‘विद्यालय सुधारका लागि अभिभावकको सक्रियता जरुरी छ’
दोलखा : विद्यालय सुधारका लागि अभिभावकको सक्रियता जरुरी रहेको सरोकारवालाहरूले बताएका छन्। सामुदायिक विद्यालयमा अभिभावकको सक्रियता वृद्धि गर्न शैक्षिक सशक्तीकरण धुलिखेल केन्द्रले आग्रह गरेको छ।
विद्यालय राम्रो बनाउन अभिभावक, समुदायको सहयोग, विद्यालय व्यवस्थापन समितिको सक्रियता, प्रधानाध्यापकको कुशल शैक्षिक प्रशासन र शिक्षकको शैक्षणिक कौशल एवं समर्पण आवश्यक रहेको केन्द्रले जनाएको छ।
निरन्तर सुधार योजनामा आधारित बहुकक्षा बहुस्तर विषयका सरोकारवालाहरुका लागि शैक्षिक सशक्तीकरण केन्द्र धुलिखेलले एकदिने कार्यशाला गोष्ठीको आयोजना गरेको हो। आयोजनामा बहुकक्षा बहुस्तर शिक्षण पद्धति सञ्चालन भएका ३ वटा विद्यालयका अभिभावक, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षकलगायत २६ जनाको सहभागिता थियो।
बालबालिकाको शिक्षाको गुणस्तर अभिवृद्धिमा अभिभावकको भूमिकामा केन्द्रित रहेर जर्मन नेपाल सहयोग संघको सहयोगमा भीमेश्वर नगरपालिकाको समन्वय र शैक्षिक सशक्तिकरण केन्द्र धुलिखेलले कार्यक्रम सञ्चालन गरेको हो।
शिक्षक अभिभावकबीच बालबालिकाको पढाइका बारेमा कुराकानी हुन आवश्यक रहेकोले अभिभावक, विव्यस,आमा समूह, शिक्षक, प्रधानाध्यापकहरूको भेटघाटको सुरुवाती संस्कार बसाउन कार्यशाला आयोजना गरिएको शैक्षिक सशक्तीकरण केन्द्र धुलिखेलका कार्यकारी निर्देशक दीपक रोक्काले बताए।
अभिभावकले आफ्ना छोराछोरीको पढाइको अवस्थाबारे जानकारी लिन विद्यालय र शिक्षकसँग सहकार्य गर्नुपर्ने निर्देशक रोक्काले बताए। विद्यार्थीको घट्दो दरका अवस्थालाई मध्यनजर गर्दा बहुकक्षा बहुस्तर शिक्षण विधि आकर्षक बन्दै गएको भीमेश्वर नगरपालिकाका शिक्षा निर्देशक अर्जुन बहादुर कार्कीले बताए।
प्रतिक्रिया दिनुहोस !