पाइला–पाइलामा पुण्य, मिथिला परिक्रमा

पाइला–पाइलामा पुण्य, मिथिला परिक्रमा

जनकपुरधाम : एउटा हातमा पाल बनाउने बाँसका खम्बा, अर्को हातमा लुगाफाटोको झोला । शिरमा खानेकुराको पोको । ओठमा मुस्कानसहित जय सियारामको स्तुति गर्देै नेपाल र भारतका लाखौं भक्तजन मिथिला परिक्रमामा सहभागी छन् ।

मिथिलाको सांस्कृतिक धरोहरको रूपमा रहेको १५ दिने माध्यमिकी परिक्रमाले यस क्षेत्रको माहोल नै उत्सवमय छ । सन्त महन्थको सहर जनकपुर र यस वरिपरिको क्षेत्रमा अर्कै रौनक छ । 

नेपाल–भारतको सांस्कृतिक सेतु हो, माध्यमिकी मिथिला परिक्रमा । धनुषा, महोत्तरी तथा भारतको उत्तरी बिहारका धार्मिक, ऐतिहासिक स्थानहरू समेट्ने ‘मिथिला परिक्रमा’ एउटा महत्त्वपूर्ण धार्मिक तीर्थस्थलको रूपमा स्थापित छ । मिथिला परिक्रमामा नेपालको १ सय ८ र भारतको २७ गरी करिब १ सय ३५ किलोमिटरको पैदलयात्रा गर्नुपर्छ । साधु सन्त, गृहिणी तथा हजारौं श्रद्धालु भक्तजनहरूको सहभागिता रहन्छ । तर ठाउँमा कच्ची बाटो, भत्केका पुलपुलेसा र खाल्डाखुल्डीका कारण परिक्रमामा सहभागी हुनेहरूले दुःख कष्ट व्यहोर्ने गरेका छन् । 

यसैकारण परिक्रमामा लाखौं श्रद्धालु सहभागी हुने गरे पनि पर्यटकीय क्षेत्रको रूपमा विकास हुन सकेको छैन । सन् १८१६ मा भएको सुगौली सन्धिले प्राचीन मिथिलालाई नेपाल र भारतमा छुट्ट्यायो । तर, पनि मिथिला परिक्रमाको आस्थामा भने दुवै देशका नागरिकको उत्तिकै श्रद्धा, सम्मान र सहभागिता रहने गरेको छ । 

२०४९ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारत भ्रमणमा जाँदा परिक्रमा सडक निर्माण गर्ने दुई देशबीच सहमति भएको थियो । तर, अझै पक्की सडक निर्माण हुन सकेको छैन । परिक्रमा सडकको निर्माण नहुँदा आन्तरिक पर्यटन व्यवसायसमेत फस्टाउन सकेको छैन । परिक्रमामा सडक निर्माण भए धनुषा र महोत्तरीका साथै भारतीय मधुवनी जिल्ला पनि जोडिनेछ । यसले दुवै देशको सांस्कृतिक र आर्थिक विकासमा टेवा पुग्नेछ ।

आध्यात्मिक पक्ष–सुखको क्षणिकता प्रदर्शन 

मिथिला परिक्रमाको आध्यात्मिक पक्ष हो– सुखको क्षणिकता प्रदर्शन । परिक्रमा आफैंमा एउटा गन्तव्य हो भन्ने स्वीकार गर्नु पनि हो ।मिथिला–परिक्रमा तीन प्रकारका छन् । बृहद्, मध्य र अन्तरगृह । ‘बृहद् परिक्रमा’ तत्कालीन मिथिला राज्य अर्थात् उत्तरमा हिमालय पर्वतको फेदीबाट सुरु भएर पूर्व कोशी, दक्षिण गंगा, पश्चिम गण्डकी हुँदै सुरु भएकै ठाउँमा आएर टुंगिन्छ । यसरी मिथिला महात्ममा हरिहर क्षेत्रबाट प्रारम्भ भई गण्डकी नदीको किनारा हुँदै हिमालय क्षेत्र, कोशी नदी भएर पुनः हरिहर क्षेत्रमा समापन हुने बृहद् परिक्रमाको चर्चा भएको पाइन्छ । हिजोआज साधु–सन्तबाहेक सर्वसाधारणले बृहद् परिक्रमामा सहभागी हुन 
छोडेका छन् ।

