भारत सरकारको सहयोगमा बन्ने स्वास्थ्य चौकी भवनको शिलान्यास
काठमाडौं : भारत सरकारको सहयोगमा बन्ने स्वास्थ्य चौकी-वर्थिङ सेन्टर भवनको शिलान्यास गरिएको छ। धादिङको खनियाबास गाउँपालिकास्थित कुरी स्वास्थ्य चौकी-वर्थिङ सेन्टर भवन निर्माणका लागि संविधान सभा सदस्य दिलमान पाख्रिन, खनियाबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर सुश्री गीताञ्जली ब्रान्डनले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।
‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको २ करोड ५१ लाख रुपैयाँ लागतमा कुरी स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर निर्माण गरिँदैछ। भारत सरकारको अनुदानमा स्वास्थ्य चौकी-वर्थिङ सेन्टर, पाले घर, प्राङ्गण पर्खाल, चमेनागृह, बाटो र अन्य सम्बद्ध सुविधाहरूको निर्माण गरिने भारतीय दूतावासले जनाएको छ। यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी)को रूपमा लिइएको दूतावासको भनाइ छ।
सहभागी प्रतिनिधिहरूले नेपाली जनताको उत्थानमा भारत सरकारले गरेको सहयोगको प्रशंसा गरेका थिए। सन् २००३ यता भारतले नेपालका विभिन्न क्षेत्रमा ५६३ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ। जसमा ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ। यीमध्ये बागमती प्रदेशमा १०८ वटा परियोजना रहेका छन्।
त्यस्तै भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकेको छ। त्यसमध्ये धादिङका विभिन्न संस्थाहरूलाई १५ वटा एम्बुलेन्स र ३ वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिएको छ।
'नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहु क्षेत्रीय सहकार्य रहेको छ। उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ,' भारतीय दूतावासले भनेको छ।
प्रतिक्रिया दिनुहोस !