डाक्टर साब ! पहिला आफू बाँच्नुस्
पछिल्लो एकै महिनामा दुई ठूला अस्पतालमा विशेषज्ञ अध्ययनरत दुई चिकित्सकले आत्महत्या रोजे । हुन त चिकित्सकले आत्महत्या रोजेका यी घटना पहिलो होइन र नेपालमा मात्र यस्ता घटना घट्ने पनि होइन । तर सफल चिकित्सकका रूपमा केही वर्ष अनुभव बटुलिसकेकाले नै थप अध्ययन (विशेषज्ञ) गर्ने क्रममा आत्महत्या रोज्नु चाहिँ असान्दर्भिक लाग्ने रहेछ । जसकारण परिवार, समाजमा मात्र गहिरो चोट पुग्दैन, यो त देशकै लागि क्षति हो । अध्ययनरत संस्था र राज्यको व्यवस्थामा समेत प्रश्नहरू तेर्सिन्छन् ।
पछिल्लो समयमा किशोर—किशोरीदेखि सफल व्यक्तिहरूले पनि आत्महत्या रोज्ने गरेका घटना प्रशस्तै छन् । विश्व स्वास्थ्य संघको पछिल्लो आँकडाअनुसार विश्वभरमा एक वर्षमा लगभग ८ लाख मानिसले आत्महत्या गर्छन् । नेपाल प्रहरीको आर्थिक वर्ष २०६१/६२ देखि ०७१/०७२ सम्म १० वर्षको तथ्यांक हेर्दा २९ हजार ९ सय ५ जनाले आत्महत्या गरेको पाइन्छ । ०७३/०७४ मा ५ हजार १ सय २४, ०७४/०७५ मा ५ हजार ३ सय ४६ जना र ०७५/०७६ मा ५ हजार ७ सय ५४ छन् । हरेक वर्ष आत्महत्याको घटना बढेको देखिन्छ ।
नेपालका चिकित्सकहरूले मात्र आत्महत्या रोज्ने होइन । सन् २००८ मा अमेरिकाको अमेरिकन कलेज अफ सर्जनका ७ हजार ९ सय ५ चिकित्सकहरूमा गरिएको अध्ययनले १ वर्षमा ५ सय १ अर्थात् ६.३ प्रतिशत चिकित्सकलाई आत्मघाती विचार आएको देखाएको छ । जुन सामान्य जनसंख्याको तुलनामा १.५ देखि ३ गुणा बढी थियो । दुःखद् त के भने आत्महत्या गर्ने सोच भएका चिकित्सकमध्ये २६ प्रतिशतले मात्र मद्दत मागेका थिए । ६०.१ प्रतिशत कुनै किसिमको उपचार वा सहयोग लिन अनिच्छुक रहेको सो अध्ययनले देखाएको थियो ।
अस्ट्रेलियाली सर्वेक्षणमा एक वर्षको अवधिमा २४.८ प्रतिशत डाक्टरहरूको मनमा आत्महत्याको विचार आएको उल्लेख छ । जसले सामान्य जनसंख्यामा १३.३ प्रतिशत र अन्य पेसेवरमा १२.८ प्रतिशतले आत्महत्यासम्बन्धी विचार आएको तर डाक्टरहरूको हकमा त्यो संख्या २४.८ रहेको देखायो । आत्महत्या कुनै एक कारणले भन्दा पनि बहुपक्षीय कारणले हुन्छ भन्ने तर्क मनोचिकित्सकहरूको छ ।
पछिल्ला वर्षहरूमा मानसिक तनाव, सामाजिक दबाब, आर्थिक समस्याहरू, पारिवारिक असमझदारी तथा आधुनिक जीवनशैलीका कारण आत्महत्याका घटनाहरू बढ्दै गएका छन् । आत्महत्याका घटना र प्रकृति सुन्दा क्षणिक रिस वा सनक लागे पनि यस पछाडि निकै गहिरो कारण हँुदा रहेछन् । कतै न कतै आत्महत्याका पछाडि मानसिक स्वास्थ्य रहने गरेको पनि भेटिन्छ । विशेषतः डिप्रेसन, एन्जाइटी, बाइपोलार डिसअर्डरजस्ता मानसिक समस्या भएका व्यक्तिहरूलाई उचित उपचार र सहयोग नपाउँदा आत्महत्याको जोखिम बढेको देखिन्छ । पछिल्लो समयमा उच्च आकांक्षाका साथ कडा मेहनत र धेरै लगानी गरेर चिकित्सा अध्ययन गर्ने तर अध्ययनपछि सो पूरा नहुने भएपछि डिप्रेसनको जन्म लिने गरेको पाइन्छ । अहिले त अझ बेरोजगारी, बैंकको ऋण, अस्थिर आयस्रोतजस्ता कारण थपिएपछि निराश हुने र आत्महत्या रोज्ने हुन्छन् भन्दा फरक नपर्ला ।
चिकित्सकीय पेसा अत्यन्त जिम्मेवारीपूर्ण हुन्छ । बिरामीहरूको जीवन बचाउनु, सही उपचार दिनु तथा चौबिसैघण्टा काम गर्नुपर्ने दबाबले मानसिक तनाव बढाएको हुन्छ । फेरि कुनै गल्ती भयो भने कानुनी कारबाही, बिरामीका परिवारबाट आक्रोश तथा सामाजिक बदनामीको डर पनि हुन्छ । त्यसमाथि अझ लामो समयसम्म ड्युटी गर्नुपर्ने, आपत्कालीन केसहरू ह्यान्डल गर्नुपर्ने तथा निजी जीवनलाई समय दिन नसक्ने, निद्रा नपुग्ने, खानपान अव्यवस्थित हुने तथा लगातार तनावमा बस्दा मानसिक स्वास्थ्य प्रभावित हुन्छ । कहिलेकाहीँ प्रयास गर्दागर्दै पनि बिरामीलाई बचाउन सकिँदैन । यस्तो अवस्थाले आत्मग्लानी, अपराधबोध तथा मानसिक तनाव सिर्जना गर्छ ।
