चैलेको आँगनमा पहिलो पाइला

चैलेको आँगनमा पहिलो पाइला

दक्षिणतिर पूरै सेताम्य देखियो नीलगिरि। हात तन्काए चुचुरो नै सुमसुम्याउन सकिनेजस्तो। भिरमा भेडा बत्तिए झैं गुडिरहेछ हामी चढेको मिनीबस। बस नै नअटाउने जस्तो साँघुरो बाटो छ, कालीगण्डकीको किनार। खोलाको विपरीत उत्तरतिर उक्लन खोज्दैछ हाम्रो गाडी।

रुख पात भन्नु अञ्जुलीमा अटाउने ससाना बुच्काहरू मात्र देखिन्छन्। एकातिर धवलागिरि अर्कातिर नीलगिरिले घामलाई जिस्क्याइरहेछन्। जतिसुकै चम्किए पनि बादल र कुहिरोले इन्तु न चिन्तु बन्न खोज्दैछ घाम। भर्खरकी गुदुमुने छोरीले बाबाको काँधमा चढ्दै ओर्लंदै गरे झैं चुचुरादेखि ढाडसम्मै बेरिँदै फैलँदै, ढाक्दै, हराउँदै गरिरहेछ कुहिराले।

फुस्रे पहाडहरूको माझमा फैलिएको छ, कालीगण्डकी। संसार गेरु रंगमा छ, गेरु रंगमै बगिरहेछ कालीगण्डकी। नदीको माथितिर सेताम्य उडिरहेछ, भुइँकुहिरो। कुहिराले होइन, बालुवाले बनाइरहेछ, भुइँकुहिरो।

बगर नै उठेर उड्न थालेपछि लेपसिँदै लेपसिँदै कुलेलम ठोक्दो रहेछ नदी।

‘एक पटक सुसेल्दा एक कोस बाटो नाघिन्थ्यो। अहिले मोटर पाएर मात्तियो गोडा’— दायाँ सिटमा बस्नु भएका ग्याल्जेन दाइको गुनासो थियो। भन्दै हुनुहुन्थ्यो— ‘दुःख नभोगेको ज्यान र हुरी नखेपेको रुख दह्रो हुनै सक्तैन।’

बसको त्यो धुस्नुकोचाइ यात्रा झुर लागिरहेथ्यो। नाम बस छ, बस्न नपाइने। ड्राइभर र कन्डक्टरले यात्रुलाई हेपेको र चेपेको देख्दा वाक्क दिक्क भइने। सम्झाऊँ कुटाइ खाइएला भन्ने डर। सिटमा सँगै बसेका सहयात्रीसँग दुःख सुख साटौं भने क्यासेटमा घन्किएको गीतको चर्को आवाजले कान फुट्ला भन्ने डर। पहाडी र हिमाली भेगम पैदल यात्रा नै बेस रहेछ। कमसे कम माटोसँग स्पर्श गर्न र मान्छेसँग संवाद गर्न त निष्फिक्री पाइन्छ।

माटोको सुवास चाख्न नपाउने र मान्छेको स्पर्श नपाउने हो भने यात्राको कुनै अर्थ हुँदैन।

पहाडहरूमा एक सिन्को घाँसै देखिँदैन। झन् झन् रहस्यमयी र झन्झन् रंगीन लाग्दैछन् तिनीहरू। गेरुरंगे पहाडहरू आफैंमा बहुरंग र बहुरूपी बनेर उठिरहेछन्।

कालीगण्डकी बगरभरि शालिग्राम खोज्नेहरू झुण्डझुण्ड देखिन्छन्। ठाउँठाउँ बेच्न पनि राखिएका छन्।

मुक्तिनाथतिरबाट झरेको कागखोला र उत्तर दिशाबाट आएको कालीगण्डकीको संगमस्थल नै कागबेनी हो। ‘तिब्बती शब्द ‘काक’ अर्थात् ‘खण्ड’ वा ‘अवरोध’ र नेपाली शब्द ‘बेनी’ अर्थात् ‘दुई नदीको संगम’को योगबाट ‘काकबेनी’ नाम रह्यो। पछि ‘कागबेनी’ पुकार्न थालियो’ भन्ने पढेको थिएँ। 

