पहाडी जंगलमा पुँडेकुदो

पहाडी जंगलमा पुँडेकुदो

पूर्वी पहाडका गाउँघरतिर पुँडेकुदो भनेर चिनिने विश्वकै दुर्लभ वन्यजन्तु रेडपाण्डा ‘हाब्रे’का रूपमा पनि परिचित छ। दुर्लभ, लजालु र हेरौं हेरौं लाग्ने सुन्दर प्राणी रेडपाण्डा नेपालका जंगलमा पाइन्छन्। यसलाई मानिसहरू हेरेरै मजा लिन चाहन्छन्। शान्त स्वभावको यो प्राणी जंगलमा आफ्नै सुरमा भेटिन्छ। बाँस प्रजातिको निगालोको टुसा चपाएर बसेको र रुखका टोड्कातिर खेलिरहेका अवस्थामा देख्दा मानिसहरूले यसलाई खुबै मजाले अवलोकन गर्छन्। वन्यजन्तुप्रेमीहरू यसको आकर्षणमा मोहित हुने गर्छन्। 

संरक्षणको पर्खाइमा रहेको रेडपाण्डा हिजोआज नेपालमा पर्यटक भुल्याउने माध्यम बन्दै गइरहेको छ। यो प्राणीलाई पर्यटनको माध्यम बनाइनु हुन्छ या हुँदैन भन्ने विषयमा फरकफरक मतहरू छन् तर पछिल्ला वर्षहरूमा रेडपाण्डा पर्यटकका रोजाइमा छन्। रेडपाण्डाले एकान्त र सुनसान स्थान रुचाउने गरेको अध्येताहरूको भनाइ छ। एकान्त रुचाउने जनावर आसपास होहल्ला भयो भने यसको जीवनचक्रमै असर गर्ने अनुमान गरिन्छ। तथापि, नेपालमा रेडपाण्डा सरकारले संकटापन्न वन्यजन्तुको सूचीमा छ। संरक्षणका लागि ठूला परियोजनाहरू सञ्चालन गरिएको छ। पछिल्ला वर्षहरूमा संरक्षणलाई मध्यजनर राख्दै पर्यटनका माध्यमबाट आयआर्जनको आधार बनाउन थालिएको छ।

चीन र भारतपछि नेपालमा यसलाई पर्यटनमार्फत आर्थिक आम्दानीका रूपमा जबरजस्त प्रवेश गराइएको छ। रेडपाण्डा र पर्यटन विस्तारै पर्यायवाचीका रूपमा बुझ्न थालिएको छ। जंगल सफारी गर्न रुचाउने, हाइकिङ र ट्रेकिङमा रमाउने र नेचुरल फोटोग्राफीमा अभ्यस्त भएकाहरू रेडपाण्डाको खोजीमा पहाडका जगंल चहार्न उक्लिन थालिसकेका छन्। प्रकृतिप्रेमी र एनिमल लभरहरू रेडपाण्डा हेरेर आनन्द लिन सम्भावित क्षेत्रको खोजीमा भेटिने गरेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको भएता पनि यसको संरक्षण गर्न सरकारले सन् २०१९ देखि २०२३ सम्म रेडपाण्डालाई पर्यटनसँगै जोडेर विशेष संरक्षण गर्ने नीति लिएको थियो।

यस हिसाबले पनि रेडपाण्डा अब पर्यटन विकासको बलियो माध्यम बनिसकेको छ। तर संरक्षणकर्मीहरू दुर्लभ यो जन्तुलाई पर्यटनका दृष्टिकोणले मात्र हेर्न चाहँदैनन्। उनीहरू संरक्षणलाई पहिलो प्राथमिकता दिने गरेका छन्। पर्यटनको आधार मानेर अव्यवस्थित रूपमा रमिताको माध्यम मात्र बनाउन नहुने पक्षमा संरक्षण दूतसमेत रहेका अभिनेता दयाहाङ राईको भनाइ छ। रेडपाण्डा एकपटक हेर्ने रहर सबैलाई हुने भए पनि यसलाई रमिताको माध्यम बनाएर संरक्षणमा ध्यान नदिए जोखिम हुने उनको बुझाइ छ।

