नेपालमा परीक्षण भएका ९ उत्पादनलाई सिधै निर्यात गर्न भारतको अनुमति
काठमाडौं : नेपालको प्रयोगशालामा परीक्षण गरिएका ९ उत्पादनलाई भारतले मान्यता प्रदान गर्ने भएको छ। खाद्य प्रविधि र गुणस्तर नियन्त्रणले जाँच गरेका ९ उत्पादनहरूलाई भारतले मान्यता दिएको हो। अब ती उत्पादनहरू नेपालमै परीक्षण गराएर भारत निर्यात गर्न पाइने भएको छ।
भारतको खाद्य सुरक्षा र मापदण्ड प्राधिकरण (एफएसएसएआई)द्वारा राष्ट्रिय खाद्य र फीड सन्दर्भ प्रयोगशाला (एनएपएफआरएल)लाई खाद्य नमूनाको परीक्षण गर्नका लागि आधिकारिक रूपमा मान्यता दिएको हो। यसअनुरूप अब काठमाडौंस्थित खाद्य प्रविधि र गुणस्तर नियन्त्रण विभागले जारी गर्ने विश्लेषण प्रमाणपत्रलाई भारतको खाद्य संस्थानले नेपालबाट गएका बस्तुलाई सिधै स्वीकृत गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजिव कुमार कर्णले बताए। यसअघि नेपाली व्यवसायीहरूले उत्पादन परीक्षणका लागि भारत धाउनुपर्ने समस्या पनि हट्ने उनको विश्वास छ।
'यस अगाडि नेपालमा उत्पादित ती वस्तुहरूलाई भारतको लखनउ, कोलकत्तालगायत स्थानमा परीक्षण गर्नुपर्थ्यो। भारतको एफएसएसएआईले त्यसको विश्लेषण गरेर निर्यातको अनुमति प्रदान गर्थ्यो। अब त्यो झन्झटिलो हट्ने भएको छ। अब नेपालकै प्रयोगशालामा गरिएको परीक्षणलाई भारतमा निर्यात गर्न एफएसएसएआईले मान्यता दिनेछ,' महानिर्देशक कर्णले अन्नपूर्णसँग भने।
नेपालमा उत्पादन हुने जुस, जाम, जेली, अचार, चिनीका सामग्री, अदुवा, ताजा फलफूल, तरकारी र इन्स्टेन्ट नूडल्सको परीक्षणलाई भारतले मान्यता दिने भएको हो। 'भारतले यी ९ प्रकारका उत्पादनलाई मान्यता दिने भनेको छ। यो वस्तुहरू उत्पादन गर्ने व्यवसायीले अब नेपालमै परीक्षण गराएर प्रमाणपत्र लिन सक्नेछन्,' उनले भने। भारतले स्वीकृत दिने भएपछि उक्त सामग्रीहरूको नेपाली निर्यातलाई प्रोत्साहन दिने व्यवसायीहरूको अपेक्षा छ।
नेपाली व्यवसायीहरूले भारतमा गएर परीक्षण गराउनुपर्ने बाध्यता हटाउन भारतीय पक्षले नेपालको प्रयोगशालाको पूर्वाधार बढाउन आग्रह गरेको थियो। भारतीय पक्षले नेपालको प्रयोगशालालाई ६ सय प्यारामिटरसम्म बढाउन आग्रह गरेको थियो। सोहीअनुसार पूर्वाधार निर्माण भएपछि भारतीय पक्षले नेपालमै परीक्षण गरिएको प्रमाणलाई मान्यता दिन राजी भएको महानिर्देशक कर्णको भनाए छ।
'भारतीय पक्षले आधुनिक प्रयोगशाला निर्माणका लागि नेपालमै पूर्वाधार जुटाउन आग्रह गरेको थियो। नेपालले त्यो पूर्वाधार अहिले आफैं विकसित गरेको छ। भारतले गर्नसक्ने परीक्षण अब नेपालकै प्रयोगशालामा गर्न सकिन्छ,' उनले भने।
प्रतिक्रिया दिनुहोस !