कागबेनी पुग्यौं हामी, घाम ओरालो लागिरहेका बेला।

प्राकृतिक रूपमा जति अलौकिक छ कागबेनी, धार्मिक रूपमा त्यत्तिकै स्तुत्य छ। हिन्दु  र बौद्ध अनुयायीहरू उत्तिकै आस्थाले सल्बलाइरहेका देखियो कागबेनीमा। कागबेनीको धार्मिक प्रसंग अथ्र्याउँछु म साथीहरूलाई– पौराणिक कालमा नीलगिरि पर्वतमा आश्रम बनाई बस्दथे काग भुसुण्डी ऋषि। उनी दैनिक कृष्णगण्डकी र कागखोलाको संगम त्यही कागबेनीमा स्नान गर्दथे। त्यसैबेला सप्तऋषिहरूले सुखपूर्वक तपस्या गर्ने ठाउँ भेटेनन् र सोध्न पुगे काग भुसुण्डीकहाँ। उनले कागबेनी सबैभन्दा पवित्र र उपयुक्त बताएपछि उनीहरू त्यही बसी तपस्या गर्न थाले।

सुनौला पहाडहरूको माझमा आँखाको नानी जस्तो, मरुभूमिको पानी जस्तो र एक्कासि भेटेको मोतीजस्तो बाँचिरहेछ कागबेनी। पूर्वतिरबाट भिरालिँदै पश्चिमतिर झरेको, दक्षिणबाट अग्लिँदै उत्तरतिर फैलिएको भूभागमा तिब्बती शैलीका आकर्षक घरहरू छन्। बीचबीचमा स्याउ, खुर्पानी र आरूका बोटहरू छन्। छेउ, कुना, उकालो, ओरालो ठूलाठूला बैंसका रुखहरू छन्। उत्तरी कुनामा फैलिएको बस्ती माझमा पुरानो दरबारको भग्नावशेष झन् झन् जीर्ण देखिँदैछ।

दक्षिणतिर ढुंगाको ठुलो पर्खालले घेरिएको भिरालो फाँट छ। कागबेनीवासीले त्यही फाँटमा आफ्नो जाँगर उमारेका छन्, मकै हुर्काएर, गहुँ उमारेर, जौ, उवा, फापर, आलु र किसिम किसिमका हरिया तरकारी सपारेर। हामी चढेको बसले बजारको शिरदेखि पुच्छरसम्म एक फन्को लगायो र मोडियो उत्तरतिर। त्यताबाट पूर्वतिर उकालो चढे मुक्तिनाथ पुगिन्छ र उपल्लो मुस्ताङ जान उत्तरतिर लाग्नुपर्छ।

कागबेनी बजार सुन्दर र सुनसान छ। २,८१० मिटर उचाइमा रहेको कागबेनीका हरेक घरका छानामा बौद्ध श्लोकहरू लेखेका लुङ्दरहरू फहराइरहेछन्। झ्याल र ढोकाहरूमा सिसा जडिएको छ तर ती सबै बन्द छन्। अत्यधिक बतास चल्ने र हिउँदभर हिउँ पर्ने भएकाले झ्याल–ढोका बन्द गर्ने चलन छ। शुष्क हावापानी, तिब्बती रहनसहन, ढुंगाका विशाल पर्खालहरू।

प्याजी रङको बख्खु र पाइन्ट पहिरेका एक हूल मान्छेहरू दक्षिणतिरबाट उकालो चढ्दै थिए। उनीहरूको हातमा माने घुमिरहेको थियो र मुख मुखले ‘ॐ मणि पद्मे हुँ’ जप्दै थिए। उनीहरू शान्तिको याचना गरिरहेका थिए। हाम्रा गुरुजीले तिनीहरू सबैलाई किचिमिची पार्ने शैलीमा गाडी दौडाए। बिचराहरू कोही कुलामा र कोही भिरमा फाल हालेर ज्यान जोगाए तैपनि तिनीहरू हाँसिरहे।

मान्छे नै उडाउला जस्तो गरेर बजोडले चलिरहेछ हावा। झन्डैझन्डै भाँचिएलान् जस्तो गरी उठ्दै नुहिँदै गरिरहेछन्, बैंसका हरिहल्ल वृक्षहरू। जन्मेदेखि नै बतासको बल थाम्दा थाम्दा हर बांगिसकेको छ बैंसहरूको। हाम्रो बस बताससँग धावा खेल्दै कालीगण्डकी र मुक्तिनाथ खोलाको संगम कागबेनी किनारमा पुग्यो। त्यहाँ भिरालो चौरमा पाँच दिदी बहिनीहरू उवा बत्ताउँदै रहेछन्।

