दुग्ध उत्पादक किसानले डेरीमा पाए अनुदान
नुवाकोट : नुवाकोटको विदुर नगरपालिकामा दुग्ध उत्पादक किसानलाई अनुदान प्राप्त भएको छ । नियमित रूपमा दूध उत्पादन गरिरहेका किसानहरूलाई स्थानीय तहमार्फत दूध उत्पादक किसान प्रवद्र्धन कार्यक्रमअन्र्तगत अनुदान रकम वितरण गरिएको हो ।
बागमती प्रदेश सरकारले उपलब्ध गराएको उक्त कार्यक्रमअन्तर्गतको दूधको अनुदान रकम विदुर नगरपालिकाले वितरण गर्न सुरु गरेको हो । ग्रामीण किसानहरूलाई दूध उत्पादनमा प्रोत्साहन गराउने उद्देश्यले अनुदानबापतको रकम वितरण सुरु गरेको हो । विदुर नगरपालिकाले स्थानीय कृषकहरूलाई दूध उत्पादनमा प्रोत्साहन गराउने उद्देश्यले प्रोत्साहन रकम हस्तान्तरण गर्न सुरु गरेको हो ।
‘किसानलाई दूधमा प्रोत्साहन कार्यक्रम’ अन्तर्गत दैनिक कम्तीमा १० लिटर भन्दामाथि परिमाणको दूध नजिकको डेरीमा बिक्री गर्ने कृषकहरूलाई प्रतिलिटर ३ रुपैयाँ ५० पैसाका दरले प्रोत्साहन रकम हस्तान्तरण गर्न सुरु गरेको हो । विदुर नगरपालिकाले यस कार्यक्रमको लागि किसानले दैनिक रूपमा बिक्री गरिरहेको दूध डेरीमै पुगेर अनुदान रकम हस्तान्तरण गरेको हो । विदुर–५ स्थित देवीघाटमा रहेको त्रिशूली डेरी सप्लायर्समा नियमित दूध बिक्री गरिरहेका दूध बिक्रेता कृषकहरूलाई पहिलो चरणको अनुदान रकम हस्तान्तरण गरिएको हो ।
विदुर नपाका मेयर राजन श्रेष्ठले दूध डेरीमै पुगेर अनुदानबनपत प्राप्त रकम किसानलाई हस्तान्तरण गरे । उनले विदुर नपाले किसानलाई प्रोत्साहन गर्न सुरु गरेको उल्लेख गर्दै किसान संरक्षणका अन्य कार्यक्रमसमेत सञ्चालन गरिरहेको वताए ।अनुदानबाट दुग्ध व्यवसायमा संलग्न कृषकहरूको मनोबल उच्च भएकोे र उत्पादनमा थप सुधार हुने उपमेयर प्रभा बोगटीले बताइन् । किसानहरूलाई गत पुस र माघ महिनामा संकलित दूधको तथ्यांकका आधारमा अनुदान रकम वितरण गरिएको हो ।
अनुदान रकम हस्तान्तरण कार्यक्रममा विदुरका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, विदुर— ५ का वडाध्यक्ष लीलानाथ न्यौपाने, विदुर— १० का वडाध्यक्ष गणेशकुमार नेपाललगायतले किसानको हितमा तीनै तहको सरकारले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको र यसलाई नियमित गरिने बताए । सोही क्रममा विदुरका जनप्रतिनिधि तथा कर्मचारीले स्थानीय सरोकारवाला र लाभग्राही कृषकहरूसँग दूध उत्पादन, बजार व्यवस्थापन र वर्तमान समस्याहरूका विषयमा अन्तक्र्रियासमेत गरेका थिए ।
‘उत्पादन दूधमा प्रोत्साहन कार्यक्रम’ अन्र्तगत विदुर नगरपालिकामार्फत पहिलो चरणमा दुई महिनाको अवधि (पुस–माघ) मा लिइएको तथ्यांकको आधारमा दैनिक कम्तीमा १० लिटर दूध त्रिशूल डेरीमा बिक्रि वितरण गरिरहेका ५१ जना किसानलाई प्रदान गर्न सुरु गरिएको हो । विदुर—५ देवीघाटमा मात्र ४ सय जना दुग्ध उत्पादक किसान रहेका छन् । विदुरमा रहेका विभिन्न ९ वटा डेरीमा आबद्ध किसानहरूले यस वर्ष दूधको अनुदान रकम पाउने भएका छन् । यसबाट किसानहरू उत्साहित भएको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !