भारतीय प्रधानमन्त्री मोदीजीसँग मैले खरो कुरा नगरेको भए हुलाकी राजमार्गको कामले गति लिने थिएन : प्रचण्ड
परासी : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोकिएको हुलाकी राजमार्गको कामलाई आफूले तिव्रता दिएको दाबी गरेका छन्। आफू प्रधानमन्त्री भएको समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग खरो कुरा नगरेको भए भारतले रोकिएको हुलाकी राजमार्गको कामलाई अघि नबढाउने उनको दाबी छ।
पार्टीले सञ्चालन गरेको हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी-तराई-मधेस जागरण अभियानअन्तर्गत बुधबार पश्चिम नवलपरासीको प्रतापपुरस्थित बेलाटारी र पाल्हीनन्दनमा आयोजना गरेको खबरदारी जनसभामा प्रचण्डले सो दाबी गरेका हुन्।
वर्षौंदेखि लथालिङ्ग भई काम अगाडि बढ्न नसकेको हुलाकी राजमार्गको कामलाई आफू दोस्रो पटक प्रधानमन्त्री भएपछि अघि बढाएको उनको तर्क थियो। त्यतिबेला आफूले भारतले नबनाए नेपालले हुलाकी राजमार्ग बनाउने बताएपछि भारतले चासो दिएको उनको भनाइ छ। 'भारत भ्रमणका क्रममा मैले नरेन्द्र मोदीजीसँग खरो कुरा गरे। हुलाकी राजमार्ग भारत सरकारले गर्ने समझदारी छ, तपाईँहरू बनाउनुहुन्छ कि म नेपालकै बजेटबाट काम सुरु गरौं भने। मोदीजीले तपाईँहरू अघि बढ्नुस् भन्नुभयो। भारत भ्रमणपछि मैले २०७३ सालमा सिरहाको बरियारपट्टीबाट शिलन्यास गरेपश्चात काम सुरु भएको हो,' उनले भने।
आफूले सुरु गरेको कामले अहिले तिव्रता पाएको बताउँदै उनले अहिलेसम्म साढे ३ सय किलोमिटर हुलाकी सडकको काम सकिएको र केही बाँकी भएकाले त्यसलाई पनि समयमा सम्पन्न गराउनका लागि आफूले दबाब दिने बताए।
उनले सरकार बेथिति र भ्रष्टाचारतर्फ उन्मुख भएको आरोप लगाउँदै भ्रष्टचारीहरूलाई उदांगो पार्न पनि यो अभियान सञ्चालन गरेको बताए। जनसभालाई सम्बोधन गर्नुअघि अध्यक्ष प्रचण्डले मुक्तिनाथ पिठाधिश्वर कमलनयनाचार्यले स्थापना गरेको त्रिवेणीस्थित गजेन्द्र मोक्षधामको दर्शन र अवलोकन गरेका थिए।
माओवादीका नेताहरू नन्दकिशोर पुन, कृष्णबहादुर महरा, अग्नि सापकोटालगायतका केन्द्रीय टोली लिएर मंगलबार राति पश्चिम नवलपरासी पुगेका प्रचण्डले बेपत्ता र जनयुद्धमा सहिद भएका परिवारका आफन्तलाई समेत भेटघाट गरेका थिए।
प्रतिक्रिया दिनुहोस !