गुरुले उवानै छरीवरी हुनेगरी बस दौडाइदिए बिस्कुन माथिबाटै। बल्ल बल्ल फलेको अन्न नासिदिएकामा हाम्रो मन कुँडियो। बाहिरपट्टि हिँडिरहेकी एउटी गोरी दिदीले बोलेको आवाज सुनियो— ‘वेट वेट, ग्रेन्स आर ग्रेटर देन गोल्ड। गुरुजीमा संवेदना शून्य। उनले बसलाई तलसम्म पु¥याए। फरक्क फर्काए फेरि कुल्चाए बिस्कुनलाई र बोले— ‘बल्ल देखिहोली झुमाले मेरो करामत।’ हामीले बुझ्यौं— तरुनीहरूलाई रबाफ देखाउन त्यसो गरेछन् उनले।

घाम निर्विघ्न वर्षिइरहेछ। तिब्बती संस्कारलाई जिउँदो बनाउन खोजिरहेछ कागबेनीले। तिब्बती शैलीका घरहरू। घरछेउछाउ र घरभित्र बाहिर कतै न कतै सजिएका बुद्ध मूर्तिहरू र दलाई लामाका तस्बिरहरू। छानाछानामा फहराइरहेका लुङ्दरहरू र गुम्बाबाट ध्वनि र प्रतिध्वनि बन्दै निस्किरहेका ‘ॐ’ मणि पद्मे हुँ’ का समवेत स्वरहरू। हर्दम असीम गुञ्जन एकत्रित गर्दै कुदिरहने हावाका नवीन झोक्काहरू– सबै सबैले मनलाई नौलो मझेरीमा धाप मार्दछन्।

​​​​​​​‘कति राम्रो गुम्बा हगी त्यो, यतैतिरको सुनौलो माटाको सुनौलो पहाड जस्तो’— म बोलें। ‘त्यो काग चोदे थुप्तेन साम्फेललिङ्ग’ गुम्बा हो मेरो दायाँतिर बस्नुभएका दाइले अथ्र्याउनुभयो। माटाले छापेका छानाका घरहरू बीचमा मौरीको रानु झैं जगधम्म बसिरहेछ गुम्बा। सयौं वर्ष पुरानो दरबार र गुम्बालाई नयाँ कलेवर दिन खोज्दैछन् कागबेनीवासीले। त्यस्तै दरबार साउदी अरेबियाको राजधानी रियादमा देखेको थिएँ मैले। दुवैमा माटाले चारैतिर झ्यालविहीन गारो बनाइएका, दुवै शत्रुबाट बच्ने उपाय अपनाएर निर्माण गरिएका, दुवै मरुभूमि प्रदेशमा। एक जाडो छल्ने नियतले र अर्को गर्मी छल्ने अभिप्रायले। तत्कालीन गृह निर्माणको अत्यूच्च नमुना देखें ती दुवै दरबारहरूमा।

पूर्वतिर उकालो लाग्यो मुक्तिनाथ जाने बाटो। पश्चिमतिर जाने बाटो भने साङ्दाला (५,११० मिटर) हुँदै डोल्पा जाने रहेछ। हाम्रो गाडी भने उत्तरतिर लाग्यो कालीगण्डकीको किनारै किनार। कहिले खोलानजिकै पुग्ने र कहिले अलिपरको बस्तीमा घुस्ने क्रम जारी छ। दक्षिणतिर ६,९४० मिटर अग्लो नीलगिरि। घरी बादलु घुम्टोले अनुहार छोप्छे, घरी घामको लेदो मुहारभरि पोतेर चम्किँदै अघि बढ्न धाप दिन्छे। उनकै नायक ७,१३६ मिटर अग्लो तिलिचो भने ठुस्सिएर लुकेको छ।

नीलगिरि साथमै छिन् मेरी। उनी मलाई हेरेर अघाउँछिन्। म उनलाई हेरेर अघाउँदिन। उनले नै डो¥याएर त्यहाँसम्म पु¥याएकी हुन् मलाई। सँगै हिँडेर संसार भुलिरहेछौं हामीले। 

