कैदीले कारागारमै गरे आत्महत्या
जाजरकोट : जाजरकोट कारागारमा थुनामा रहेका एक कैदीले आत्महत्या गरेका छन्। भेरी नगरपालिका–१० का २५ वर्षीय दीपक बुढाले आइतबार कारागारको शौचालयमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त प्रसाद शर्माले बताए।
डीएसपी शर्माका अनुसार बुढा २०८१ चैत ५ गते जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत जाजरकोटको आदेशमा पुर्पक्षका लागि थुनामा राखिएका थिए र मुद्दाको अन्तिम फैसलाअघि नै उनले आत्महत्या गरेका हुन्।
‘घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ,’ डीएसपीले भने, ‘घटनास्थलको मुचुल्का उठाउने काम भइरहेको छ र आवश्यक प्रमाण संकलन भइरहेको छ।’
उनको आत्महत्याको कारण खुल्न बाँकी रहेकाले घटनाको पृष्ठभूमि र सम्भावित कारणबारे प्रहरीले थप अनुसन्धान थालेको छ। यो घटनाले कैदीहरूको मानसिक स्वास्थ्य र कारागार व्यवस्थापन प्रतिको चुनौतीलाई पुनः उजागर गराएको छ।
यसै बीच आइतबार बिहान भेरी नगरपालिका-३ निवासी ६० वर्षीया सुमित्रा शाहले आफ्नै घरमा घाँटीमा पासो लगाएर आत्महत्या गरेकी छिन्। उनका श्रीमानको १० वर्षअघि नै मृत्यु भइसकेको थियो। उनका दुई छोरा बुहारी र एक छोरी छन्।
प्रतिक्रिया दिनुहोस !