भूकम्पले भत्काएको खानेपानी बनेपछि रिम्नावासी हर्षित
जाजरकोट : भर्खर बनेको घर नजिकैको धारामा जव खानेपानी झर्यो भेरी नगरपालिका—१ रिम्नाकी सत्यदेवी रानाको मुहारमा खुसी छायो। उनी मुसुक्क मुस्कुराइन्। उनलाई खानेपानीको निकै पिरलो थियो। खानेपानी नहुँदा दैनिक घरव्यवहार चलाउन मुस्किल परिरहेको थियो। गत वर्ष गएको जाजरकोट भूकम्पले खानेपानीको मुहान भत्काइदिएपछि रिम्ना गाँउमा खानेपानीको ठूलो समस्या थियो। घण्टौं हिँडेर पानीको जोहो गर्नुपर्ने बाध्यता थियो।
भूकम्पले भत्काएको खानेपानी रेडक्रसले मर्मत गरिदिएपछि अहिले रिम्ना गाउँमा चौबिसैघण्टा खानेपानी सुविधा पुगेको छ। खानेपानी पाएपछि सत्यदेवी दंग छन्। भन्छिन्– ‘पानी नहुँदा निकै समस्या हुँदो रहेछ। गत वर्ष भूकम्पले खानेपानी बन्द भएपछि करिब एक वर्ष निकै कष्ट खेप्यौं। सरसफाइ गर्नेदेखि पशुबस्तुलाई खुवाउन समस्या थियो अहिले रेडक्रसले खानेपानी बनाई दिएपछि खानेपानीको सास्ती हटेको छ। जतिबेला खोले पनि धारामा पानी आउँछ। हामी एकदम खुसी छौं। पानी नै जीवन रहेछ।’
अर्की स्थानीय दिलकुमारी राना पनि खानेपानी पाएपछि खुसी छिन्। ‘खानेपानी नहुँदा हामी महिलाले धेरै समस्या झेलिरहेका थियौ। ढिलै भए पनि पानी पुगेको छ हामी खुसी छौ’, उनले भनिन्– ‘हाम्रो खानेपानी समस्या समाधानमा गरिदिएकोमा रेडक्रसलाई धेरैधेरै धन्यवाद छ।’ भूकम्पपछि अवरुद्ध खानेपानी पुनः गाउँमा पुगेपछि रिम्नावासीको दैनिक जनजीवन सहज भएको छ। करिब १४ किलोमिटर टाढा रहेको मुहानबाट रिम्ना गाउँमा खानेपानी आइपुगेको हो। भूकम्पले खानेपानी ट्यांकी भत्काई दिएपछि खानेपानी अवरुद्ध थियो। रेडक्रसको १८ लाख र स्थानीय समुदायको ३ लाख गरी २१ लाख रुपैयाँमा खानेपानी मर्मत भएको उपभोक्ता समितिका अध्यक्ष ललित रानाले बताए।
रिम्नाका ४४ घरमा खानेपानी पुगेको छ। एक घरले १७ दिनका दरले श्रमदानसमेत गरेका थिए। प्रत्येक उपभोक्ताका घरमा मिटरसहितको धारा जडान गरिएको छ। आयोजनालाई दिगो र प्रभावकारी रूपमा सञ्चालन गर्न एकजना स्थानीय खानेपानी प्राविधिकसमेत राखिएको छ। प्रतिघरले प्रतिमहिना १० युनिटसम्म ३० रुपैयाँ न्यूनतम शुल्क र त्यसपछि थप प्रतियुनिट ८ रुपैयाँका दरले शुल्क तोकिएको छ। खानेपानी पुगेपछि सरसफाइ गर्न, पशुचौपायालाई खुवाउन र करेसाबारीमा हाल्न सहज भएको छ। रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी), ब्रिटिस र स्विस रेडक्रसको सहयोगमा कर्णाली भूकम्प पुनर्लाभ कार्यक्रमअन्तर्गत खानेपानी योजना सम्पन्न गरिएको हो।
प्रतिक्रिया दिनुहोस !