शिक्षा मन्त्रीको राजीनामाबारे प्रधानमन्त्रीले भने- मैले बनाएको मन्त्री, मैले बसिखान दिइन रे? (भिडियो)
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्री विद्या भट्टराईले स्वास्थ्यका कारण राजीनामा दिएको स्पष्ट पारेका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफैंले बनाएको मन्त्रीलाई बसिखान नदिएको भनेर प्रचार गरेको आरोप लगाए।
उनले शिक्षा मन्त्री भट्टराईले हालै घाँटीको अप्रेसन गराएको र शिक्षा मन्त्रालय ठूलो भएकाले काम गर्न सहज नभएको स्पष्ट पारे। 'अस्ती उहाँले घाँटीको अप्रेसन गर्नुभयो। स्वास्थ्य पनि ठीक भएन। धेरै ठूलो मन्त्रालय छ शिक्षा मन्त्रालय। सजिलो पनि छैन। उहाँले पनि स्वास्थ्यको कारण देखाउनुभयो,' प्रधानमन्त्री ओलीले भने।
स्वास्थ्यका कारणले काम गर्न नसकेको भनिरहँदा सबैका हेडलाइन आफूविरुद्ध आएको उनले गुनासो गरे। उनले मिडियामा आफूविरुद्ध आएका हेडलाइनले आश्चर्यमा परेको बताए।
'एउटा मन्त्रीले राजीनामा दियो भनेर खुब प्रचार भयो। किन दिनुभयो भन्दा प्रधानमन्त्रीले बसी खान दिएन रे। मैले बनाएको मन्त्री, मैले काम लगाइराखेको छु। सहयोग गरिराछु, सिकाइराछु। स्वास्थ्यका कारणले उहाँले काम गर्न सक्नुभएन। तर, सबैका हेडलाइन मेराविरुद्ध। अनौठो आश्चर्य लाग्छ, यस्तो दुश्मनी के कारणले? सबैले एकै ठाउँमा सल्लाह गरेर लेखेजस्तो। योजनाबद्ध ढंगले लेखेजस्तो,' उनले भने।
शिक्षा मन्त्री भट्टराईले सोमबार राजीनामा दिएकी थिइन्। शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन चर्काइरहेका बेला उनले राजीनामा दिएकी थिइन्।
प्रतिक्रिया दिनुहोस !