ग्रामथानमा अध्यक्षको मनपरी, वडाध्यक्षलाई कार्यवाहक दिने निर्णयमा अदालतको अंकुश

ग्रामथानमा अध्यक्षको मनपरी, वडाध्यक्षलाई कार्यवाहक दिने निर्णयमा अदालतको अंकुश

विराटनगर : मोरङको ग्रामथान गाउँपालिकामा वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिने निर्णयमा अदालतले अंकुश लगाएको छ। उपाध्यक्षलाई बेवास्ता गर्दै वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर गाउँपालिका अध्यक्ष नमोनारायण माझी चीन भ्रमणमा गएका छन्। उनले आफ्नो अनुपस्थितिमा वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए। उक्त निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले बिहीबार आदेश दिएको छ। 

पछिल्लो समय मनपरी ढंगले चलिरहेको आरोप ग्रामथानका अध्यक्षमाथि लाग्ने गरेको छ। उपाध्यक्ष गुणवतीदेवी थारूले आफू उपाध्यक्ष हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक दिने निर्णयविरुद्ध उच्च अदालत विराटनगरमा बुधबार रिट दायर गरेकी थिइन्। रिटको सुनुवाइ गर्दै कायम मुकायम मुख्यन्यायाधीश ध्रुवराज नन्दको इजलासले वडाध्यक्षलाई कार्यवाहक दिने गाउँपालिका अध्यक्षको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।

गाउँपालिका अध्यक्ष माझीले ग्रामथान-३ का वडाध्यक्ष रमेशकुमार भगतलाई सोमबार कार्यवाहकको जिम्मेवारी दिएका थिए। ९ दिनका लागि कार्यवाहक दिएर उनी चीन गए। उपाध्यक्ष भने अध्यक्षको निर्णयविरुद्ध उच्च अदालत पुगिन्। 

‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को कार्यपालिकाको कार्यविभाजन र कार्यसम्पादन भन्ने व्यवस्थाअन्तर्गत उपदफा (४) को (क)मा अध्यक्ष वा प्रमुखको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ भन्ने प्रावधानको देहाय (१२) मा सातदिन भन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने भन्ने समेतको व्यवस्था गरेको र सोही दफा १६ (४) को देहाय (ख) (२) मा अध्यक्ष वा प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने भनी उपाध्यक्षको काम कर्तव्य र अधिकार तोकिएको पाइयो,’ आदेशमा भनिएको छ, ‘उल्लेख गरिएको कानुनी व्यवस्थाको आधारमा स्थानीय तहका निर्वाचित प्रतिनिधिले आफ्नो काम कर्तव्य र अधिकारको असल नियतले प्रयोग र पालना गर्नुपर्ने देखिन्छ।’

रिट निवेदक गाउँपालिकाको उपाध्यक्षको पदमा वहाल रहिरहेको अवस्थामा निजले प्रयोग गर्न पाउने अधिकारबाट वञ्चित हुने स्थिति सिर्जना भएको प्रथम दृष्टिबाट देखिँदा सुविधा सन्तुलन एवं कानुनको उचित प्रयोगको दृष्टिकोणबाट निवेदन माग बमोजिम विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गर्नुपर्ने देखिन आएको आदेशमा उल्लेख छ। 

माझी गत मंसिरको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। उपाध्यक्ष थारु नेकपा (एमाले)बाट निर्वाचित भएकी हुन्। अध्यक्ष र उपाध्यक्षबीचको सम्बन्ध राम्रो छैन। जनप्रतिनिधिबीच सम्बन्ध चिसिएपछि गाउँपालिकाको कामकारबाहीमा असर परिरहेको छ। उपाध्यक्षलगायतका जनप्रतिनिधिसँग सम्बन्ध सुधार गर्न नसकेका माझीले मनपरी ढंगबाट विवादास्पद निर्णय गरिरहेका छन्। 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.