकारले सोच गलत भएको बताउँछन्। राष्ट्रिय फल घोषणा नगर्दा पनि सरकार, कृषि मन्त्रालय, कृषि विभाग वा फलफूल विकास केन्द्रले सुन्तला र सुन्तलाजन्य बालीका लागि जुन काम गरिरहेका थिए, तिनै कामले निरन्तरता मात्रै पाएको उनको भनाइ छ। 

हाल मुलुकमा तीन तहका सरकार छन। संघीय सरकारलाई तल्लो तहसम्म पुगेर प्रत्यक्ष काम गर्न संविधानले अधिकार दिएको छैन। किनभने यसको जिम्मेवारी प्रदेश र स्थानीय सरकारलाई दिइएको छ। तर पनि संघीयतामा गएको धेरै नभैसकेकाले सरकारले नेतृत्व लिन छोड्नु हुँदैन भनेरै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत तल्लो तहका किसानसमक्ष कार्यक्रमहरू लिएर गएको छ। उक्त परियोजनाले सुन्तलाको लागि मात्रै १५ ओटा जोन र सुपर जोन भनेर उल्लेख्य उत्पादन हुने क्षेत्र तोकेको छ। जसअन्तर्गत धनकुटा, संखुवासभा, उदयपुर, सोलुखुम्बु हुँदै गोरखा, म्याग्दी, नवलपरासी, जाजरकोट, दैलेख, रामेछाप, धनकुटा, गुल्मी, भोजपुर, पाल्पा, डोटी र दार्चुलालगायत छन्। सुन्तलाको सुपर जोन स्याङ्जा हो भने जुनारको सुपर जोन सिन्धुली हो। व्यावसायिक हिसाबले नेपालभर बढी उत्पादन हुने ४८ जिल्लामध्ये पनि अधिक उत्पादकत्व हुने जिल्ला स्याङ्जा हो। स्याङ्जा जिल्लामा मात्रै सुन्तलाको उत्पादन क्षेत्रफल करिब २ हजार १ हेक्टरमा १७ हजार ३१ मेट्रिकटन उत्पादन भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बताएको छ। यो आव २०७९/८० को तथ्यांकको आधारमा हो। स्याङ्जाको उत्पादकत्व १०.९२ प्रतिशत रहेको मन्त्रालयले उल्लेख गरेको छ। 

सुन्तला परियोजना तथा कार्यक्रमबाट सुन्तला जातको वृद्धि विकास, बगैंचा व्यवस्थापन, बिरुवा उत्पादनका लागि विभिन्न सहयोग गर्दै आएको छ। यससँगै राष्ट्रिय फलफूल विकास केन्द्रअन्तर्गत रहेर पहाडी काष्ठ फल तथा फलफूल विकास आयोजना (नाफा) अन्तर्गत १० हजार हेक्टरमा फलफूल खेती गर्ने क्षेत्रफल विस्तार गर्ने योजना छ। यो आयोजना सन् २०२३ बाट सन २०२९ सम्मका लागि सञ्चालन गरेको सातवर्षे कार्यक्रम हो। हाल दुई वर्ष बितिसकेको छ। यसबीचमा क्षेत्रगत विस्तारको सुरुवाती अवस्थामै रहेको सूचना अधिकारी बरालले जानकारी दिए। 