रुबीभ्यालीमा पहिलो पटक रेडपाण्डालाई नजिकबाट देखेको बताउने राईले प्रकृति बाँच्न र इकोसिस्टम चल्नका लागि संरक्षण पनि सँगसँगै गर्नुपर्ने सुझाव दिन्छन्। उनको भनाइमा सहमत जनाउने हो भने रेडपाण्डा संरक्षण पहिलो प्राथमिकता र पर्यटनलाई अतिरिक्त प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा संरक्षणकर्ताहरूको भनाइ छ। ‘नेपाल रेडपाण्डा सुशासन मापदण्ड’ तयार भइसकेकाले सोहीअनुसार काम गर्नुपर्नेमा रेडपाण्डा नेटकर्वका संरक्षण कार्यक्रम अधिकृत एवं अध्येता सोनाम टाँसी लामाको भनाइ छ। रेडपाण्डाले पर्यटकलाई अवश्य लोभ्याउने भए पनि संरक्षणमा पनि उत्तिकै ध्यान दिनुपर्ने र रेडपाण्डा हेर्न तयार गरिएको गाइडलाइन र आचारसंहिता पालना गर्नुपर्ने उनी बताउँछन्।

नेपालका करिब २४ जिल्लाका उच्च पहाडी क्षेत्रमा रेडपाण्डा पाइन्छ। त्यसबाहेक अन्य जिल्लामा पनि रेडपाण्डा भेटिन्छन्। रेडपाण्डा संरक्षणका लागि सन् २००७ देखि १३ जिल्लामा समुदायस्तरमा काम गरिरहेको लामाको भनाइ छ। बासस्थान विनाश, खण्डीकरण, चोरी सिकारीका कारण रेडपाण्डा थप लोप हुन नदिन स्थानीयस्तरमा सचेतनाका कार्यक्रमहरू जारी राखिएको छ। ‘आफूहरूले काम गरेका क्षेत्रमा विद्यालयस्तरमा, समुदायस्तरमा र सरकारसँग समन्वय गरेर संरक्षण गर्नुपर्छ भन्ने सचेतना गरिरहेका छौं। बासस्थान जोगाउन वृक्षरोपण, चोरी निकासी नियन्त्रणमा जागरण अभियान चलाएका छौं’, उनी भन्छन्।

रेडपाण्डाको सहवास समय र सन्तान जन्माउने समयमा बासस्थानमा स्थानीयलाई जान नदिने, चरीचरण गर्न नदिने, कुकुर लिएर हिँडडुल गर्न नजाने र बासस्थान क्षेत्रमा होहल्ला गर्न नहुने संरक्षणकर्ताहरूको भनाइ छ। समुन्द्र सतहबाट झन्डै ३ हजार ६ सय मिटर उचाइमा रेडपाण्डा बढी पाइन्छन्। त्यही भएर चिसो मौसम र रमणीय जंगलमा रमाउन पर्यटकहरू रेडपाण्डाको खोजीमा घण्टौं बिताउन थालेका छन्। कतिपय एजेन्सीले आफ्नो आईटीनरीमा रेडपाण्डा समावेश गर्ने गरेका छन्।

पर्यटन र रेडपाण्डाको साइनो : आफ्नै सौन्दर्यले मोहित पार्ने रेडपाण्डा हेर्न रुचाउने भनेको जंगल सफारी गर्ने पर्यटक, वन्यजन्तुविज्ञ, चराविज्ञ, एनिमल लभर र प्रकृतिप्रेमी हुन्। रेडपाण्डा हेर्न जंगल छिर्नेहरूले सयौं प्रजातीका चराहरू, वनैभरि फुल्ने चाँप, लालीगुराँस, बासनादार जडीबुटी, घमाइला फाँटहरू, छिनछिनमा बदलिरहने मौसम र हिउँदको हिउँ र वर्षात्को झरीमा रमाउन पाउँछन्।

रेडपाण्डालाई माध्यम मानेर पर्यापर्यटनको अवधारणा डेढ दशकअघि इलाममा तयार भएको थियो। अमेरिकी खोजकर्ता ब्राइनले इलामको उत्तरी भेगका जंगलमा लामो समय अध्ययन गरेपछि स्थानीयलाई संरक्षण र पर्यटनतर्फ आकर्षित गराएका हुन्। उनले संरक्षणको महत्व सामुदायिक वनकर्मीलाई बुझाउने र स्थानीयलाई संरक्षणमा उत्प्रेरित गराउने काम गरेपछि मानिसमा पर्यटनप्रति झुकाव बढेको मानिन्छ। सन् २०१० मै चोयाटार सामुदायिक बन उपभोक्ता समितिअन्तर्गतको चोयाटार रेडपाण्डा पर्यटन व्यवस्थापन समूहले पर्यटन व्यवस्थापन सहयोगी पुस्तिका नै तयार गरेर रेडपाण्डा पर्यटनको आकर्षण हो भन्ने विषयलाई पुष्टि गरिसकेको छ।

