नारी दिवस : कागलाई बेल पाक्यो हर्ष न बिस्मात !

नारी दिवस : कागलाई बेल पाक्यो हर्ष न बिस्मात !

महिलाका लागि समान अधिकार र अवसरहरूको माग गर्दै प्रत्येक वर्ष मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर मनाइन्छ। यस दिवसले महिलाहरूले आर्थिक, सांस्कृतिक, राजनीतिक, सामाजिक लगायत विभिन्न क्षेत्रहरूमा पुर्‍याएका योगदानप्रति सम्मान गर्ने अवसर प्रदान गर्छ। नारी दिवस एक विशेष दिन, जहाँ लैङ्गिक समानताको लागि भएका संघर्षहरूलाई उजागर गर्दै, महिलाका शिक्षा, स्वास्थ्य, रोजगार, सुरक्षा, र राजनीतिक तथा सामाजिक अधिकारको क्षेत्रमा भएका अवरोध र चुनौतीहरूको बारेमा जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरिन्छ। यस दिवसलाई महिलाहरूको लागि समान अधिकार र अवसरको पक्षमा जागरूकता र सकारात्मक परिवर्तन ल्याउने महत्त्वपूर्ण मञ्चको रूपमा पनि लिन सकिन्छ। यस दिवसका माध्यमबाट महिलाका अधिकार र समानताको पक्षमा आवाज उठाइन्छ।

अन्तर्राष्ट्रिय नारी दिवसको इतिहासलाई पल्टाएर हेर्ने हो भने यो एक शताब्दी भन्दा बढी पुरानो छ। विश्वमा पहिलो राष्ट्रिय महिला दिवस संयुक्त राज्य अमेरिकाले १९०८, २८ फेब्रुअरीमा मनाएयता पनि १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्विट्जरल्यान्डमा आधिकारिक रूपमा पहिलो महिला दिवस मनाइएको थियो। जहाँ लाखौं मानिसहरूले महिलाको समान अधिकार विशेष गरी मतदानको अधिकारको लागि र्‍याली र मार्चहरूमा भाग लिएका थिए। यो प्रदर्शनले ऐतिहासिक रूपमा महिला आन्दोलनको एक नयाँ अध्याय सुरु गरेको मानिन्थ्यो सन् १९७५ मा संयुक्त राष्ट्रसङ्घले मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसको रूपमा घोषणा गर्‍यो। तत्पश्चात् त्यो दिवस संसारभर महिला सशक्तीकरणका विभिन्न कार्यक्रम र विशेष नारासहित मार्च ८ मा मनाउन थालियो। यस दिवसको उद्देश्य महिला अधिकारको सम्मान र समानताको प्राप्ति हो।

प्रत्येक वर्ष अन्तर्राष्ट्रिय नारी दिवस महिला हक हित, अधिकार र हिंसासँग सम्बन्धित मुद्दाहरूमा केन्द्रित रही विशेष नारासहित मनाइन्छ। यस अनुरूप सन् २०२५ को नारा 'Accelerate action for gender equality' रहेको छ। यस नाराले लैङ्गिक समानतासँग सम्बन्धित समस्याहरू चाँडोभन्दा चाँडो समाधान गर्नु आजको आवश्यकता रहेको बताउँछ। विश्व आर्थिक मञ्चअनुसार लैङ्गिक समानता हासिल गर्न यही गतिमा १ शताब्दी भन्दा बढी समय लाग्ने अनुमानित गरेको छ। यस वर्षको नाराले लैङ्गिक हिंसा र विभेदसँग सम्बन्धित सम्पूर्ण बाधा, अडचन, अवरोध र पूर्वाग्रहहरू हटाई लैङ्गिक समानता तर्फ गति बढाउन सम्पूर्ण सरोकारवालाहरूको ध्यानाकर्षण गर्छ।

आज हामी विश्वव्यापीरूपमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेका छौं। हाम्रै मुलुकको एउटा वर्ग नारामा केन्द्रित रही छलफल बहस एवं सेमिनार र प्रभात फेरिहरूमा मस्त छन् भने अर्को वर्गलाई अन्तर्राष्ट्रिय नारी दिवस कागलाई बेल पाक्यो हर्ष न बिस्मात भनेको जस्तै छ।

