खुसीको गोरेटोमा खुसी

खुसीको गोरेटोमा खुसी

पूर्वप्रमुख सूचना आयुक्त एवं नेपाल सरकारका पूर्वसचिव कृष्णहरि बाँस्कोटाको ‘खुसीको गोरटो’ पुस्तकमा जीवन जिउने कलालाई सचित्र र सरल ढंगले प्रस्तुत गरिएको छ। संसारमा सुखी मानिस ती होइनन्, जसले धेरै पाएका छन्। सुखी मानिस ती हुन्, जसले अरूलाई दिएका छन् भन्ने पुस्तकको वाक्यले धेरैलाई सही मार्गमा लाग्न प्रेरित गर्नेछ।

हाल अधिकांश मानिस स्वार्थपूर्तिका लागि दौडिरहेको भान हुन्छ। तर, खुसीको गोरेटोले भन्छ, कालको मुखमा पुगेका बिरामीलाई पुनर्जीवन दिन सक्दा डाक्टर खुसी हुन्छन्। आफूले बनाएको घर ७-८ रेक्टर स्केलको भूकम्पमा पनि नढल्दा इन्जिनियर खुुसी हुन्छन्। यथार्थमा, हरेक पेसाविद्ले आफ्नो पेसामा अब्बल हुने कोसिस गर्दा नै खुसी प्राप्त हुने हो।

कपडा हालेर वासिङ मेसिन चलाएपछि त्यहाँ पानी आउँछ। लुगामा डिटरजेन्ट पाउडर छरिन्छ। मेसिनले लुगा माड्छ, घुमाउँछ, बटार्छ। निकै समयपछि लुगा पखाल्छ, निचोर्छ र सुकाउँछ पनि। अन्त्यमा मेसिनबाट बाहिर निकाल्दा लुगा सफा भएर निस्किन्छ। यस्तै हो हामी पनि। यसैलाई ‘बाउन्न ठक्कर, त्रिपन्न घुस्सा’ भनिन्छ। यसले मानिसलाई परिमार्जित गर्छ र खुसी बनाउँछ भन्ने पुस्तकको अर्को अनुच्छेदले पनि निकै घोत्लिन बाध्य बनायो। हरेक मानिस थोमस एल्वा एडिसनले भने झैं कडा परिश्रमबिना समाजमा खरो उत्रन सक्तैन। यसका लागि निरन्तरको प्रयास आवश्यक पर्छ।

बाँस्कोटा सचिव हुँदा होस् वा प्रमुख सूचना आयुक्त, कलम चलाइरहेका हुन्थे। तर, खुसीको गोरेटो नाम पुस्तकमा उनको लेखाइ भिन्न छ। उनी लेख्छन्, अँध्यारोले अँध्यारो धपाउन सक्दैन। प्रकाशले सक्छ। घृणाले घृणा हटाउन सक्दैन। प्रेमले सक्छ। यस्तो ज्ञानबाट खुसी बढाउन सकिन्छ। यसैगरी, आदर चाहनेले पहिले अर्कालाई आदर गर्नुपर्छ। मान्छेको गुण मृदुभाषी हुनु हो। त्यसैले भनिन्छ, जिब्रो सुध्रियो भने जीवन सुध्रिन बेर लाग्दैन। रिसले मान्छे स्वयंलाई जलाउँछ। यसरी, पुस्तकले धैर्यशील र भलाद्मी हुन प्रेरित गरेको छ।

लेखकको सल्लाह छ, असफलताको बारेमा चिन्ता होइन, बरु आफूले प्रयास नगर्दा छुट्ने अवसरका बारेमा चिन्ता गर्नुपर्छ। सूर्य उदाएपछि अस्ताउँछ, अस्ताएपछि रात पर्छ। यो प्रकृतिको नियम निरन्तर चलिआएको छ। हाम्रो जीवन पनि यस्तै हो। खुसी हुने बानी परेपछि दुःखी हुन बिर्सिइन्छ। ज्ञानी भएपछि चाहेर पनि अज्ञानी हुन सकिन्न। किताबका यस्ता वाक्यहरूले हरेक मानिसलाई सकारात्मक सोचका साथ अघि बढ्न प्रेरित गर्ने विश्वास लिएको छु।

खुसीको गोरेटोमा लेखिएको छ, जहाँ बुद्धिमान् हुन्छन्, त्यहाँ संवाद हुन्छ। जहाँ मूर्ख हुन्छन्, त्यहाँ विवाद हुन्छ। सकारात्मक सोचले विश्वास, प्रेम, शान्ति, उत्साह, प्रेरणा, आनन्द, सिर्जनशीलता आदि जागृत गर्न मद्दत गर्छ। नकारात्मक सोचले दुःख, बेइमानी, स्वार्थ, चिन्ता, निराशा, लोभ, संशय, अनिश्चितता, छटपटी, उदासीनता, एकलकाँटेपनको विकासलगायत अवनतिको मार्गमा लैजान्छ। यसर्थ, हरेक मानिस सकारात्मक सोचका साथ अघि बढ्नु पर्छ।

