वार्ता एक्लाएक्लै, सम्बन्धमा न्यानोपन

ओली–मोदी वार्ता : भेट ‘सौहार्द र फलदायी’

सगरमाथा संवादको निम्तो

ओली–मोदी वार्ता : भेट ‘सौहार्द र फलदायी’

काठमाडौं : हुन्छ कि हुन्न भन्ने संशयलाई तोड्दै प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार बैंककमा अत्यन्त सौहार्दपूर्ण वार्ता भएको छ । यसले दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाएको दुवै प्रधानमन्त्रीले व्यक्त गरेका छन् । 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलन सकिएपछि भएको साइडलाइन वार्तालगत्तै दुवैले प्रसन्नता जनाउँदै ट्विट गरेका छन् । मोदीसँगको फोटोसहित प्रधानमन्त्री ओलीले ट्विटरमा लेखेका छन्, ‘मित्र भारतीय प्रधानमन्त्री मोदीजीसँग आत्मीय र सौहार्दपूर्ण भेट भयो । हाम्रो वार्ता अत्यन्त सार्थक र सकारात्मक रह्यो । यस आत्मीय भेटवार्ताप्रति म खुसी व्यक्त गर्दछु ।’ 

भारतीय प्रधानमन्त्री मोदीले पनि दुई देशको सम्बन्ध बलियो भएको विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले पनि फोटोसहित सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै सकारात्मक परिणामका विषयमा कुरा भएको बताएका छन् । उनले लेखेका छन्, ‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो ।

भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ । हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेषगरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा छलफल गर्‍यौं । हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू विशेषगरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्‍र्यौं ।’ प्रधानमन्त्री ओलीले हिन्दी र प्रधानमन्त्री मोदीले नेपाली भाषामा समेत ट्विट गरेका छन् । 

सम्बन्ध ‘थप मजबुत’
भेटवार्तामा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक, धार्मिक र जनस्तरको सम्बन्धमा आधारित पारस्परिक सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता गरिएको छ । दुवै नेताबीच व्यापार, सीमापार यातायात, ऊर्जा सहकार्य तथा विकास परियोजनालगायतका द्विपक्षीय सहयोगका विषयमा विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा सकारात्मक र राम्रो कुराकानी भएको भेटपछि सञ्चारमाध्यमलाई छोटो प्रतिक्रिया दिएका थिए । 

उनले भने, ‘म र भारतीय प्रधानमन्त्री मोदीजीबीच राम्रो र सकारात्मक संवाद भएको छ । अहिलेलाई यत्ति ।’ थाइल्यान्डको बैंककस्थित होटल माडारिन ओरियन्टलमा प्रधानमन्त्री ओलीको भारतीय प्रधानमन्त्री मोदीसँग करिब आधा घण्टा भेटवार्ता भएको थियो । भेटमा भारतीय प्रधानमन्त्री मोदीले नेपालका विकास लक्ष्यप्रति भारतको समर्थन दोहोर्‍याउँदै जलविद्युत्, पूर्वाधार र पर्यटन क्षेत्रलाई प्राथमिकता दिँदै सहकार्य अझै विस्तार गर्ने कुरामा जोड दिएका थिए । भेटमा प्रधानमन्त्री ओलीले भारतको निरन्तर सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आपसी सम्मान र हितमा आधारित सम्बन्धलाई मजबुत राख्नु आवश्यक रहेको बताएका थिए । उनीहरूबीच नेपाल–भारत सरकारद्वारा सञ्चालित विभिन्न साझेदारीका विषयमा पनि समीक्षा गरिएको थियो । भ्रमण दलमा रहेका एक सदस्यका अनुसार भेटको अन्तिममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिएका छन् । 

प्रधानमन्त्री ओली र मोदीबीच साइडलाइन वार्ताका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विशेष पहल गरेकी थिइन् । उनले भारतीय समकक्षी एस जयशंकरसँग गरेको बारम्बारको पहलपछि ओली र मोदीबीचको भेट सम्भव भएको थियो । 

सगरमाथा संवादको निम्तो
भेटमा प्रधानमन्त्री ओलीले जेठमा हुने भनिएको ‘सगरमाथा संवाद’ कार्यक्रमको प्रमुख अतिथिका रूपमा आतिथ्यता गरिदिन समकक्षी मोदीलाई निमन्त्रणा गरेका छन् । उनले जलवायु परिवर्तनका सबालमा उक्त कार्यक्रम नेपालका लागि अपरिहार्य रहेको भन्दै त्यसलाई सफल बनाउन मोदीसँग आग्रह गरेको परराष्ट्र स्रोतले जानकारी दिएको छ । 

