हिमालका एजेण्डा र मिडियाको भूमिकाबारे नर्थक्यारोलिनामा बहस
जलवायू न्यायबारे वृतचित्र प्रदर्शन
नर्थक्यारोलिना (अमेरिका) : अमेरिकाको नर्थक्यारोलिनामा नेपालका हिमाल र पर्यावरण संरक्षण र त्यसमा मिडियाको भूमिकाबारे अन्तरक्रिया सम्पन्न भएको छ।
ठूला र औद्योगिक राष्ट्रले नेपाल जस्तो जलवायु परिवर्तनको मारमा परेको देशलाई न्याय गर्नका लागि उपर्युक्त कदम चाल्नुपर्ने सुझाव कार्यक्रमका सहभागीले दिएका छन्। कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सगरमाथासहितका हिमाल, हिमनदी जोगाउँदा नेपालमात्र नभइ अन्य राष्ट्रसमेत सुरक्षित हुने बताए।
मिडियाले जलवायु परिवर्तनबाट परेका असर न्यूनीकरण र न्यायका पक्षमा निरन्तर खबरदारी गर्नुपर्ने र त्यसका लागि कभरेज बढाउनुपर्ने सुझाव बस्नेतको थियो।
नर्थक्यारोलिनास्थित एनसिएनसि, आरम्भ नेपाली पुस्तकालय र नेपालमा जलवायु न्यायमा सक्रिय संस्था साथसाथै फाउण्डेशनले आयोजना गरेको हिमाल, पर्यावरण संरक्षणका चुनौति र सञ्चारको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रममा वातावरणविज्ञ, सगरमाथा आरोही, सामाजिक अभियन्ता र विभिन्न क्षेत्रमा कार्यरत नेपाली समुदायको सहभागिता थियो।
त्यस क्रममा अध्यक्ष बस्नेतले सगरमाथासहित विश्वका १४ वटा उच्च हिमाल कालापहाडमा परिर्वतन हुँदै जानु नेपालको मात्र चिन्ताको विषय नभएको बताए। हिमालमा हिउँ नुहुँदा त्यसको प्रभाव पहाड र तराईमा समेत पर्दा नेपालीहरू बाध्यताले विदेशिनुपरेको अवस्थातर्फ सबै गम्भीर हुनुपर्ने बस्नेतको सुझाव थियो।
'नेपालका हिमश्रृंखलाहरु हाम्रा सम्पदा हुन्। गहना हुन्। यसलाई जोगाउन सकिएन भने नेपाल रित्तिन्छ। नेपाली जुन देशमा रहे पनि आफ्नो जन्मभूमि र भावी पुस्तालाई जोगाउनका लागि विश्वको गहनाका रूपमा रहेका हिमाल जोगाउन जरुरी छ', पर्यावरण अभियन्तासमेत रहेका बस्नेतले भने। उनले अबको पत्रकारिताका एजेण्डा विकास र समृद्धिको हुनुपर्ने, त्यसका लागि जलवायुका मुद्धालाई केन्द्रविन्दुमा राख्नका लागि काउन्सिलले रचनात्मक काम गरिरहेको जानकारी दिए।
कार्यक्रममा सगरमाथा आरोहण गर्ने पहिलो दक्षिण एसियाली पत्रकार आङछिरिङ शेर्पाले नेपालको हिमालहरूको अवस्था र जलवायु परिवर्तनको कारण हिमाल र हिमाली समुदायले भोग्नु परेको समस्याहरूको बारेमा बताए। जलवायु परिवर्तनकै कारण हिमालमा हिउँ नदेखिनु हिमालको हिउँ र बरफ पग्लेर हिमनदी मार्फत तालहरू फुट्नाले जनजीवनमा असर पर्न थालेको उनले बताए।
कार्यक्रममा सामाजिक अभियन्ता जितमान बस्नेतले पर्यटन विकास भए मात्र नेपालको समुन्नति हुने र त्यसका लागि हिमाल जोगाउने अभियानलाई सबैले साथ दिनुपर्ने बताए।
कार्यक्रमका अर्का वक्ता डा. कृषि वास्ताकोटीले नेपाल सम्पदा र सुन्दरताका हिसाबले विश्वमै उत्कृष्ट रहेकोले त्यसलाई बचाइरहनु सबैको दायित्व रहेको बताए।
कार्यक्रममा एनसिएनसीका अध्यक्ष डा.विकास शाक्य, आरम्भ पुस्तकालयका संस्थापक मेघा बस्नेत, डा.चिरञ्जिीवी भट्टराई, प्राध्यापक भोजराज गौतम, पेशल पोखरेल, भीमप्रसाद तिमिल्सिना, रामसुन्दर हाडा, एनसिएनसीका पूर्व अध्यक्ष आरपी पौडेल, पर्यटन व्यवसायी सुरज ढकाल, डिंमा पाख्रिन, मोहन न्यौपाने, कल्पना घिमिरे, आरम्भ पुस्तकालयका सदस्य शिव बस्नेतसहितले वातारण जोगाउन निकायले गर्नुपर्ने कामबारे विभिन्न सुझाव राखेका थिए।
कार्यक्रममा जलवायु परिवर्तनका कारण नेपालका खुम्बुहिमश्रृंखला, हेलम्बु, मेलम्ची, मनांग, मुस्तांग, डोल्पासहितमा परेको असर समेटेर साथसाथै फाउण्डेशनले बनाएको वृत्तचित्र भ्वाइस् फर क्लाइमेट जस्ट्सि प्रदर्शन गरिएको थियो। उक्त वृत्तचित्रको लेखन, निर्देशन काउन्सिल अध्यक्ष बस्नेतले गरेका हुन्।
प्रतिक्रिया दिनुहोस !