हाम्रो बायाँतिरबाट दक्षिणतिर बगिरहेको नदीमा छताछुल्ल पोखिएको छ घाम। हावामा घुलिएर उडेका बालुवा कणहरूले धुलिमण्डल छ जतासुकै। पहाडभरि प्यागोडा शैलीका र शिखर शैलीका असंख्य मन्दिरहरूले मन लोभ्याउँछन्। रुखका लहरहरू छन्, झुरूपझुरूप झाडीहरू छन्, मान्छेका जुलुसहरू छन्, बथान घोडा, हात्ती, मृग र बँदेलहरू छन्। तिनीहरू न कुनै वनस्पति हुन् न कुनै प्राणी। हुन् केवल ढुंगाका विशाल आकृतिहरू। आकृति नै आकृतिको विशाल कोलाज देखिँदैछ संसार। गहिरो खोंच ओर्लेर अलिकति उकालो चढेपछि स्यानो गाउँ आइपुग्छ हाम्रो सामु। ‘ताङ्वे’ गाउँ हो यो— सहयात्री दाइले चिनाउनुभयो। मैले आइफोन खोलें। माई अल्टिच्युट एपले ३,०१९ मिटर उचाइ देखायो। चौंरी गाई र भेडाहरू छरिवरि रङ्मङ्गिएका देखिन्छन् ताङ्वे गाउँमा। गाउँमा धाराहरू प्रशस्तै देखिए। सडक छेउमै एक युवक नुहाइरहेछ। अरू दस बार युवक जिस्क्याइरहेछन् उसलाई। हाँसोको फोहोरा र गफको शृंखला चर्को बनिरहेछ। सायद नुहाउनु अचम्म मानिँदैछ त्यहाँ। ताङ्वेमा ७० जति घरहरू देखिन्छन्। घरभन्दा धेरै देखिन्छन् छोर्तेनहरू। पहाडको काखमा पहाडकै ढिस्काजस्ता फुस्रा घरहरू देखिन्छन् ताङ्वेमा। मलाई लाग्छ— पहाडमा गाउँ बसाउनु भनेको सम्भावनाका पहाडहरूलाई खोतल्नु हो।

हामी चढेको बस पुलको किनारमा रोकियो। त्यो किनारमा प्रहरी चौकी र चिया चमेना पसलहरू रहेछन्।

‘छुकसाङ बस स्टप यही हो सर। अब पैदल हिँड्नुपर्छ। सरहरू आज यहीँ बस्नुहुन्छ भने म बन्दोबस्त मिलाउँछु’— सबइन्स्पेक्टर चंख कडायत बोले। उनी जोमसोमदेखि हामीसँगै गएका थिए। उनी त्यही चौकीका रहेछन्।

‘भो, आज यता नबसौं, अलिकति पनि बाटो काट्यो भने भोलिलाई सजिलो पर्छ, बरु पारिको गाउँमा बसुँला नि हुन्न ?’— मैले खोलापारिको गाउँ देखाएँ। सारा संसार फुस्रो, सुक्खा र निर्जन देखिइरहेको बेला त्यो गाउँ भने हरियो परियो र गुचुमुच्च परेको रमणीय देखिँदैथ्यो। फक्रक्क फक्रेको जवानी जस्तो देखियो छुकसाङ गाउँ। पाटोमा तरबर्र मकै उम्रिइरहेको थियो। अलि परतिर फापरले राताम्मे देखिन्थ्यो, झन् तलतिर लहलह थियो आलुबारी। छुकसाङ देख्दा थकाइ मत्थर भयो।

‘हजुरहरू आज चैलेमै बास बसेको बेस। साँझ पर्दा त्यहाँ पुगिहाल्नु हुन्छ — कडायतजीले अलि पर एउटा सुनौलो डाँडो देखाउनुभयो। हामी झोलुङ्गेपुल तर्दै त्यतैतिर लाग्यौं।

बारीमा आलु गोड्दै गरेकी एउटी दिदीलाई सोधें— ‘दिदी यहाँबाट चैले पुग्न कति समय लाग्छ ?’

‘त्यस्तै १० मिनेट।’ दिदीको जवाफ सुनेपछि हामीलाई भने कम्तीमा डेढ घण्टा लाग्ने अड्कल साथीहरूलाई सुनाएँ। नभन्दै दुई घण्टामा मात्र त्यहाँ पुग्यौं।

