पछिल्लो १३ वर्षमा बुद्ध जन्मस्थल लुम्बिनीको १ करोड ६१ लाख पर्यटकले भ्रमण गरे। लुम्बिनी भ्रमण गर्न आउने पहिलो तीर्थयात्री सम्राट् अशोक थिए। आधुनिक समयमा लुम्बिनीमा घुम्न आउने पर्यटकको संख्यामा वृद्धि हुँदै गइरहेको छ। कोरोना महामारीले केही असर गरे पनि लुम्बिनीमा दर्शन गर्न आएका पर्यटकको संख्या झन्डै नेपालको दुई तिहाइ जनसंख्या बराबर छ।
बुद्धको महापरिनिर्वाणपछि अशोक सम्राट् पहिलो पटक बुद्धस्थलको भ्रमण गर्न आएको तथ्य छ। जसले बुद्ध जन्मेको तथ्य शिला स्तम्भमा लेखेर राखिदिए। ऐतिहासिक दस्तावेजअनुसार लुम्बिनी भ्रमण गर्ने पहिलो तीर्थयात्री हुन्, सम्राट अशोक। उनी राज्यभिषेकको २०औं वार्षिकोत्सव पारेर लुम्बिनीमा आएका थिए।
ईसापूर्व तेस्रो शताब्दीका सम्राट् अशोक बुद्ध धर्मप्रति गहिरो श्रद्धा राख्ने महान् सम्राट् थिए। उनी बुद्धको जीवनसँग सम्बन्धित स्थलहरूको खोजीमा निस्कँदा लुम्बिनी आइपुगे। त्यसबेला लुम्बिनी एक सानो, शान्त, हरियालीले ढाकिएको गाउँजस्तै थियो-‘लुम्बिनीग्राम’ भनेर चिनिने।
अशोकले यहाँ आएपछि लुम्बिनीलाई महत्त्वपूर्ण तीर्थस्थलका रूपमा मान्यता दिए। उनले एक प्रसाद (अशोक स्तम्भ) निर्माण गराए र त्यसमा शिलालेख (ब्राह्मी लिपिमा) लेखाइदिए। शिलालेखअनुसार लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल हो भनेर प्रमाणित गरियो, गाउँमा कर तिर्ने व्यवस्था हटाइयो वा न्यून गरियो। जतिबेला अशोक लुम्बिनी आएका थिए। लुम्बिनी बगैंचाजस्तै हराभरा क्षेत्र थियो, खेतीपाती र साधारण गाउँले जीवनशैली थियो। सहर थिएन।
‘देवानामपिय पियदसि लाजिय (राजा) स्वयं लुम्बिनीमा आए र यहाँ बुद्ध जन्मेको हुँदा उनले पूजा गरे। यस ठाउँको कर कम गरियो।’ यही पहिचानले लुम्बिनी विश्वभर फैलिरहेको छ।
अशोकले राखेको स्तम्भ देख्ने तीर्थयात्री हुन्, फासियान। चिनियाँ यी भिक्षु ६२ वर्षको उमेरमा चीनको चाङबाट तीर्थयात्रा लागि निस्किए। ईसाको चार सयतिर बौद्ध ग्रन्थको खोजीमा लुम्बिनीका लागि हिँडेका उनी ६ वर्षपछि कपिलवस्तुको तिलौराकोट हुँदै आइपुगे। बुद्धस्थल देखे। ‘यहाँ (लुम्बिनी) बुद्ध जन्मेका थिए। जन्मस्थलमा एक ठूलो पत्थरको स्तम्भ छ, जसमा एक घोडाको मूर्ति बनेको थियो। वरिपरि शान्त छ। एउटा तलाउ पनि छ, जहाँ रानी मायादेवीले नुहाएकी थिइन, फासियानले आफ्नो यात्रा वर्णनमा लेखेका छन्।
फासियानको यात्रा वर्णन पक्कै पढेपछि लुम्बिनी घुम्न आएका अर्का चिनियाँ तीर्थयात्री हुन्, ह्वेनसाङ। सन् ६३० तिर आएका उनले आफ्नो यात्रावर्णनमा लुम्बिनीको अवशेष र अशोक स्तम्भको बर्णन गरे। जतिबेला लुम्बिनी बुद्धको जन्मस्थलको रूपमा सम्मानित भइसकेको थियो, तर त्यो समय विकसित सहर होइन, प्राकृतिक सौन्दर्य र साधारण गाउँ थियो।