गत वर्ष चैतसम्म सरकारले राष्ट्रिय फल घोषणा गरिसकेपछि बजेट पहिल्यै टुंग्याइसकेको थियो । तर सरकारले घोषणा गरेपछि सुन्तलाका लागि केही न केही कार्यक्रम गर्नुपर्छ भनेरै केन्द्रको अगुवाइमा सुन्तला प्रवद्र्धनलाई लक्षित गरेर ५० ओटा स्थानीय तहमा ससर्त अनुदानमार्फत कार्यक्रमहरू गरेको बरालले जनाए। जसअन्तर्गत आव २०८०/८१ मा ससर्त अनुदानमा ८ करोड गएकोमा सुन्तला जातलाई मात्रै केन्द्रित गरेर चार करोडभन्दा बढी गएको थियो। तर घोषणा गरेको बेला बजेट साइकलभन्दा पछि भएकाले आव २०८१/०८२ मा भने सुन्तलाको लागि मात्रै तीन करोड रुपैयाँ हाराहारीमा ससर्त अनुदान छुट्ट्याइएको थियो। ‘स्थानीय तहमा सुन्तला खेती विकास, विस्तार र प्रवद्र्धनका लागि ससर्त अनुदानका कार्यक्रम सञ्चालन भइरहेका छन्। यसबाहेक हामीले सुन्तला जातमा रोगहरू आइरहेको छ। त्यस्ता रोग निराकरण गर्न बोटमा भन्दा पनि नर्सरीबाटै गुणस्तरीय बोट बिरुवामा ध्यान दिनुपर्ने भएकाले यसमा बढी केन्द्रित भएका छौं,’ उनले भने, ‘सरकारको स्वामित्वमा रहेका नर्सरी विरुवा एक प्रतिशतमात्रै बिक्री हुन्छन्। बाँकी ९९ प्रतिशत फलफूलका बिरुवा निजी क्षेत्रबाट बिक्री हुन्छन्। बोटबिरुवामा रोग लाग्न नदिन, प्रोत्साहन गर्न केन्द्रले त्यस्ता नर्सरीहरूलाई तालिम दिने गरेको छ। केन्द्रले स्थानीय निकायमा पनि सुन्तलाका लागि मात्रै भनेर ससर्त कार्यक्रम पठाएको हो। केन्द्र तहबाट सम्बोधन हुनुपर्ने नीति निर्माण, समन्वय, तालिमको काम गरिरहेको छ। 

प्रवर्द्धन प्रभावकारी भएन 

राज्यको पुनर्संरचनासँगै २०७५ सालमा साविकका फलफूल विकास निर्देशनालय, राष्ट्रिय सुन्तला जात बाली विकास कार्यक्रम र चिया तथा कफी विकास शाखालाई गाभेर कृषि विभाग मातहत रहने गरी ‘राष्ट्रिय फलफूल विकास केन्द्र’, स्थापना गरिएको थियो। हाल सुन्तला जात फलफूलसम्बन्धी नर्सरी सुदृढीकरण, स्वस्थ बिरुवा उत्पादन र बगैंचा विस्तारका कार्यक्रमहरू स्थानीय तहमा ससर्त कार्यक्रममार्फत सञ्चालन गरिँदै आएको छ। राष्ट्रिय रूपमा विशेष प्राथमिकता पाएको बालीको एक छुट्टै राष्ट्रिय कार्यक्रम अन्य फलफूल बालीसँगै समावेश गरिएकोले यसको विकास, विस्तार र प्रवद्र्धनमा महत्व नदिइएको केन्द्रको भनाइ छ। ‘राष्ट्रिय सुन्तला जात बाली विकास कार्यक्रम पुनस्र्थापना गरी सुन्तलाको तीव्र गतिमा विकास, विस्तार र प्रवद्र्धन गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ र यसले स्वस्थ बिरुवा उत्पादनको लागि विशेष नियमनकारी भूमिका खेल्नुपर्ने देखिन्छ,’ राष्ट्रिय फलफूल विकास केन्द्रका एक उच्च अधिकारीले भने। 

स्वास्थ्यका लागि फाइदा

सुन्तला उत्पादनसँगै उचित मूल्यसहितको बजार सहज हुनुपर्छ। धेरैजसो उत्पादनका क्रममा रोग लाग्ने तथा पशुपक्षीले पनि नोक्सानी गर्ने गर्छ। यसैले सरकारले हार्भेस्टिङ गर्नेदेखि अरू व्यवस्थापन प्रविधिमैत्री बनाउनु पर्छ। कृषिमा गरेको लगानी जोखिम मोल्न नपरोस् भन्नका लागि सबै खालका उत्पादनको बिमा गर्ने व्यवस्था हुनुपर्छ।, पञ्चकाजी श्रेष्ठ, अध्यक्ष, राष्ट्रिय कृषक समूह महासंघ, नेपाल