लैङ्गिक हिंसालाई विभिन्न देशमा गरिएका अध्ययन अनुसन्धानहरूले महिला सशक्तीकरणका प्रमुख बाधक तत्वको रूपमा प्रमाणित गरेका छन्। यसभित्र महिलाविरुद्ध हुने विभिन्न शारीरिक, मानसिक र यौनिक दुर्व्यवहारहरू पर्छन्। विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार आज विश्वभर तीन महिलामध्ये एक महिलाले कुनै न कुनै प्रकारको हिंसाको सामना गरिरहेकी हुन्छिन्। यसअनुसार संसारभर करिब ३३ प्रतिशत महिलाहरूले लैङ्गिक हिंसाका नमिठो अनुभव गर्छन्। तसर्थ यस दिवसले विश्वभर महिला हिंसासँग सम्बन्धित समस्याहरूमा कानुनी व्यवस्था, कार्यान्वयन र समर्थन जस्ता कुराहरूमा जोड दिन्छ।

विश्वका अन्य मुलुकहरू जस्तै नेपालमा पनि नारी दिवस हर्षोल्लासका साथ मार्च ८ मै मनाइन्छ। यस दिवसले हाम्रो समाजमा महिलाहरूको महत्त्व र योगदानलाई सम्मान गर्छ। यो दिन महिलाका अधिकार र समानताको लागि विभिन्न संघसंस्था, सरकारी निकाय र गैरसरकारी संस्थाहरूले लैङ्गिक हिंसासँग सम्बन्धित विविध कार्यक्रमहरू आयोजना गर्छन्। यो दिनले महिला भएर जन्मिएकै कारण भोग्न परेका विभिन्न समस्याहरूलाई उजागर गर्छ। परापूर्वकालदेखि नै नेपालमा महिलाहरूको इतिहास लामो र समृद्ध छ। धार्मिक हिसाबले हेर्ने हो भनेपनि महिलाहरूलाई देवी भगवतीको स्थान दिइएको छ। यसो भए पनि नेपालमा सधैं महिलाहरूले समान अधिकार र अवसरको लागि संघर्ष गर्नुपरेको देखिन्छ। महिला हिंसा, यौन शोषण, बालविवाह, शिक्षा र स्वास्थ्यमा असमानता र कार्यक्षेत्रमा भेदभाव जस्ता समस्याहरू अझै पनि व्यापक छन्।

महिला सशक्तीकरण र उत्थानका लागि नारी दिवसको महत्त्व अवर्णनीय छ। यसको अवसरमा गरिने विभिन्न कार्यक्रमहरूद्वारा महिलाको आर्थिक स्वतन्त्रता सशक्तीकरण र समग्र सामाजिक विकासमा ठूलो योगदान पुर्याउन सकिन्छ । तर हालसम्म गरिएका धेरैजसो कार्यक्रमहरू सहरमुखी एवं पहुँच भएका वर्गहरूको लागि मात्र लक्षित छन । हाम्रो जस्तो भौगोलिक विकटता भएको मुलुकमा दूरदराजका जिल्ला गाउँ र बस्तीहरूमा धेरैजसो कार्यक्रमहरू पुग्न सकेका छैनन्। लैङ्गिक हिंसा अर्थात् लैङ्गिक समता र समानताका कुराहरू गरिब दुःखी उत्पीडित र सीमान्तकृत वर्गहरूको पहुँच भन्दा बाहिर छन्। धेरैजसो कार्यक्रमहरू सम्बन्धित दिवस केन्द्रित भएर मात्र गरिने व्यवहारमा लागू नहुने र खाली औपचारिकतामा मात्र सीमित रहेको पाइन्छ।

आज हामी विश्वव्यापीरूपमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेका छौं। हाम्रै मुलुकको एउटा वर्ग नारामा केन्द्रित रही छलफल बहस एवं सेमिनार र प्रभात फेरिहरूमा मस्त छन् भने अर्को वर्गलाई अन्तर्राष्ट्रिय नारी दिवस कागलाई बेल पाक्यो हर्ष न बिस्मात भनेको जस्तै छ। अन्तर्राष्ट्रिय नारी दिवस एउटा उत्सव मात्र नभइ एक आह्वान हो, जसले महिलाका विभिन्न चुनौतीहरूलाई सम्बोधन गर्दै लैङ्गिक समानताको लागि संघर्षका आवश्यकता दर्शाउँछ। तसर्थ लैंगिक समानताको लागि कार्यलाई तिब्र बनाउ भन्ने २०२५  को नारालाई सफल बनाउनका निमित्त सबै वर्ग र क्षेत्रका मानिसहरूलाई लक्षित गरी विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गर्नु जरुरी देखिन्छ। सारमा सम्पूर्ण श्रमजीवी महिला दिदीबहिनीहरूको श्रमलाई सम्मान गर्दै अन्तर्राष्ट्रिय नारी दिवसको धेरै धेरै शुभकामना।

सह प्राध्यापक शर्मा र उप प्रध्यापक थपलिया पोखरा नर्सिङ क्याम्पसमा कार्यरत छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.