चोयाटारकै सिको गर्दै रेडपाण्डा पाइने देशका विभिन्न पहाडी क्षेत्रमा पर्यटनको अवधारणा विकास गरेको पाइन्छ। रारा जाने मूलबाटोमा पर्ने जुम्लाको पटमारा गाउँमा पर्यापर्यटन र रेडपाण्डा संरक्षणमा स्थानीयले अभियान नै चलाएका छन्। ‘हातेमालो नेपाल जुम्ला’ले नमुनाका रूपमा पट्मारा गाउँका ६ घरलाई होमस्टेमा रूपान्तरण गर्दै रेडपाण्डा पर्यटनको गन्तव्यको रूपमा विकास गर्न खोजेको देखिन्छ। पटमारा प्राकृतिक सौन्दर्यका हिसाबले अब्बल भएकाले उक्त क्षेत्रको महारुद्ध र सलिनधारा सामुदायिक वनमा रेडपाण्डा हेर्न पर्यटक आकर्षित गरेको पाइन्छ।

रेडपाण्डाको संरक्षण गर्दै पर्यापर्यटन प्रवद्र्धनका स्थानीयवासी एकजुट भएका पनि छन्। म्याग्दीको धौलागिरि गाउँपालिका–लुलाङको जलजलास्थित जंगलमा रेडपाण्डा भेटिएपछि त्यहाँ पनि उस्तै किसिमको आकर्षण देखिन थालिसकेको छ। कालीकोटको शुभकालिका गाउँपालिका–६ हाउडीलेक, गोसाइँकुण्ड धार्मिक मार्गअन्तर्गत चोलाङपाटी क्षेत्रको जंगलमा पनि रेडपाण्डा भेटिन थालेपछि घुमन्तेहरूको नजर परिसकेको छ। धादिङको उत्तरी वस्ती तिप्लिङलगायतका जंगलमा रेडपाण्डाको बासस्थान रहेको सुइँको पाएका स्थानीयले पर्यटक आकर्षित गराउने विभिन्न योजना बनाइराखेका छन्।

गोसाइँकुण्ड तीर्थ गर्न जाने हिन्दु एवं बुद्ध धर्मावलम्बी र हिमाली प्रकृतिको छटा अवलोकन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकसमेतले यात्राको क्रममा रेडपाण्डा अवलोकन गर्ने गरेका छन्। रेडपाण्डासँग पर्यटनसँगको साइनो विविध रूपमा गासिँदै गएको रसुवाकै स्याफ्रुदेखि क्यान्जिनसम्मको पदमार्गबाट थप प्रस्ट हुन्छ। यसअघि लाङटाङ पदमार्गको रूपमा परिचित सो मार्गलाई डा. प्रल्हाद योञ्जन रेडपाण्डा पदमार्ग घोषणा गरिएको छ। जसले रेडपाण्डा पर्यटनका लागि उपयुक्त आधार हो भन्ने बुझ्न सकिन्छ। इलाम, पाँचथर, ताप्लेजुङ, पश्चिम नेपालका कालीकोट, जुम्ला, डोल्पा, रोल्पा, जाजरकोट, रुकुमपूर्व र रुकुमपश्चिममा रेडपाण्डा र पर्यटनबीच व्यावसायिक सम्बन्ध स्थापित बन्दै गइरहेको छ।

कोशीका पहाडी जिल्ला धेरैको रोजाइ : नेपालमा पहिलो पटक रेडपाण्डालाई पर्यटनसँग जोडेर विकास गरिरहेको कोशी प्रदेशका पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङका कतिपय लेकाली जंगलहरू पर्यटकहरूको ‘भर्जिन ल्यान्ड’मा रूपमा विकसित हुँदै गएका छन्। रेडपाण्डाको संरक्षणमा जुटेका स्थानीयकै अगुवाइमा रेडपाण्डा र पर्यटनलाई विविधीकरण गरिएको छ। रेडपाण्डाको संरक्षण गर्न र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गत वर्षको चैत्र अन्तिम साता इलामको सन्दकपुर गाउँपालिकाले नेपालमा पहिलोपटक रेडपाण्डा महोत्सव नै आयोजना ग¥यो।