समाजले चिकित्सकहरूलाई ‘असफल हुनै नहुने’ व्यक्तिका रूपमा हेर्छ । एकातिर कुनै एक बिरामीको उपचारमा पनि चिकित्सक सफल भएनन् भने उनलाई आलोचना गरिन्छ । यसले मानसिक तनावलाई झनै बढाउँछ । अर्कोतिर पेसागत व्यस्तताका कारण चिकित्सकहरू परिवारलाई समय दिन सक्दैनन् । चिकित्सकहरू व्यक्तिगत जीवनमा समस्या आए पनि त्यस्तो कुरा खुलाउन नचाहने प्रवृत्ति हुन्छन् । यसले थप मानसिक समस्या बढाउँछ । त्यस्तै पछिल्लो चरणमा सरकारी तथा निजी अस्पतालमा हुने राजनीतिक खेल, मेडिकल माफियाहरूको हस्तक्षेपले चित्सिकहरूको करियर अस्थिर बनेको छ सक्छ । सबैभन्दा महत्त्वपूर्ण र घातक पक्ष चिकित्सकहरू स्वयं मानसिक स्वास्थ्यका विशेषज्ञ भए पनि आफ्नै समस्या अरूसँग सेयर गर्न हिचकिचाउँछन् । डाक्टरलाई त मानसिक समस्या हुँदैन भन्ने धारणा रहेकाले उनीहरू खुलेर परामर्श लिँदैनन् । आत्महत्याका लागि यो महत्त्वपूर्ण रहेको मनोचिकित्सहरूको तर्क छ ।
आत्महत्याका सन्दर्भमा वरिष्ठ मनोरोग विशेषज्ञ डा. रञ्जन थापाका अनुसार पछिल्लो समयमा डाक्टरमात्रै होइन, सबैमा आत्महत्याका घटना बढेका छन् । थापा आत्महत्याको घटनाका पछाडि मानसिक तनाव तथा डिप्रेसन प्रमुख कारणका रूपमा रहेको बताउँछन् । डाक्टरहरूको अध्ययनका समय लामो हुनु, जिम्मेवारी धेरै हुनु, आर्थिक असन्तुष्टिजस्ता कारण सँगसँगै विशेषत पुरुष डाक्टरहरूले आफूलाई डिप्रेसन भएको स्वीकार नगर्ने वा स्वीकार गरे पनि आवश्यक औषधि–उपचार नगर्ने गरेको उनको ठम्याइँ छ । उनी ड्युटी अवधि लामो हुनु, पेसागत जिम्मेवारी र व्यक्तिगत जीवनबीचको सन्तुलन कायम गराउन नसक्नु अनि संगठनात्मक राजनीतिले पनि डाक्टरहरूलाई आत्महत्याको जोखिम थपेको बताउँछन् ।
आत्महत्या रोक्न भ्याक्सिन लगाएजस्तो सजिलो पक्कै छैन । अर्को कुरा आत्महत्याका पछाडि अनेकौं कारण र हरेकका कारण फरक रहने गरेकाले एउटै तरिकाले रोकथाम गर्न सकिँदैन । तर हरेक मानिसमा बाँच्ने चाहना तीवै हुन्छ । आत्महत्याको विचार गरेका व्यक्तिमा पनि कतै न कतै बाँच्ने रहर पक्कै हुन्छ । पिडाले थिचारिएका ती बाँच्ने रहरहरूलाई जगाउन मनोचिकित्सकहरूले प्रेस्क्राइब गर्ने औषधिहरूको नियमित सेवनसँगै मनोवैज्ञानिक परामर्शको पहुँच बढाउनु आवश्यक हुन्छ । परिवार तथा साथीहरूसँग कुराकानी बढाउनु, व्यक्तिगत जीवन र पेसाबीच सन्तुलन कायम गर्नु पनि धेरै आवश्यक छ ।
चिकित्सकहरूको कामको अवधि र सामाजिक जीवनमा पनि राज्यले विचार गर्नुपर्ने जरुरी छ । राज्यले चिकित्सकहरूकै लागि आर्थिक तथा सामाजिक सहायता कार्यक्रमहरू ल्याउनुपर्ने पनि आवश्यक देखिन्छ । चिकित्सकहरू स्वयंले पनि धेरै महात्त्वाकांक्षी नभएर सकारात्मक जीवनशैली र आत्मबोध विकास गर्दै लैजानुपर्ने हुन्छ । विशेषतः आफ्नो मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्ने वातावरण बनाउन अत्यन्तै जरुरी छ । आत्महत्या व्यक्तिगतमात्र होइन, सामाजिक र प्रणालीगत समस्या हो । यसलाई रोक्न सबै पक्षले मिलेर प्रयास गर्न आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस !