भाषण र प्रशिक्षण दिएरमात्रै रूपान्तरण सम्भव हुने देखिएन : प्रचण्ड
काभ्रे : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको संकल्प गर्ने बेला आएको बताएका छन्। धुलिखेलमा आयोजित पार्टीको राजनीतिक वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै उनले अहिले देशभरि भइरहेका भेला र प्रशिक्षणहरूलाई समाजवादी क्रान्तिकै तयारीको रूपमा बुझ्न आग्रह गरे।
‘हामीले जनयुद्धको तयारी गर्दा पनि यसरी नै देशभरि भेला र प्रशिक्षण गरेका थियौं। अहिले हामी समाजवादी क्रान्तिको तयारीको चरणमा फेरि त्यस्तै कार्यक्रमहरू गरिरहेका छौं। यो हामीले समाजवादी क्रान्तिको संकल्प गर्ने बेला हो,' उनले भने।
जनयुद्ध गर्नुअघि माओवादी शक्तिलाई विरोधीले अपत्याएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले स्पष्ट विचार, सिद्धान्त र कार्यक्रमका आधारमा जनयुद्ध अघि बढाएकाले देशकै प्रमुख शक्तिको रूपमा स्थापित हुन सफल भएको बताए।
‘पछिल्लो शान्तिकालमा हामी कतै लरबरायौं, अलिकति सुधारवाद र उदारवादमा हरायौं, जसले गर्दा हाम्रो आफ्नै वर्गले पनि क्रान्तिका बाँकी सपना अधुरै रहन हुने कि भन्ने आशंका गर्न थाल्यो,' उनले भने, 'तर, अहिले हामीले गम्भीर आत्मसमीक्षा गरेका छौं। भर्खरैको केन्द्रीय समिति बैठकपछि हामीले सुधारवाद र उदारवाद होइन, बामपन्थ र क्रान्तिकारी लाइन दह्रोसँग पकड्ने सङ्कल्प गरेका छौं। यही नै हाम्रो समाजवादी क्रान्तिप्रतिको संकल्प हो,' उनले भने।
शान्ति सम्झौता गरेर पार्टी बहुदलीय प्रतिष्पर्धामा आएपछि दायाँ र बायाँ गर्दै अघि बढ्ने क्रममा माथिदेखि तलसम्म नेता कार्यकर्ताहरू बढी नै दायाँतिर ढल्कन थालेको यथार्थ बोध गरेर नै अब पार्टीलाई बायाँतिर अघि बढाउने नीति र कार्यक्रम अघि सारिएको उनले स्पष्ट गरे।
जनयुद्धको उत्कर्ष चरणमा भएको चुनबाङ बैठकको निर्णय स्मरण गराउँदै अध्यक्ष प्रचण्डले भने, ‘हामीले त्यतिबेला स्पष्ट भनेका थियौं, अब गणतन्त्र आउँछ, यसका लागि बुर्जुवाहरूसँग सम्झौता गर्नुपर्ने पनि हुनसक्छ। तर त्यो गणतन्त्रलाई बर्जुवाहरूले आफ्नो अनुकूलको गणतन्त्र बनाउने प्रयास गर्नेछन् र हामीले समाजवादी गणतन्त्र बनाउने प्रयास गर्ने छौं। अहिले हामी यही संघर्षको विन्दुमा आइपुगेका छौं।’
शान्ति प्रक्रिया र संविधान लेखन हुँदै यहाँसम्म आइपुग्दा विभिन्न सफलता र कमजोरीका बीच एउटा कालखण्ड पार गरिएको उल्लेख गर्दै उनले अब पार्टी सम्पूर्ण रूपमा समाजवादी क्रान्तिको चरणमा अघि बढ्ने बताए। जनयुद्धको थालनी, जनयुद्ध सञ्चालन, शान्ति सम्झौता, संविधानसभाको निर्वाचन, गणतन्त्र घोषणा जस्ता युगान्तकारी निर्णय गर्ने अवसर पाउने माओवादीमात्रै एक मात्र शक्ति भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले समाजवादी क्रान्तिको थालनी पनि माओवादीले नै गर्ने बताए। यसका लागि माओवादी नेता कार्यकर्ताहरूको रुपान्तरणको विकल्प नभएको उनले स्पष्ट गरे।
‘अब भाषण गरेर प्रशिक्षण दिएरमात्रै रुपान्तरण सम्भव हुने देखिएन। त्यसैले यो काम अब नेतृत्वबाट नै सुरु गर्नुपर्छ भनेर म पूरै आत्मसमीक्षासहित देशभरि नेता कार्यकर्ता र जनताको बीचमा पुग्ने अभियानको थालनी गरेको छु। मैले एक चरण यो अभियान पूरा गरेपछि अब लगत्तै सिंगो पार्टी एकैसाथ देशभरि परिचालित हुने छ। रुपान्तरणको नयाँ अभियान अघि बढ्ने छ,' उनले भने।
प्रतिक्रिया दिनुहोस !