माध्यमिकी परिक्रमा धनुषाको मिथिला बिहारी नगरपालिकाको ठेरा कचुरीबाट मिथिला बिहारीको डोला तथा जनकपुरधामको अग्निकुण्डस्थित सुन्दर सदनबाट किशोरीजीको डोला नै परिक्रमाको मुख्य आकर्षण हो । डोलामा सीतारामको प्रतिमा राखिएको हुन्छ । 
जनकपुरस्थित रत्नसागर स्थानका स्वर्गीय महन्थ बाबा नारायण दासले करिब डेढ सय वर्ष पूर्वदेखि साधुसन्तलाई लिएर वनजंगलको बाटो भएर माध्यमिकी परिक्रमालाई मिथिला महात्मको निर्देशानुसार फेरि सुरुवात गरेको बताइन्छ । त्यसलाई करिब ५० वर्षपछि सीताकुण्डका महन्थ परमहंश सियालाल शरणले साधुसन्तसहित बाजागाजाका साथ परिक्रमा गरेका थिए । परिक्रमाको महत्त्व बढाउने तथा वैष्णव सम्प्रदायको प्रवद्र्धनमा महन्थ परमहंसको उल्लेखनीय योगदान मानिन्छ । 

माध्यमिकी परिक्रमा करिब ६० वर्ष अघिदेखि मिथिला महात्मको कथावाचन मुख्य पण्डित रामदुलारी शरणले गरे । उनको निधनपछि मिथिला महात्मको कथावाचन उनका शिष्य शिया राघव शरणले गरिरहे । आम मानिस ‘मध्य–परिक्रमा’प्रति बढी आकर्षित छन् । सर्वप्रथम ‘मिथिला महात्म्य’ मा वर्णन गरिएको मध्य–परिक्रमाको सुरुआत १८औँ शताब्दीभन्दा केहीपहिले भएको हुनुपर्दछ भन्ने इतिहासविद्हरूको कथन छ । आधुनिक जनकपुरलाई पुनः चिनाउने महात्मा सुरकिशोरले परिक्रमा मार्ग पत्ता लगाएपछि सीतामढी मठका सीताप्रसाद र बराही मठका सुरदास साधुले मध्य–परिक्रमा आरम्भ गरेको बताइन्छ । २०औं शताब्दीको प्रारम्भतिर जनकपुरधामका रामानन्दी वैष्णव साधुहरूले पाँच दिनमा पूरा हुने परिक्रमालाई पन्ध्रदिने बनाए । यस कार्यमा साधु प्रेमलता, सीतामढीका साधु सिद्धबाबा र जनकपुरधामका सन्त वैदेही शरणको भूमिका उल्लेखनीय मानिन्छ । पहिला–पहिला साधुसन्तहरूको मात्र सहभागिता रहने परिक्रमाले विस्तारै जनसाधारणको ध्यान पनि आकृष्ट गर्‍यो । जसकारण यसमा गृहस्थहरू समेत सहभागी हुन थालेका छन् । 

यो महोत्सवमा धनुषा, कचुरी गाउँको मिथिलाबिहारी मठबाट राम–जानकीको डोली जनकपुरधामको रत्नसागर हुँदै जानकी मन्दिर पुर्‍याइन्छ । त्यहाँबाट जानकीको डोला र जनकपुरका अरू मन्दिरहरूबाट ल्याइएका डोलाहरू समेत समावेश गरेर परिक्रमा–यात्रा आरम्भ हुन्छ । डोलीका पछि–पछि ढोल, पिपही आदिको वादन, नरनारीहरूको सहभागिता, भजन–कीर्तन आदिले मिथिलाका मौलिक सांस्कृतिक भक्तिमय छँटाले जो कोही पनि सहजै मोहित हुन् सक्छन् । यस्तै झाँकीका साथ भक्तजनहरूको विशाल समूहले १५ दिनसम्म मिथिलाको तत्कालीन राजधानी क्षेत्रको चारैतिर रहेका धार्मिक स्थलहरूको परिक्रमा गर्छन् ।

