१३ बुँदे कर्णाली घोषणापत्र जारी गर्दै सकियो कर्णाली एजुकेशन एक्स्पो
काठमाडौं : १३ बुँदे कर्णाली घोषणापत्र जारी गर्दै सकियो कर्णाली एजुकेशन एक्स्पो सम्पन्न भएको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा वैशाख २ देखि ५ गतेसम्म कर्णाली एजुकेशन एक्स्पो - २०२५ सिजन वान सञ्चालन भएको थियो। कर्णाली विकास केन्द्रले एक्स्पो आयोजना गरेको हो।
एक्स्पोमा विभिन्न क्षेत्रका विज्ञहरु, कर्णाली प्रदेश सरकारका मन्त्रीहरू, सचिव, प्रतिनिधिहरू, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा स्थानीय संघ-संस्थाका प्रतिनिधिहरू गरी १३ जना प्यानलिस्टमाझ बहुआयामिक छलफल तथा विचार मन्थन भएको छ।
एक्स्पोमा ‘अब कर्णाली जाग्छः शिक्षामा पुनर्विचार, भविष्यको पुनर्निर्माण’, ‘कर्णालीको शैक्षिक गन्तव्यः व्यवहारिक, व्यावसायिक शिक्षा र नवप्रवर्तन’, ‘कर्णालीको समृद्धिको आधारः स्रोत, सीप र शिक्षा’, ‘सशक्त कर्णालीः सीमान्तकृत तथा अपाङ्गता भएका नागरिकसहित सबैका लागि गुणस्तरीय र रोजगारमूलक शिक्षा’ लगायतका विषयमा बहस गरिएको छ।
आगामी दिनमा शिक्षामाथिको छलफललाई गहन र व्यापक बनाउने, तहगत पाठ्यक्रम परिमार्जन गर्नुपर्ने, कर्णालीमा कृषि र जडिबुटी शिक्षालाई अनिवार्य गर्नुपर्ने, शैक्षिक गुणस्तर विकास हुने खालका शैक्षिक कार्यक्रम ल्याउनुपर्ने, सिकाइका लागि सर्वव्यापी डिजाइनको फ्रेमवर्क कार्यान्वयनमा ल्याउनुपर्ने, सिक्दै कमाउँदै पढ्दै अवधारणा कार्यान्वयन गर्नुपर्ने, विद्यालयमा भौतिक पूर्वाधार विकास गर्नुपर्ने लगायतका माग घोषणा पत्रमा उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस !