डाक्टर साब ! पहिला आफू बाँच्नुस्

डाक्टर साब ! पहिला आफू बाँच्नुस्
सांकेतिक तस्बिर

पछिल्लो एकै महिनामा दुई ठूला अस्पतालमा विशेषज्ञ अध्ययनरत दुई चिकित्सकले आत्महत्या  रोजे । हुन त चिकित्सकले आत्महत्या रोजेका यी घटना पहिलो होइन र नेपालमा  मात्र यस्ता घटना घट्ने पनि होइन । तर सफल चिकित्सकका रूपमा केही वर्ष अनुभव  बटुलिसकेकाले नै थप अध्ययन (विशेषज्ञ) गर्ने क्रममा आत्महत्या रोज्नु चाहिँ  असान्दर्भिक लाग्ने रहेछ । जसकारण परिवार, समाजमा मात्र गहिरो चोट पुग्दैन,  यो त देशकै लागि क्षति हो । अध्ययनरत संस्था र राज्यको व्यवस्थामा समेत प्रश्नहरू तेर्सिन्छन् ।

पछिल्लो समयमा किशोर—किशोरीदेखि सफल व्यक्तिहरूले पनि  आत्महत्या रोज्ने गरेका घटना प्रशस्तै छन् । विश्व स्वास्थ्य संघको पछिल्लो  आँकडाअनुसार विश्वभरमा एक वर्षमा लगभग ८ लाख मानिसले आत्महत्या गर्छन् ।  नेपाल प्रहरीको आर्थिक वर्ष २०६१/६२ देखि ०७१/०७२ सम्म १० वर्षको  तथ्यांक हेर्दा २९ हजार ९ सय ५ जनाले आत्महत्या गरेको पाइन्छ ।  ०७३/०७४ मा ५ हजार १ सय २४, ०७४/०७५ मा ५ हजार ३ सय ४६ जना  र ०७५/०७६ मा ५ हजार ७ सय ५४ छन् । हरेक वर्ष आत्महत्याको  घटना बढेको देखिन्छ ।

नेपालका चिकित्सकहरूले मात्र आत्महत्या रोज्ने होइन ।  सन् २००८ मा अमेरिकाको अमेरिकन कलेज अफ सर्जनका ७ हजार ९ सय ५  चिकित्सकहरूमा गरिएको अध्ययनले १ वर्षमा ५ सय १ अर्थात् ६.३ प्रतिशत  चिकित्सकलाई आत्मघाती विचार आएको देखाएको छ । जुन सामान्य जनसंख्याको  तुलनामा १.५ देखि ३ गुणा बढी थियो । दुःखद् त के भने आत्महत्या गर्ने सोच  भएका चिकित्सकमध्ये २६ प्रतिशतले मात्र मद्दत मागेका थिए । ६०.१ प्रतिशत कुनै  किसिमको उपचार वा सहयोग लिन अनिच्छुक रहेको सो अध्ययनले देखाएको थियो ।

अस्ट्रेलियाली  सर्वेक्षणमा एक वर्षको अवधिमा २४.८ प्रतिशत डाक्टरहरूको मनमा आत्महत्याको  विचार आएको उल्लेख छ । जसले सामान्य जनसंख्यामा १३.३ प्रतिशत र अन्य पेसेवरमा  १२.८ प्रतिशतले आत्महत्यासम्बन्धी विचार आएको तर डाक्टरहरूको हकमा त्यो संख्या  २४.८ रहेको देखायो । आत्महत्या कुनै एक कारणले भन्दा पनि बहुपक्षीय कारणले  हुन्छ भन्ने तर्क मनोचिकित्सकहरूको छ ।

पछिल्ला वर्षहरूमा मानसिक तनाव, सामाजिक दबाब, आर्थिक समस्याहरू, पारिवारिक असमझदारी तथा आधुनिक जीवनशैलीका कारण  आत्महत्याका घटनाहरू बढ्दै गएका छन् । आत्महत्याका घटना र प्रकृति सुन्दा  क्षणिक रिस वा सनक लागे पनि यस पछाडि निकै गहिरो कारण हँुदा रहेछन् । कतै  न कतै आत्महत्याका पछाडि मानसिक स्वास्थ्य रहने गरेको पनि भेटिन्छ । विशेषतः  डिप्रेसन, एन्जाइटी, बाइपोलार डिसअर्डरजस्ता मानसिक समस्या भएका व्यक्तिहरूलाई  उचित उपचार र सहयोग नपाउँदा आत्महत्याको जोखिम बढेको देखिन्छ । पछिल्लो  समयमा उच्च आकांक्षाका साथ कडा मेहनत र धेरै लगानी गरेर चिकित्सा अध्ययन गर्ने  तर अध्ययनपछि सो पूरा नहुने भएपछि डिप्रेसनको जन्म लिने गरेको पाइन्छ ।  अहिले त अझ बेरोजगारी, बैंकको ऋण, अस्थिर आयस्रोतजस्ता कारण थपिएपछि  निराश हुने र आत्महत्या रोज्ने हुन्छन् भन्दा फरक नपर्ला ।