बाँस्कोटा सचिव हुँदा पनि हाकाहाकी बोल्ने व्यक्तिका रूपमा चिनिन्थे। उनी चर्चामा आइरहने प्रशासक हुन्। जसका कारण उनी लेख्छन्, औषधि तीतो भए पनि त्यसको गुण मीठो हुन्छ। कसैको कुरा छुच्चोजस्तो लागे पनि यथार्थलाई स्विकार्नुको विकल्प हुँदैन। कोही मानिस जति नै उमेरले पाको भए पनि आफ्नो सौन्दर्य गुमाउँदैनन्। कारण, उनीहरूले अनुहारको सुन्दरता मुटुमा सार्छन्। सुन्दरता यथार्थमा ज्ञान हो। बुद्धिमत्ता हो। विवेक हो। चेतना हो। यी वाक्यहरू स्वयं लेखकले जीवनमा अनुसरण गरेको महसुस गरेको छु। हाल अवकाशित जीवन बिताइरहेका सचिवमध्ये २÷४ जना सक्रिय र क्रियाशील छन्, तिनैभित्र पर्छन् उनी।

समयका बारेमा यस पुस्तकमा लेखिएको अनुच्छेदले निकै गहन छ। हामी कसैलाई पर्खिरहेका छौं भने समय निकै धिमा गतिमा हिँडेको अनुभूति हुन्छ। कुनै शोकमा या दुःखमा रहँदा त्यतिखेर समय निकै निर्दयी लाग्छ। त्यस्तै, जब शारीरिक पीडा भइरहेको हुन्छ, समय कहिल्यै नसकिएको अनुभव हुन्छ। भनिन्छ– समय आउँछ पर्खिंदैन, बगेको खोला फर्किंदैन। यसर्थ, समय निकै बलवान् छ। संसारका प्रायः सबै मानिस आपूmलाई उपलब्ध समय उपयोग गर्नुको सट्टा खेर फाल्नतिर लाग्छन्। समय पट्यारलाग्दो हुन्छ। यसको मुख्य कारण समयको महत्व नबुझ्नु या त्यसको उपयोग नगर्नु नै हो। यसरी, एकातिर समय बढी भएजस्तो लाग्छ भने अर्कोतिर हामीलाई समय नपुगेको भान पनि हुन्छ। यसर्थ, समय बुझ्नेले नै यस संसारमा बाजी मार्छ।

खुसीको गोरेटोमा छ, सबै मानिसमा गुण र अवगुण दुवै हुन्छ। त्यसमध्ये जसमा बढी गुण हुन्छ, ऊ संगत गर्न योग्य हुन्छ। सुखमा हाँस्ने हजार जना साथीभन्दा दुःखमा साथ दिने एक जना साथी नै प्रिय र आफन्तजस्तो हुन्छ। मित्रताका विषयमा डा. एपीजे अब्दुल कलाम भनेका छन्, एउटा राम्रो किताब एक सय जना साथी बराबर हुन्छ। तर एउटा राम्रो साथी एउटा पुस्तकालय बराबर हुन्छ। अर्को भनाइ छ, असल मित्रहरू जाडोमा हिउँ एक ढिक्का भए झैं सधैं एकठ्ठा भइरहन्छन्, ती पग्लिँदैनन्। तर स्वार्थी मित्रहरू गर्मी मौसममा हिउँ पग्लिए झैं छिट्टै विलीन हुन्छन्। क्या दामी लेखाइ। कति मर्मस्पर्शी।

बाँस्कोटा लेख्छन्, तिमी आँसु झार, कसैले हेर्दैन। दुःखी होऊ, कसैले सोध्दैन। तिमीलाई शारीरिक पीडा भइरहेको छ, त्यो पनि कसैले महसुस गर्दैन। तर जब गल्ती गर्छौं, सबैको ध्यान तिमीतिरै पर्छ। जीवनको यथार्थता यही हो। पुस्तकमा छ, एउटा गाँजरलाई दुई टुक्रा बनाएर एउटालाई चिनीको चास्नीमा र अर्कोलाई नुन लगाएर राख्दा त्यो केही दिनपछि एउटा जाम र अर्को टुक्रा अचार बन्छ। गाँजर उही हो। तर नतिजा अलगअलग। यसरी जीवनमा संगतले ठूलो असर पार्छ।

यसर्थ, हरेक मानिसले आफूलाई समयानुकूल परिवर्तन गर्नुपर्छ। यस्तो परिवर्तन आफूले र अरूले पनि महसुस गर्नुपर्छ। भनिन्छ, अर्काको गल्तीबाट सिक, आफैं गल्ती गरेर सिक्न तिम्रो आयु लामो छैन। बाँस्कोटाका हरफहरू यसरी पुस्तकमा स्वाभाविक रूपमा उत्कृष्ट ढंगले अभिव्यक्त भएको पाउँदा सकारात्मक रूपमा डाह लागेको अनुभूति हुन्छ। पुस्तकको आवरण आकर्षक छ। १८८ पृष्ठको पुस्तक सांग्रिला प्रकाशनले पुस्तकलाई बजारमा ल्याएको छ। पुस्तकमा केही ठाउँमा केही कुरा दोहोरिएका छन्। पुस्तक पठनीय र संग्रहणीय छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.