रेडपाण्डाको माध्यमबाट पर्यापर्यटनको प्रवद्र्धन हुँदै आएको उक्त क्षेत्रमा भएको महोत्सव दक्षिण एसियाली मुलुकहरूकै लागि नमुनाका रूपमा मानिएको छ। केचना कञ्चनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार द्यौरालीले लोपोन्मुख वन्यजन्तुको अध्ययन अवलोकनका लागि विश्वभरका अध्ययनकर्मी, पर्यटकको आकर्षण बढाउन महोत्सव गरिएको बताउँछन्। ‘महोत्सव रेडपाण्डा हेर्नमात्र नभई, यसका माध्यमबाट उक्त क्षेत्रको प्रवद्र्धनात्मक यात्रा गर्दै अन्य स्थलको प्रचार गर्नु पनि हो।

रेडपाण्डा र उनीहरूको प्राकृतिक बासस्थानको संरक्षण तथा अवैध चोरी सिकारी नियन्त्रणसहितका विषयमा सचेतना अभिवृद्धिको प्रमुख उद्देश्यसहित अन्य कार्यक्रम पनि आयोजना भइरहेका छन्। नेपालका २४ जिल्ला यो जन्तु फेला परेको भए पनि करिब ३५ जिल्लाका पहाडी भेग रेडपाण्डाको बासस्थानका रूपमा मानिएको छ। जहाँ पर्यापर्यटन र रेडपाण्डाको सम्बन्धलाई प्रगाढ बनाउँदै लगिएको छ। ताप्लेजुङमा अन्तर्राष्ट्रिय रेडपान्डा ट्रेल म्याराथन प्रतियोगिता नै आयोजना गरियो। रेडपाण्डा र पर्यटनलाई सँगसँगै अघि बढाउन नेपाल पर्यटन बोर्डले इलाममा रेडपाण्डा टे«लको अवधारणा अघि सारेको नेपाल पर्यटन बोर्डका प्रवक्ता मणिराम लामिछाने बताउँछन्। अन्य स्थानमा पनि विभिन्न परियोजना तयार गरिएको उनको भनाइ छ।

यसको संरक्षण कार्यक्रमअन्तर्गत खोटाङमा त रेडपाण्डाको चित्रअंकित ऊनको टोपी उत्पादन सुरु गरी त्यसलाई पर्यटकहरूलाई चिनोका रूपमा बिक्रीसमेत गर्न थालिएको छ। खोटाङको रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा रेडपाण्डा अंकित टोपी उत्पादन भइरहेको छ। सोही नगरपालिकाले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’का अवसरमा रेडपाण्डा र थार महोत्सव गर्ने घोषणा नै गरिसकेको छ। ‘मुन्दुम ट्रेल पर्यटकका लागि भर्जिन गन्तव्य भएकाले यसअन्तर्गत प्रशस्त रेडपाण्डा हेर्न पाइन्छ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)ले सन् १९९६ मा रेडपाण्डालाई संकटापन्न जीवको सूचीमा राखे पनि २००७ पछिमात्र यसलाई संरक्षण र पर्यटनसँग जोड थालिएको पाइन्छ। उच्च पहाडी क्षेत्रको दुई हजारदेखि ४८ सय मिटरमा पाइने बिरालो प्रजातिको लजालु स्तनधारी यो जन्तु हेर्न मानिसको भीड बढ्ने क्रम बर्सेनि बढिरहेको छ। विश्वकै दुर्लभ र आकर्षक वन्यजन्तु रेडपाण्डा पर्यटकको मुख्य आकर्षक बन्दै जानुको पछाडि स्थानीयवासीको जागरण प्रमुख मानिन्छ। वन्यजन्तु र चराहरूको दृश्यावलोकनमा रमाउन चाहने विश्वका विभिन्न देशबाट पर्यटकलाई आकर्षित गराउने भूमिकामा इलाम, पाँचथर र ताप्लेजुङवासीको महत्वपूर्ण भूमिका रहेको पाइन्छ।

