दुग्ध उत्पादक किसानलाई अनुदान
नुवाकोट : नुवाकोटको विदुर नगरपालिकामा दुग्ध उत्पादक किसानले अनुदान पाएका छन्। नियमित रूपमा दूध उत्पादन गरिरहेका किसानलाई स्थानीय तहमार्फत दूध उत्पादक किसान प्रबर्द्धन कार्यक्रमअन्र्तगत अनुदान रकम वितरण गरिएको हो।
बागमती प्रदेश सरकारले उपलब्ध गराएको उक्त कार्यक्रमअन्तर्गतको दूधको अनुदान रकम नगरपालिकाले वितरण गर्न सुरु गरेको हो।
ग्रामीण किसानलाई दूध उत्पादनमा प्रोत्साहन गराउने उद्देश्यले अनुदान प्रदान गरिएको हो। ‘किसानलाई दूधमा प्रोत्साहन कार्यक्रम’ अन्तर्गत दैनिक कम्तीमा १० लिटरभन्दा माथि परिमाणको दूध नजिकको डेरीमा बिक्री गर्ने कृषकलाई प्रति लिटर ३ रुपैयाँ ५० पैसाका दरले प्रोत्साहन रकम हस्तान्तरण गरिएको हो।
नगरपालिकाले यस कार्यक्रमको औपचारिक सुरुवात मंगलबारदेखि गरेको छ। नगरपालिका–५ स्थित पीपलटारमा रहेको भट्ट डेरी सप्लायर्समा नियमित दूध बिक्री गरिरहेका दूध बिक्रेता कृषकलाई पहिलो चरणको अनुदान रकम हस्तान्तरण गरिएको छ।
नगरका मेयर राजन श्रेष्ठले दूध डेरीमै पुगेर अनुदानबापत प्राप्त रकम किसानलाई हस्तान्तरण गरे। उनले नगरपालिकाले किसानलाई प्रोत्साहन गर्न सुरु गरेको उल्लेख गर्दै किसान संरक्षणका अन्य कार्यक्रमसमेत सञ्चालन गरिरहेको बताए।
अनुदानबाट दुग्ध व्यवसायमा संलग्न कृषकको मनोबल उच्च भएकोे र उत्पादनमा थप सुधार हुने उपमेयर प्रभा बोगटीले बताइन्।
किसानलाई गत पुस र माघ महिनामा संकलित दूधको तथ्यांकका आधारमा अनुदान रकम वितरण गरिएको हो। अनुदान रकम हस्तान्तरण कार्यक्रममा नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, नगरपालिका—५ का वडाध्यक्ष लीलानाथ न्यौपाने, नगरपालिका—४ का वडाध्यक्ष नीलमबाबु ढुंगेललगायतले किसानको हितमा तीनै तहको सरकारले कार्यक्रमहरू सञ्चालन गरिरहेको र यसलाई नियमित गरिने बताए। सोही क्रममा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले स्थानीय सरोकारवाला र लाभग्राही कृषकसँग दूध उत्पादन, बजार व्यवस्थापन र वर्तमान समस्याका विषयमा अन्तत्र्रिmयासमेत गरेका थिए।
नगरपालिकामार्फत पहिलो चरणमा दुई महिनाको अवधि (पुस–माघ) मा लिइएको तथ्यांकको आधारमा दूध डेरीमा बिक्री वितरण गरिरहेका १८ किसानलाई अनुदान दिन सुरु गरिएको हो। किसानले पहिलो चरणमा एकै दिन एकै जनाले २ हजार ६५ देखि १४ हजार ७ सय रुपैयाँसम्म दूधको अनुदान लिएका छन्।
नगरपालिका— ५ पीपलटारमा मात्र दुई सय जना दुग्ध उत्पादक किसान रहेका छन्। नगरपालिकामा रहेका ९ वटा डेरीमा आबद्ध किसानले यस वर्ष दूधको अनुदान रकम पाउने भएका छन्।
प्रतिक्रिया दिनुहोस !