सुन्तला जात फलफूलभित्र धेरै प्रकारमा फल पर्छन्। सुन्तला, जुनार, मौसम, चाक्सी आदि फलहरू ताजै खाइन्छ र प्रशोधन गरेर जुस बनाएर पनि प्रयोग गरिन्छन। यिनीहरूमा प्रशस्त मात्रामा भिटामिन सी, फोलिक एसिड पाइन्छ। कागती र निबुवा ताजै खानुको अलावा अचार, सर्वत र अन्य परिकार बनाउँदा अमिलोको रूपमा बढी प्रयोग भएको पाइन्छ। कागतीलाई रुघा लागेको बेला, बान्ता रोक्न घरेलु औषधिको रूपमा प्रयोग गरिन्छ। यी फलमा विभिन्न खनिज पदार्थहरू पनि पाइन्छन्। यिनीहरूले खाद्य तथा सूक्ष्म खाद्यतत्व सुरक्षामा विशेष योगदान पुर्‍याएका छन्। सुन्तला जात फलफूलमा मानव शरीरलाई नभई नहुने पौष्टिक तŒवहरू पाइन्छन्। यी जातको फलफूल खाएमा क्यान्सर, मुटु रोग, हाइपरटेन्सन, जन्म दोषहरू, छाला चाउरिने, मधुमेह मेलिटास, ओस्टियो पोरोसिस, मोटोपना, अल्जाइमर आदि रोगको रोगथाम पनि हुन्छ। 

सुन्तलाको इतिहास

राष्ट्रिय सुन्तला जात बाली विकास कार्यक्रमका पूर्वप्रमुख राम बदल साहले उल्लेख गरेअनुसार ईशापूर्व ४००० वर्षदेखि नै सुन्तलाको खेती हुँदै आएको अनुमान र मान्यता छ। ई.पू. २००० देखि नै चीनमा यसको खेती भएको भन्ने कुरा चिनियाँ ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ। सुन्तलालाई ‘म्यान्डरिन ओरेन्ज’ भनिन्छ। ‘म्यान्डरिन’ चिनियाँ शब्द हो। यसको उत्पत्ति चीनको दक्षिण– पूर्व क्षेत्रमा भएको र शानवंशीय मानिसहरूको बसाइँसराइ र व्यापारको क्रममा त्यहाँबाट नेपाल र भारतका विभिन्न क्षेत्रमा सुन्तला पनि पुगेको बुझिन्छ। सन् १८९० मा नेपाल भ्रमण आएका सिट्रसका चर्चित वैज्ञानिक बोनिभिया बुटवल पुगेका थिए। त्यहाँ अर्ध जंगली अवस्थामा सुन्तलाहरू देखेको कुरा उल्लेख गरेका थिए। त्यसपछि सन् १९२९ मा सिट्रसको खोजमा वैज्ञानिक टनका भ्रमणमा आउँदा सुन्तला नेपालको स्वदेशी फल (इन्डिजेनस फ्रुट) भनेर पुष्ट्याइँ गरेका थिए। आजभन्दा ९० वर्ष पहिला संखुवासभाको माङतेवा भन्ने ठाउँमा सुन्तलाको जंगलै देखिन्थ्यो। स्विट अरेन्ज पनि यही किसिमले उत्पत्ति भई फैलिएको हो। स्विट अरेन्जमा मौसमी, माल्टा, जुनार आदि पर्छन्। ‘स्विट अरेन्ज’हरूमध्ये जुनारलाई नेपालमा उत्पत्ति भएको मान्यता दिइएको हो। यो प्राकृतिक रूपमा मौसम र सुन्तलाको पराग सेचनको प्रतिफल हो। यो भारतमा पाइँदैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.