रेडपाण्डाको चरन क्षेत्रसम्म पुगेर जंगल यात्रा गर्नेहरूले बेग्लै आनन्द लिइरहेको पाइन्छ। इलामकै सन्दकपुर गाउँपालिकास्थित चोयाटार, हाँगेथाम, आहालभन्ज्याङ, कैयाकट्टा, दोबाटे, छिन्टापु, टप्पु, अधिकारीबास वन क्षेत्रमा पर्यटकहरू प्रकृतिसँग रमाउँदै घुमफिर गरिरहेको देख्न सकिने रेडपाण्डा संरक्षण र प्रवद्र्धनमा जुटेका सञ्चारकर्मी सुजन तिमल्सिनाको भनाइ छ। ‘विश्वका चर्चित वाइल्डलाइफ फोटोग्राफरहरू पनि आउने गर्नुहुन्छ’, भन्छन्, ‘इलामको सूर्योदय नगरपालिका–१ को थुम्के, माईजोगमाई गाउँपालिकाको आहालभन्ज्याङ, सन्दकपुर गाउँपालिकाको टप्पु, छिन्टापु, दोबाटे, कैयाकट्टा, जौबारी, गैरीबास र चोयाटार क्षेत्रमा रेडपाण्डा पाइन्छ।’

हलुका रातो, सेतो र कालो रंगमा पाइने रेडपाण्डा रुखको काप र खबटामा बस्ने भएकाले पर्यटकहरू जंगल फन्को लगाइरहेका हुन्छन्। यसका लागि रेडपाण्डाको दिसा, हिँड्दा बन्ने डोब, मोहोडाका आधारमा वासस्थान पत्ता लगाउँदै जंगलमा मजा लिनेहरूको भीड देख्ने गरिन्छ। वास्तवमा यो दुर्लभ प्राणीको संरक्षणमा रेडपाण्डा नेटवर्क साथै स्थानीय सरकारले विशेष चासो दिइरहेको छ। स्थानीय सरकारहरूले संरक्षण र पर्यटन दुवैलाई मध्यनजर राखेर बजेट विनियोजन गर्ने, योजना बनाउने र प्रवद्र्धनका कार्यक्रम गरिरहेका छन्। विश्वमा एक हजारको हाराहारीमा रहेको र संकटापन्न सूचीमा राखिएको यो जनावर चीन, भारत, भुटान र बर्मामा मात्र पाइने बताइन्छ।

नेपालमा यसको गणना गरिएको छैन। गैंडा, बाघलाई जस्तो गणना गर्न असम्भव हुने अध्येता लामा बताउँछन्। ‘यसको गणना उसले गर्ने दिशाका आधारमा हो। त्यसको ल्याबटेस्टका आधारमा गर्ने हो। यस्तो प्रक्रिया नेपालमा सुरुआतको तयारी भइरहेको छ’, उनी भन्छिन्। रेडपाण्डाको दुई प्रजाति–हिमाली र चाइनिज हुन्। त्यसमध्ये नेपालमा पाइने हिमाली प्रजातिमा मात्र भएको र यसको संख्या ६ सयदेखि हजारको बीचमा हुन सक्ने उनले जानकारी दिए।

गाइड लाइन पालना जरुरी : रेडपाण्डा संरक्षण प्रमुख प्राथमिकतामा राखेका केही संस्था र स्थानीय समुदायले पर्यटकका लागि अलग्गै गाइडलाइन नै बनाउने गरेका छन्। यसको सुरुआत सन् २०१० मै इलामको चोयाटार रेडपाण्डा पर्यटन व्यवस्थापन समूह र चोयाटार सामुदायिक वन उपभोक्ता समितिले यस्तो अभ्यास सुरु गरिसकेको छ। यसका लागि रेडपाण्डा नेटवर्कले सहजीकरण गर्ने गरेको छ।

जसमा पर्यटकको स्वागत तथा बिदाइ, सूचना आदान–प्रदान, सरसफाइ, होमस्टे तथा खानाको व्यवस्थापन, भ्रमणको सूची, सूर्योदय एवं चरा अवलोकन, गाउँ भ्रमण आदि समेटिएको छ। त्यस्तै, सञ्जाल निर्माण तथा समन्वय, बजारीकरण, अनुगमन, जैविक विविधता संरक्षण, आर्थिक व्यवस्थापन प्राथमिकतामा राखिएको छ। सरकारले ‘नेपाल रेडपाण्डा सुशासन मापदण्ड’ नै बनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.