शिक्षकहरूलाई प्रचण्डको अपील- आन्दोलनलाई निरन्तरता दिनू (भिडियोसहित)
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शिक्षकहरूलाई आन्दोलन जारी राख्न अपील गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सरकारले पटक-पटक धोका दिएको भन्दै शिक्षकहरूलाई आन्दोलन जारी राख्न अपील गरेका हुन्।
'शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन अपील गर्न चाहन्छु। तपाईँहरुले पटक-पटक आन्दोलन गर्नुभएको छ। पटक-पटक धोका भएको छ। यसपटक त्यस्तो हुन नदिन हामी सबैको जिम्मेवारी छ,' उनले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्नुको सट्टा अपमान गरेको प्रचण्डको आरोप छ। 'यो सरकारले एक दिन पनि सरकारमा बस्ने हैसियत गुमाइसकेको छ। दुई हप्तादेखि शिक्षकहरू आन्दोलरत छन्। तर, सरकारको नेतृत्वको गरेको प्रधानमन्त्रीले उनीहरूको मागप्रति गम्भीर हुनुको साटो उल्टै अपमान गर्ने, गाली गर्ने, तिनलाई हप्काउने गरेका छन्,' उनले भने। उनले प्रधानमन्त्री ओली शिक्षकहरूको मागलाई बेवास्ता गरेको आरोप लगाए।
प्रतिक्रिया दिनुहोस !