परराष्ट्रमन्त्री राणाले यसअघि नै प्रधानमन्त्री मोदीलाई सगरमाथा संवादको प्रमुख अतिथिको निमन्त्रणा दिइसकेकी थिइन् । चैतको पहिलो साता नयाँ दिल्ली भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री एस जयशंकरमार्फत उक्त निमन्त्रणा दिएकी हुन् । यद्यपि त्यसबेला भारतीय पक्षले मोदी आउने नआउने विषयमा निधो दिएको थिएन ।

प्रधानमन्त्रीले गरेको निमन्त्रणाका विषयमा पनि भारतीय समकक्षी मोदीले विशेष चासो दिएको भ्रमण दलकै एक सदस्यले बताए । उनले भने, ‘भारतीय प्रधानमन्त्रीले सगरमाथा संवाद कार्यक्रमका विषयमा विशेष चासो लिनुभएको थियो । उहाँले कार्यक्रममा सहभागिताका विषयमा दिल्ली पुगेर यस विषयमा तालिका हेरिने कुरा गर्नुभयो । यति गम्भीर विषयमा नेपालले सगरमाथा शिविरमा गर्न लागेको कार्यक्रमको प्रशंसा गर्दै जलवायु परिवर्तनमा देखिएको प्रभावका विषयमा आफू गम्भीर रहेको बताउनु भएको थियो ।’ 

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच यसअघि गत असोज ६ गते न्युयोर्कमा भेटवार्ता भएको थियो । अहिलेको भेट दोस्रो पटक हो । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिग अमेरिका गएका बेला प्रधानमन्त्री ओली र मोदीबीच करिब आधा घण्टा ‘साइडलाइन वार्ता’ भएको थियो । परराष्ट्रमन्त्री राणाको विशेष पहलमै ओली र मोदीबीच न्युयोर्कमा भेटवार्ता हुन सम्भव भएको थियो ।

वार्ता एक्लाएक्लै, सम्बन्धमा न्यानोपन

दुई प्रधानमन्त्रीबीच एक्लाएक्लै वार्ता हुनुलाई उच्च महत्वका रूपमा लिइएको छ । प्रधानमन्त्री ओलीको भ्रमण दलमा रहेका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ओली र मोदीबीच ‘वान अन वान’ वार्ता भएको उल्लेख गरेका छन् । null

रिमालले भेटपछि सामाजिक सञ्जालमा यस्तो लेखेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीबीच भेटवार्ता सम्पन्न भयो । उहाँहरूबीचको आत्मीय र सौहार्दपूर्ण भेटवार्ता अत्यन्त सार्थक र सकारात्मक रह्यो । दुई प्रधानमन्त्रीको मात्र उपस्थितिमा (वान–अन–वान) भएको यस भेटवार्तालाई प्रधानमन्त्री ओलीले आत्मीय बताउँदै खुसी व्यक्त गर्नुभएको छ ।’

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले ओली र मोदीको भेटलाई ‘ऐतिहासिक र सभ्यताको सम्बन्धको बलियो जगमा आधारित मित्रता’ भनेका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि ओली र मोदीको भेटपछि दुई देशबीचको सम्बन्ध झनै सुधारिएको र मित्रता मजबुत भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘दृढ र अविचलित हुँदा पनि सम्बन्धलाई सुधार गर्न सकिन्छ र मित्रतालाई थप मजबुत बनाउन सकिन्छ भन्ने दृष्टान्त हो, नेपाल र भारतका प्रधामन्त्रीबीचको संवाद र संवादपछिको दुवै देशका प्रधानमन्त्रीहरूको सकारात्मक र उत्साहप्रद प्रतिक्रिया । छिमेकीहरूबीचको परस्परको विश्वास, समझदारी र सहकार्यका माध्यमबाट क्षेत्रीय शान्ति र त्यसका माध्यमबाट आर्थिक समृद्धि अबको बाटो हो भन्ने कुराले नै भविष्यमा एसिया पुनः विश्व सभ्यताको केन्द्र बन्न सफल हुनेछ । बधाई छ दुवै देशका अनुभवी प्रधानमन्त्रीहरूलाई ।’ 

भारतका लागि पूर्वराजदूत नीलाम्बर आचार्यले बैंककमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीचको भेटले सम्बन्धको नयाँ बाटो खुलेको बताए । आचार्यले दुई देशबीच चिसोपना भएता पनि त्यसको संकेत हटेर न्यानोपनाको बाटोमा लैजाने आधार दिएको बताएका हुन् । ‘दुई प्रधानमन्त्रीबीचमा वार्तापछि देखिएको खुसीले पनि केही नयाँ बाटाहरू खोल्दै जानेछ भन्ने बुझिन्छ । दुवै देशबीच चिसोपना हटेर न्यानोपन ल्याउने विश्वास गरिन्छ,’ उनले भनेका छन् ।

यो पनि पढ्नुहोस

'समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोरुपमा प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.