गुचुमुच्च छुकसाङ गाउँबाट हिँड्दाहिँड्दै अर्को बाटो पो झरेछौं हामी। ‘भाइहरू चैले जाने भए उः त्यो बाटो जानुहोस्’— एउटी दिदीले दौडँदै आएर बाटो देखाइदिनुभयो। सही बाटो भेट्न थप १५ मिनेट घुम्नुप¥यो। धन्न, ती दिदीले नबताइदिएकी भए रातमा ठूलै हन्डर खान्थ्यौं होला हामीले कालीगण्डकीको किनारमै छ छुकसाङ गाउँ। दुईतिर अग्ला पहाडको बीचमा अलि समथर पनि छ गाउँ बसेको धरातल। दायाँबायाँ भित्ताभरि किसिम किसिमका चित्रहरू टाँसेझैं देखिन्छन् रक्तिम भू–आकृतिहरू। नीलो आकाशमुन्तिर रक्तिम पहाडहरूका बीचमा कालीगण्डकी बगर नै बगर हिँड्दैछौं। 

ज्यान थाकेको छ। तर, चैले नपुगी सुस्ताउने ठाउँ नभएकाले नरोकिई हिँड्नुपर्ने बाध्यता छ। लक्ष्यले थकाइलाई थन्क्याउँछ, जाँगरमा जोश थप्छ। घाम डुब्ने र हामीले कालीगण्डकी पुल तर्ने एकै पटक भयो। हरिया र खैरा बलौटे ढुंगा, चिप्ला र काला ढुंगाहरू, गोलढुङ्गे बालुवाको बिस्कुनले बेग्लै देखिएको छ कालीगण्डकी। त्यो गेग्र्यानयुक्त बगरमा हिँड्दा मसिना ढुंगाहरू जुधेर मरमर सुनिँदैछ बेग्लै संगीत। कतै कतै भेटिने राइसल्लाका कोणधारी रुखहरूले थपिदिँदैछन् जीवनका सुकिला आशा।

कञ्चन बगिरहेछ कालीगण्डकी। कालीगण्डकी उत्तरबाट एकै झरेकी हुन् तर त्यहाँ पुगेपछि दुई रूपमा निस्केकी छन्। एक भँगालो खुला नदी बनेर र अर्को भङ्गालो पहाड छेडेर पहाडीे मुखबाट। दुवै भङ्गाला त्यहीँ मिसिएका छन् र एकै बनेर सुरु गरेको छ एउटा अविरल यात्रा।

कालीगण्डकीलाई त्यतै छोडेर घुस्यौं हामी घना पठारको स्वच्छ र सफा चैले गाउँतिर।

कालीको किनारमा उभिँदा आँखैमा ठोक्किएला झैं देखिए माथिल्लो आकाशनेर चैलेका चार घर। उकालाका हरेक इन्चहरूमा पाइलाहरू धर्मराउँछन्। मेरै सहाराले मसँगै उचाइ चढिरहिछिन् मेरी नीलगिरि। उनको स्पर्शले मेरा सारा थकाइहरू निस्तेज बन्दैछन्। मेरो प्रेमको रापले बिस्तारै गल्दैछन् उनका निराशा र अन्यौलका बादलहरू। प्रेमिल यात्रालाई छेक्न सक्तैनन् कुनै ढुंग्यान पहाडहरूले।

कालीकिनारबाट झन्डै ४५ मिनेट उकालो चढेपछि मात्र भेटियो चैले। चैलेको आँगनमा पहिलो पाइला परेपछि अँगालोभरि तिमीलाई बाँधु जस्तो लाग्यो मलाई, नीलगिरि। त्यहाँसम्म पुगेर तिम्रो र मेरो मायाको शिलालेख पहाडभरि लेख्न पाएकामा म मनमनै नीलगिरि जत्तिकै अग्लिएको थिएँ। प्रेमको न्यानाले पूरै पग्लिइसकेको थियो हाम्रो थकाइ। त्यो आदिम एकान्तमा फुर्केर अनवरत गाइरहे संसारको सर्वोच्च प्रेमगीत, वरिपरिका पहाड, गुफा र हावाका लर्कनहरूले।

​​​​​​​आदिम एकान्तमा तिमीलाई पाउनु मेरो जिन्दगीभरिको सर्वोच्च खुसी हो भन्दै बैंसको हाँगामा छेकारो परेर च्वाप्प म्वाई खायौं तिमीले। निष्फिक्री रमाइरहेका नांगा रक्तिम पहाडहरू मनमा सारेर बिन्दास शैलीमा कयौंबेर अँगालामा कसिरहें मैले तिमीलाई। घोडा धपाउँदै उकालो चढिरहेका दाइहरूको आवाजले मात्र झसंग झस्कियौं, हामी। जुन मादकता छरेर हतारले ओर्लिइरहेथ्यो डाँडाको टुप्पाबाट। सग्लो र सुन्दर प्रेमको अमुक भाषामा रमाउन पाउनु जतिको आनन्द अरू के नै हुन सक्छ र जीवनमा ?