सातौं शताब्दीमा चिनियाँ अर्का तीर्थयात्री यी चिङ लुम्बिनी आएका थिए। उनले लुम्बिनीसहित अन्य स्थलहरूको पनि भ्रमण गरे। त्यसयताको लगभग १२ सय वर्ष लुम्बिनी गुमनामजस्तै भयो। संस्कृतिविद् प्रा.डा. गितु गिरी भन्छन्, ‘लुम्बिनी त्यसबीचमा कुन अवस्थामा थियो भन्ने स्पष्ट तथ्य भेटिँदैनन्, जव अशोक स्तम्भ फेला पर्यो लुम्बिनी भेटियो, यसको अनुसन्धान र तीर्थ आउनेको संख्या बढ्दै गयो।’
धेरै शताब्दीअघि, जब बुद्धको शिक्षाले एसियाका दर्जनौं देश उज्यालो पाएको थियो, लुम्बिनी भने बिस्तारै इतिहासको धुवाँभित्र हराउँदै थियो।
फासियान र ह्वेनसाङजस्ता यात्रुहरूले आफ्नो समयको लुम्बिनीको वर्णन गरेका थिए, तर समयसँगै युद्ध, प्राकृतिक प्रकोप र धार्मिक परिवर्तनले गर्दा यो पवित्र स्थल भुलियो। लुम्बिनी जंगल, बगर र विस्मृतिमा हराएको थियो। मान्छेहरूलाई थाहा थिएन— बुद्धको जन्मभूमि वास्तवमा कहाँ थियो ?
अनि आयो सन् १८९६। नेपालको तराईमा एक साँझ सूर्यास्तको सुनौलो घाम झर्दै गर्दा, काठ काट्नेहरूले अजंगरको ढुंगाको स्तम्भ देखे। पाल्पालका बडाहाकिम खड्गशमशेर राणाले खबर पाए। जतिबेला एक जना जर्मन पुरातत्त्वविद् डा. अन्तोन फुहरर बुद्धजन्मस्थलको खोजीमा हिँडिरहेका थिए। उनीहरू पुराना लिपिहरू, मूर्तिहरू र भग्नावशेषहरूको आधारमा बुद्धसँग सम्बन्धित स्थलहरू पहिचान गर्न चाहन्थे।
अचानक भेटिएको एउटा पुरानो ढुंगाको स्तम्भ, जसको माथिल्लो भाग भाँचिएको थियो, तर बाक्लो घाँस र बुट्ट्यान हटाउँदा स्तम्भमा केही लेखिएको देखियो— पुरानो ब्राह्मी लिपिमा। त्यही लिपिभित्र थियो, अशोकले राखेको प्रमाण।
बुद्ध जन्मस्थलको पहिचानको सनसनी खबर विश्वभर फैलियो। अन्वेषकहरू लुम्बिनी आएर उत्खनन गर्न थाले। जहाँ अशोककालीन इँटाले बनाएको प्राचीन मन्दिर भेटियो। बौद्ध ग्रन्थमा लेखिएको मायादेवीले नुहाएको पोखरी देखियो।
सन् १८९६ को खोजपछि डब्लू सी पेप्पेसहितका केही व्रिटिस पुरातत्त्वविद्हरूले लुम्बिनीको अध्ययन सुरु गरे। उनीहरू तीर्थयात्रासहित अध्ययनमा जुटे। सन् १९६० मा युनेस्कोले सहयोगमा लुम्बिनीको अन्वेषण द्रुत रूपमा गति लियो।
सन् १९६७ मा संयुक्त राष्ट्रसंघका महासचिव उ थान्त लुम्बिनी भ्रमणमा आए। लुम्बिनी भ्रमण गर्नेमा आधुनिक कालाका उनी सशक्त व्यक्ति हुन्। वरिष्ठ पुरातत्त्वविद् प्राध्यापक वसन्त बिडारी भन्छन्, उ थान्तको भ्रमणपछि नै लुम्बिनीले विकासको यात्रा तय गर्न सक्यो। उनकै कारण लुम्बिनी विश्वभर फैलियो।’
उ थान्त आउँदा लुम्बिनी जीर्ण थियो। उनले लुम्बिनी विकासको अन्तर्राष्ट्रिय पहल थाले। सन् १९७१–७८ मा जापानी आर्किटेक्ट केन्जो टांगेले लुम्बिनी गुरुयोजना तयार गरे। यसै योजनाअनुसार नै लुम्बिनीलाई एक अन्तर्राष्ट्रिय शान्ति सहर बनाउने लक्ष्य तय भयो। त्यही शान्ति सहर हेर्न नै झन्डै दुई करोड आन्तरिक तथा बाह्य पर्यटक लुम्बिनी आएका छन्।