चिकित्सकीय पेसा अत्यन्त जिम्मेवारीपूर्ण हुन्छ । बिरामीहरूको जीवन बचाउनु, सही उपचार दिनु तथा चौबिसैघण्टा काम गर्नुपर्ने दबाबले मानसिक तनाव बढाएको हुन्छ । फेरि कुनै गल्ती भयो भने कानुनी कारबाही, बिरामीका परिवारबाट आक्रोश तथा सामाजिक बदनामीको डर पनि हुन्छ । त्यसमाथि अझ लामो समयसम्म ड्युटी गर्नुपर्ने,  आपत्कालीन केसहरू ह्यान्डल गर्नुपर्ने तथा निजी जीवनलाई समय दिन नसक्ने, निद्रा  नपुग्ने, खानपान अव्यवस्थित हुने तथा लगातार तनावमा बस्दा मानसिक स्वास्थ्य प्रभावित हुन्छ । कहिलेकाहीँ प्रयास गर्दागर्दै पनि बिरामीलाई बचाउन सकिँदैन । यस्तो अवस्थाले आत्मग्लानी, अपराधबोध तथा मानसिक तनाव सिर्जना गर्छ ।

समाजले चिकित्सकहरूलाई ‘असफल हुनै नहुने’ व्यक्तिका रूपमा हेर्छ । एकातिर कुनै एक  बिरामीको उपचारमा पनि चिकित्सक सफल भएनन् भने उनलाई आलोचना गरिन्छ । यसले मानसिक तनावलाई झनै बढाउँछ । अर्कोतिर पेसागत व्यस्तताका कारण चिकित्सकहरू परिवारलाई समय दिन सक्दैनन् । चिकित्सकहरू व्यक्तिगत जीवनमा समस्या  आए पनि त्यस्तो कुरा खुलाउन नचाहने प्रवृत्ति हुन्छन् । यसले थप मानसिक समस्या  बढाउँछ । त्यस्तै पछिल्लो चरणमा सरकारी तथा निजी अस्पतालमा हुने राजनीतिक खेल, मेडिकल माफियाहरूको हस्तक्षेपले चित्सिकहरूको करियर अस्थिर बनेको छ सक्छ । सबैभन्दा महत्त्वपूर्ण र घातक पक्ष चिकित्सकहरू स्वयं मानसिक स्वास्थ्यका विशेषज्ञ भए  पनि आफ्नै समस्या अरूसँग सेयर गर्न हिचकिचाउँछन् । डाक्टरलाई त मानसिक समस्या  हुँदैन भन्ने धारणा रहेकाले उनीहरू खुलेर परामर्श लिँदैनन् । आत्महत्याका लागि  यो महत्त्वपूर्ण रहेको मनोचिकित्सहरूको तर्क छ ।

आत्महत्याका सन्दर्भमा  वरिष्ठ मनोरोग विशेषज्ञ डा. रञ्जन थापाका अनुसार पछिल्लो समयमा डाक्टरमात्रै  होइन, सबैमा आत्महत्याका घटना बढेका छन् । थापा आत्महत्याको घटनाका पछाडि  मानसिक तनाव तथा डिप्रेसन प्रमुख कारणका रूपमा रहेको बताउँछन् । डाक्टरहरूको अध्ययनका समय लामो हुनु, जिम्मेवारी धेरै हुनु, आर्थिक असन्तुष्टिजस्ता कारण सँगसँगै विशेषत पुरुष डाक्टरहरूले आफूलाई डिप्रेसन भएको स्वीकार नगर्ने वा स्वीकार गरे पनि आवश्यक औषधि–उपचार नगर्ने गरेको उनको ठम्याइँ छ । उनी  ड्युटी अवधि लामो हुनु, पेसागत जिम्मेवारी र व्यक्तिगत जीवनबीचको सन्तुलन कायम  गराउन नसक्नु अनि संगठनात्मक राजनीतिले पनि डाक्टरहरूलाई आत्महत्याको जोखिम  थपेको बताउँछन् । 

आत्महत्या रोक्न भ्याक्सिन लगाएजस्तो सजिलो पक्कै छैन ।  अर्को कुरा आत्महत्याका पछाडि अनेकौं कारण र हरेकका कारण फरक रहने  गरेकाले एउटै तरिकाले रोकथाम गर्न सकिँदैन । तर हरेक मानिसमा बाँच्ने चाहना  तीवै हुन्छ । आत्महत्याको विचार गरेका व्यक्तिमा पनि कतै न कतै बाँच्ने रहर  पक्कै हुन्छ । पिडाले थिचारिएका ती बाँच्ने रहरहरूलाई जगाउन मनोचिकित्सकहरूले प्रेस्क्राइब गर्ने औषधिहरूको नियमित सेवनसँगै मनोवैज्ञानिक परामर्शको पहुँच  बढाउनु आवश्यक हुन्छ । परिवार तथा साथीहरूसँग कुराकानी बढाउनु, व्यक्तिगत जीवन र  पेसाबीच सन्तुलन कायम गर्नु पनि धेरै आवश्यक छ ।

चिकित्सकहरूको कामको  अवधि र सामाजिक जीवनमा पनि राज्यले विचार गर्नुपर्ने जरुरी छ । राज्यले चिकित्सकहरूकै लागि आर्थिक तथा सामाजिक सहायता कार्यक्रमहरू ल्याउनुपर्ने पनि  आवश्यक देखिन्छ । चिकित्सकहरू स्वयंले पनि धेरै महात्त्वाकांक्षी नभएर सकारात्मक  जीवनशैली र आत्मबोध विकास गर्दै लैजानुपर्ने हुन्छ । विशेषतः आफ्नो मानसिक  स्वास्थ्यबारे खुलेर कुरा गर्ने वातावरण बनाउन अत्यन्तै जरुरी छ । आत्महत्या  व्यक्तिगतमात्र होइन, सामाजिक र प्रणालीगत समस्या हो । यसलाई रोक्न सबै पक्षले  मिलेर प्रयास गर्न आवश्यक छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.