निधारमुन्तिर चनाखो बनेर चम्किएको आँखो जस्तो रहेछ चैले। माथितिर सुनौला पहाडहरू छन्, पारितिर र वरिपरि राताम्य पहाडहरू छन्। बारीका हरिया पाटाहरू, भोटे पीपलका चहकिला झ्याङ्हरू बोकेर पहाडकै पिठ्यूँतिर पच्चिस, तीस घरहरूमा चमकचमक चम्किइरहेको रहेछ चैले। आकाश ओडेर, धर्तीमा अडेस लागेर बतासमा ब्युँतिइरहेछ, चैले।

​​​​​​​चैलेमा जत्ति घर छन् ती सबै होटलहरू छन्। एक, दुई, तीन, चार, सात घरसम्म बास नपाउने छाँट आयो हाम्रो।

‘हिँईईई ...’ ठाडै कोपर्ला जसरी हिनहिनाउँदै घोडा उफ्रिएपछि सातोपुत्लो गयो हाम्रो।

‘डराउन पर्दैन, जिस्केको मात्र हो’— दाइले घोडा समातेपछि मात्र अलि ठेगानमा बस्यो, हाम्रो मुटु।

‘दाइ, होटल खाली छैन ? — मैले सोधें।

‘आज टुरिस्ट धेरै छ, सबैतिर भरिइसक्यो, ऊ त्यो ग्रिनपिसमा बाँकी होला।’ चैलेको शिरतिर देखाउनुभयो दाइले।

ग्रिनपिस होटलभित्र गोराहरूको भीड नै रहेछ। कोही पल्टेका, कोही चाउचाउ चिज र सुप खाँदै। खानेकुरा देखेपछि कुर्लंदै ओल्र्यो भोक। खोसेरै खाइदिउँ जस्तो लाग्दै थियो। फापरको रोटी, चाउचाउ, रायोको साग र दालभात पाएपछि बल्ल बिग्रियो ज्यान। आकाश नाङ्गो छ। नांगो आकाशका नाङ्गा ताराहरू आफ्नै पुर्पुरोमा अडेस लाग्न झरेझैं लाग्दैछन्। बस्ती छ, तर कोलाहल छैन। शान्तिको वर्षा छ, कलुषित्ताको गन्ध छैन। 

जीवनका कयौं थक्ति भारहरू त्यतै बिसाइए झैं लाग्दैछ। 

श्वेत साम्राज्यमा ठिंग उभिएर जिस्क्याइरहिन् मलाई नीलगिरिले। शान्त र शालीन ढपमा चनाखो बनेर जाग्रामछन् सुनजस्ता पहाडहरू। पहाड, खोंच र नदीका छालहरूसँगै जिस्किइरहेछ जून। हिउँका केस्रा बोकेर बत्तिइरहेको वायुले कोपर्दैछ हाम्रा नाक कान र पुरै शरीरलाई। चिसाको हुँकारले अत्याउन सकेको छैन तिम्रो र मेरो अटल प्रेमलाई। एकातिरबाट निर्निमेष हेरिरहिछ्यौ र सिरेटोका खम्बाहरूमा अडेस लागेर मस्किइरहिछ्यौ तिमी। अर्कातिर कालीगण्डकीको सुसाई र डाँडा डाँडाबाट खुर्मुरिदै उक्लिँदै गरेका हावाका झोक्काको दोहोरीमा तिम्रो र मेरो प्रेम कथा खोतलेर झन्  तेजिलो बन्दैछु।

प्रेमिल वर्षामा निथ्रुक्क भिजेको त्यो साँझ कसरी बिर्सन सकौंला र तिमीले र मैले। साँच्चै हाम्रो प्रेमको माइलस्टोन बन्यो चैलेको निर्वस्त्र रात। प्रेम ! प्रेम !! प्रेम !!! प्रेमबाहेक केही बाँकी रहेन उत्सर्गपूर्ण धुनको सप्तरंगी प्रेममा।

मित्र निदाए पनि हामी दुवै निदाएनौं। अँध्यारोमै एक अर्कालाई हेरिरह्यौं। टाढैबाट एक अर्कालाई छामिरह्यौं।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.