लुम्बिनी पहिचानको एक सय वर्षपछि सन् १९९७ मा विश्वसम्पदा सूचीमा समावेश भएपछि पर्यटनमा टेवा पुगेको पर्यटन व्यवसायीहरू बताउँछन्। लुम्बिनी विकास कोषले सन् १९९४ देखि तेस्रो मुलुकबाट आएर लुम्बिनी भ्रमण गर्नेको तथ्यांक राखेको छ। तथ्यांकअनुसार सन् १९९४ मा २० देशबाट २० हजार ९ सय ७२ जना तेस्रो मुलुकका पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्। सन् २०२४ मा यो संख्या १ लाख ११ हजार ४ सय ३ पुगेको छ। तीन वर्षमा पर्यटक आवागमनको संख्या पाँच गुणाले वृद्धि भएको छ। यो संख्या कोरोना सुरु हुनुअघि सन् २०१९ मा झन्डै नौ गुणा बढी १ लाख ७४ हजार थियो।
सन् २०२४ मा लुम्बिनी भ्रमण गर्ने सशक्त व्यक्तिमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेस र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हुन्। प्रभावशाली पर्यटकको लुम्बिनी भ्रमण हुँदा अन्य पर्यटकको संख्यामा वृद्धि हुने अनुभव लुम्बिनीका होटल व्यवसायी पुरुषोत्तम अर्यालसँग छ। ‘भारतका प्रधानमन्त्रीले लुम्बिनी भ्रमण गरेपछि भारतीय पर्यटक निकै बढेको देखिन्छ, उनले अनुभव सुनाए। पर्यटक आवागमनको तथ्यांक हेर्दा सन् २०२३ मा भारतीय पर्यटकको संख्या २ लाख ६६ हजार थियो भने अर्काे वर्ष ३ लाख १ हजार रहेको छ।
आधुनिक लुम्बिनी सानो विश्वकै रूपमा विकास भएको छ। लुम्बिनीमा विभिन्न २७ देशका बौद्ध संस्कृति, कला झल्किने बिहारहरू बनेका छन्। ती देशहरूबाट बौद्ध संस्कृति प्रदर्शनी हुने गरेको छ। जसले सिंगो विश्वको बौद्ध संस्कृतिलाई एक स्थानमा ल्याएको छ।
बुद्धजन्मस्थल लुम्बिनीमा पर्यटन विकासका लागि भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ। यहाँबाट विदेशी एयरलायन्सहरूले उडान भरिरहेका छन्। पछिल्लो समयमा बौद्ध मुलुकहरूबाट पर्यटकको संख्यामा आवागमन वृद्धि हुँदा पर्यटन व्यवसायमा लगानी उच्च दरमा बढेको छ।
लुम्बिनीको पर्यटनलाई केन्द्रबिन्दुमा राखेर झन्डै दुई सय अर्ब लगानी निजी क्षेत्रबाट गरिएको छ। यो लगानीबाट लुम्बिनी, बुटवल, भैरहवा, कपिलवस्तु क्षेत्रमा स्तरीय तारेहोटलहरूको संख्यामा उच्च वृद्धि भएको छ। होटल व्यवसायी सीपी श्रेष्ठका अनुसार होटल व्यवसायको लगानी अभूतपूर्व भइरहेको छ।
नेपालका ठूला लगानीकर्ताहरू लुम्बिनीतर्फ मोडिएका छन्। होटलमा भएको लगानीमा १२ जिल्लाका ११ हजार व्यवसायीहरूको सहभागिता रहेको छ। जसबाट ६० हजारले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन्।
लुम्बिनीको पर्यटनले कृषि उपजको खपतदेखि हस्तकला, मूर्तिकला व्यवसायलाई पनि उचाइमा पुर्याएको व्यवसायीहरू बताउँछन्। नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष टंक पोखरेल भन्छन्, ‘देश अद्भुत रूपमा विकास भइरहेको छ। पर्यटन क्षेत्रको लगानीले नै त्यसको उत्साह देखाउँछ।’
प्रतिक्रिया दिनुहोस !