नेपाल र भारत दुवै मुलुकका धार्मिक, सांस्कृतिक एवं आपसी सद्भावको प्रतीक बनेको परिक्रमा यात्राको नेपालमा ११ तथा भारतमा ४ गरी जम्मा १५ वटा प्रमुख स्थान छन् । परिक्रमा प्रारम्भको दुई स्थान कल्याणनेश्वर र गिरिजास्थान भारतमा र नेपालमा महोत्तरीको मठिहानी, जलेश्वर, धुव्रकुण्ड, कञ्चनवन, क्षीरेश्वरनाथ तथा धनुषाको पर्वता, धनुषाधाम, औरहीमा वि श्राम गर्दै अन्त्यमा भारतीय क्षेत्रको करुणा र विशौल हुँदै जनकपुरधाममा अन्तगृह घुम्ने गरिन्छ । यो धर्मयात्राबाट सत्कर्म, पाप तथा अन्य कष्टबाट मुक्ति पाउनुको साथै मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास रहँदै आएको छ । परिक्रमा गर्नाले हरेक पाइला–पाइलामा पुण्य कमाइने विश्वास छ । मिथिला परिक्रममा र फागुको सम्बन्ध मिथिला–परिक्रमाको फागु पर्वसँग पनि गहिरो सम्बन्ध छ । प्रेम र भाइचारा अभिवृद्धि गर्ने सांस्कृतिक पर्व फागु यहाँ मज्जाले मनाइन्छ । 
हो हो किनकाके हाथ अबिर झोरी 
किनकाके हाथ कनक पिचकारी 
रामजीकेँ हाथ कनक पिचकारी
सियाजीकेँ हाथ अबिर झोरी

यस्तै कर्णप्रिय फागु गीत र जोगिराले परिक्रमा यात्रा मनोरम हुन्छ । तर कञ्चनवनमा फागुको बेग्लै आनन्द हुन्छ । यहाँ फागुको रौनक उत्कर्षमा हुन्छ । लामा लामा दाह्री जुँगा भएका बाबाजी, साधुसन्त, नरनारी, गृहिणी, परिक्रमावासी तथा स्थानीय रंगबिरंगी रंग अबिरमा रंगिएका हुन्छन् । यसरी हर्षोल्लासमय वातावरणमा फागुको रंग चढ्दै जान्छ । पर्वता, कञ्चनवनबाट नवौं दिनको यात्रा सुरु गर्ने भक्तजनहरू बीचमा पर्ने क्षीरेश्वरनाथ महादेवको दर्शन एवं जलाइद नदीमा स्नान गरेर बास बस्न पर्वता आइपुग्छन् । ढल्केबरबाट जनकपुर जाने कच्ची बाटोमा पर्ने पर्वतामा हनुमानको मन्दिर छ ।

दसौं दिन यात्री धनुषाधाम पुग्छन् । सीताजीसँग स्वयम्बर हुनुअघि भगवान् रामले भाँचेको धनुको एउटा टुक्रो खसेको विश्वास गरिएको यो ठाउँ धनुष दर्शनको लागि प्रख्यात छ । विवाहपञ्चमी र रामनवमीका बेला पनि ठूलो मेला लाग्ने धनुषाधाममा बाणगंगा नदी र उत्तरपट्टि करिब पाँच सय बिघामा फैलिएको नयाँ वन क्षेत्रले यो ठाउँलाई रमणीय बनाएको छ । एघारौं दिन यात्रीहरू सतोखर पुग्छन् । राममन्दिर र पोखरी भएको ठाउँमा असार–साउनतिर हुने बोलबम र झुला पर्व पनि राम्रोसँग मनाइन्छ । बाह्रौं दिन यात्रुहरू औरही पुग्छन् । जनकपुर–जयनगर रेल्वेको तेस्रो बिसौनी वैदेही नजिकै रहेको औरहीमा भक्तजनहरू विमला खोलामा स्नान गरी रामजानकी मन्दिरमा दर्शन गर्छन् । तेह्रौं दिन परिक्रमा यात्रा फेरि भारत भूमि प्रवेश गर्दछ र यात्रीहरू करुणामा पुगेर वि श्राम गर्दछन् ।

रामजानकीको मन्दिर रहेको यस ठाउँमा करुणा नामकै पोखरी छ । भारतकै विशाल परिक्रमा यात्रीहरूको चौधौं दिनको गन्तव्य हो । यहाँ विश्वामित्रको मन्दिर छ र कमला नदी यहीँबाट बग्दछ । परिक्रमा यात्राको अन्तिम पन्ध्रौं दिनमा (फागुन पूर्णिमा) सहभागी भक्तजनहरू जनकपुरधाम आइपुग्छन् र यहाँका विभिन्न तीर्थस्थलहरूको दर्शन गर्दै अन्तरगृही परिक्रमामा सामेल हुन्छन् । यहीँबाट मिथिला–मध्य परिक्रमाको विसर्जन हुन्छ । जसमा राजा जनकले आफ्नो राजधानीको चार कुनामा स्थापना गरेका चारवटा महादेव–पीठ पूर्वको कल्यानेश्वर (हाल भारतमा), दक्षिणको जलेश्वरनाथ (जलेश्वर, महोत्तरी), पश्चिमको क्षीरेश्वरनाथ (महेन्द्रनगर, धनुषा) र उत्तरको सतोखर (धनुषा) पर्छन् । अन्तिम अर्थात् पन्ध्रौं दिन फेरि जनकपुर आइपुगेर जनकपुरको पाँच कोश दूरीको परिक्रमा गरेपछि यात्रा सम्पन्न हुन्छ, जसलाई अन्तरगृही अथवा पञ्चकोशी परिक्रमा भनिन्छ । अन्तरगृह परिक्रमाको सीमाक्षेत्र जनकपुर नगरपालिकाभित्र पर्दछ । यहाँ चोकचोकमा समेत जलाएको हुन्छ । त्यही धुलोलाई स्पर्श र प्रणाम गर्दै परिक्रमा प्रारम्भ गरिन्छ ।

यसैक्रममा रंगअबिर खेलिसकेपछि मिथिलामा ‘धुरखेल’ अर्थात् ‘जे जीए से खेले फागु जे मरए से लेखा लए’ भन्दै धुलो छ्यापेर रमाइलो गर्ने चलन छ । जनकपुरमा परिक्रमा सकिएपछि फागु खेलिने प्रचलन छ ।  सर्वाधिक मानिसले १५ दिनमा, त्यसभन्दा कम ५ दिनमा र २४ घण्टामा समेत परिक्रमा घुम्ने गर्छन् । परिक्रमाका सहभागीहरूका लागि गाउँगाउँमा श्रद्धालुहरूले खानपिनका साथै सेवा–सत्कारको व्यवस्था गरेका हुन्छन् । यसमा सहभागी भक्तजनहरूले निर्वाह गर्ने धार्मिक मूल्यमान्यता पनि हुन्छ । मिथिलावासीका साथै नेपालका र भारतका विभिन्न प्रान्तबाट पनि भक्तजनहरू आउँछन् । यो उत्सवलाई मिथिलावासीहरू खेतीपाती धान भित्र्याउने काम सकेर रमाइलो, धर्म–कर्म तथा भ्रमण गर्ने मौकाको रूपमा पनि लिन्छन् ।

मिथिला परिक्रमाको बेग्लै आर्थिक महत्त्व पनि छ, जसले कृषि, पेसा र बजारलाई पनि एकीकृत गर्दछ । तर, त्योभन्दा माथि छ, जनकले जोतेको दृष्टान्तको महात्म्य । मिथिला परिक्रमाको क्रममा डोला उठ्दा वा बस्दा हरेक पटक गुञ्जिने गर्छ, ‘जय जय हो किशोरीजी ! मोटा पर मोटरी जय सियाराम ।’ किशोरीजी भन्नले मिथिलाकी छोरी सीता जनाउँछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.