'मन' नमिल्ने नेताहरूसँग रिसबी साँध्दै सीके राउत, कोषाध्यक्षलाई पनि पक्रन लगाएको आरोप

'मन' नमिल्ने नेताहरूसँग रिसबी साँध्दै सीके राउत, कोषाध्यक्षलाई पनि पक्रन लगाएको आरोप
सुन्नुहोस्

काठमाडौं : कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ परेपछि जनमत पार्टीभित्र खैलाबैला मच्चिएको छ। ललितपुर प्रहरीले सोमबार कोषाध्यक्ष यादवलाई सप्तरीबाट पक्राउ गरेपछि जनमत पार्टीभित्रको विवाद चुलिएको हो। ठगी तथा आपराधिक विश्वाघातको कसूरमा पक्राउ परे पनि यादवसँग जनमतका अध्यक्ष सीके राउतले रिसबी साँधेको धेरैले आकलन गरेका छन्। 

कुनै बेला निकट सम्बन्ध भएका अध्यक्ष राउत र कोषाध्यक्ष यादवबीच गत संसदीय चुनावदेखि टकराव सुरू भएको नेताहरूको भनाइ छ। यादवले पाउनुपर्ने टिकट सीके राउतले दाजु जयकान्तलाई दिएपछि उनीहरूबीच विवाद हुँदै आएको छ। त्यसपछि पनि पार्टीभित्र अध्यक्ष राउतले मनोमानी गरेपछि पूर्व उपाध्यक्षसमेत रहेका दीपककुमार साह, कोषाध्यक्ष यादवसहितका नेताहरूले विरोध गर्दै आएका थिए। आफूविरुद्ध लागेको भन्दै अध्यक्ष राउतले अनुशासन विभाग प्रमुखसमेत रहेका साहलाई यसअघि नै कारबाही गरिसकेका छन्। अहिले कोषाध्यक्षको पक्राउ पनि त्यसकै सिलसिला रहेको साहको दाबी छ। 

अनुशासन विभाग हेर्दै आएका साहले कोषाध्यक्ष यादवको पक्राउलाई योजनाबद्ध षड्यन्त्रको हिस्सा भएको बताएका छन्। उनले पार्टी नेतृत्वलाई पारदर्शीता र जवाफदेहीता देखाउन पनि आग्रह गरेका छन्। 'कोषाध्यक्ष सुरेन्द्र नारायण यादवको गिरफ्तारी योजनाबद्ध षड्यन्त्रको हिस्सा हो। यस घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन हुनु अत्यावश्यक छ। पार्टी नेतृत्वमा पारदर्शीता, जवाफदेहीता र आन्तरिक लोकतन्त्रको प्रत्याभूति अनिवार्य छ,' उनले विज्ञप्तिमार्फत भनेका छन्।

उनले अध्यक्ष राउतप्रति इंगित गर्दै पार्टीमा ठूलो वित्तीय अनियमितता देखिएको आरोप लगाएका छन्। उनले पार्टीभित्र भइरहेको शक्ति दुरुपयोग र षड्यन्त्रको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। उनले संसदीय टिकट वितरणमा भएको विवाद, घर-जग्गा खरिदमा भएको अनियमितता, महादेवामा पार्टीको नाममा बनाइएको घरलगायतका विषयमा भ्रष्टाचार भएको आशंका गरेका छन्। यी सबै अनियमिततामा अध्यक्ष राउतको प्रत्यक्ष संलग्नता रहेको उनको दाबी छ। 

'करोडौं खर्चेर जनकपुरमा निर्माण गरिएको घरपछि पनि समानुपातिक सूचीमा समावेश गराउन उहाँसँग ५० लाख मागिनु अत्यन्तै दुःखद र अपारदर्शी व्यवहार हो। सांसद बनेपछि इमाडोलमा भव्य घर र पार्किङको लागि छुट्टै जग्गा खरिद गर्नुमा भ्रष्टाचारको गम्भीर आशंका छ। पार्टीको नाममा संकलन गरिएको रकमबाट सप्तरी, महादेवामा निर्माण गरिएको पक्की घरको स्रोत र उपयोगबारे छानबिन आवश्यक छ,' उनले विज्ञप्तिमा भनेका छन्। 

त्यस्तै साहले पार्टी कोषाध्यक्षको नाममा कुनै पनि बैंक खाता नखोली अध्यक्षले अवैधरूपमा आर्थिक कारोबार गरेको आरोप लगाएका छन्। काठमाडौंमा पार्टी कार्यालयको लागि घर नपाउँदा डा. राउतको हठले पुरानो होटल भाडामा लिइ कोटेश्वरस्थित प्रवासी होटल कम्पनी ऐनअन्तर्गत खोलिएको उनको आरोप छ। राम नारायण साह, सत्य नारायण खाँग, पञ्चनन्द माझी, अनिता साह, श्रिषिकेष ठाकुर, प्रमोद ईसर लगायतका व्यक्तिहरूको नाममा आर्थिक सहयोग संकलन गरी निजी प्रयोजनमा खर्च गरिएको पनि उनले गम्भीर आरोप लगाएका छन्। चर्चित साइकल काण्डमा संलग्न पात्रको नाममा गाडी खरिद हुनु जनता र आन्दोलनप्रति विश्वासघात भएको उनको बुझाइ छ।

उनले कोषाध्यक्ष यादवको भने बचाउ गरेका छन्। मधेस आश्रम निर्माणका लागि पार्टी अध्यक्ष राउतको सचिवालयबाट आह्वान गरिएको आर्थिक सहयोग नउठेपछि कोषाध्यक्ष स्यवं र वसन्त कुशवाहाले व्यक्तिगत खर्चमा उक्त घर निर्माण गरेको उनले बताएका छन्।

त्यस्तै स्वतन्त्र मधेस गठबन्धनको समयमा व्यक्तिगत सवारी साधन र पेशागत अवसर त्याग्दै यादवले कतारमा सबैभन्दा ठूलो संगठन निर्माण गरेको र डा. राउतप्रति पूर्ण निष्ठा राख्दै आलोचना हुँदा पनि अडिग भएर साथ दिएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। त्यसका बावजुद सप्तरी निर्वाचन क्षेत्र १ मा संगठनमा खास योगदान नदिएका आफ्नै दाजुलाई यादवले उम्मेदवार बनाएको उनको आरोप छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.