पाल्पामा करिब ५ हजारले एसईई दिने
तानसेन : यही चैत ७ गतेदेखि हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा पाल्पाबाट ४ हजार ९ सय १० जना विद्यार्थी सहभागी हुँदैछन्।
जसमा छात्र २ हजार ३ सय ५८ र छात्रा २ हजार ५ सय ५२ रहेका छन्। गत वर्षको तुलनामा यस वर्ष परीक्षा दिने विद्यार्थी संख्या बढेको शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख प्रेमराज खरेलले बताए।
ग्रेडवृद्धिका विद्यार्थीहरू धेरै भएकाले यस वर्ष गतवर्ष भन्दा ७ सय २६ बढी विद्यार्थी बढेका हुन्। पाल्पामा अघिल्लो वर्ष ४ हजार १ सय ८४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए।
सामुदायिक विद्यालयतर्फ २ हजार ४४ छात्र र २ हजार ३ सय ४५ छात्रा छन् । यस्तै संस्थागत विद्यालयका ५ सय २१ जना विद्यार्थीहरूमध्ये छात्र ३ सय १४ र छात्रा २ सय ७ जना रहेका छन्।
नियमिततर्फ साधारणतर्फ ३ हजार ५ सय ४ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन्। यस्तै प्राविधिकतर्फ २ सय २८ जना रहेका छन्। यस वर्ष ग्रेडवृद्धिको साधारणतर्फ एक हजार एक सय ३० विद्यार्थी रहेका छन्। यस्तै प्राविधिकतर्फ ४८ जना रहेका छन्।
प्रतिक्रिया दिनुहोस !