रैथाने गीत, रैथाने बाली
मेरा दुई बहिनी बजार पढ्छन्। छोराछोरी बजार पढ्नु भनेको बाआमाको दायित्वको क्षेत्रफल थप चौडा हुनु हो। जब माध्यमिक तहको पढाइ सकिन्छ, तब सबै अट्ने घरमा छोराछोरी नै अट्दैनन्। पूरै गाउँ अटाउने घर, आफ्ना छोराछोरीका लागि साँघुरो हुँदै जान्छ।
इन्टरनेटका कारण अचेल पृथ्वी आफ्नो हत्केलाभित्र छ। प्रविधिले संसार साँघुरो बनाइदिएको छ। म प्रायः साँझतिर बहिनीलाई फोन गर्छु। फोन गर्दागर्दै बहिनीले भनी, ‘बुवाको फोन आयो। बुवासित कुरा गरेर हजुरलाई फोन गर्छु।’
बहिनीले फोन गरी।
के भन्नुभयो बुवाले ?
शुक्रबार घर आउँदा बजारबाट आलु किनेर ल्याउनु भन्नुभयो।
हरेक शुक्रबार उनी बजार र घरको दूरी नाप्छिन्। बजार र घरको दूरी नाप्दानाप्दा उनी आफ्ना सपना पनि नाप्ने भएकी छन्।
झङ्ग भएँ। मलाई थाहा भएदेखि घरमा आलु किन्नु परेको यो पहिलोपटक हो। इतिहासमा बुढाथोकी परिवारमा बजारको आलु भित्रिएको यो पहिलो घटना हो। यसभन्दा अगाडि घरमा आलु किन्नु परेको घटना मलाई याद छैन। बरु उहिले उहिले मेरा हजुरबा आलु बेच्नुहुन्थ्यो।
बल्द गयो बाटैबाट गाई गयो गेर्याटी, पन्धारा लैजाँदो भया डोग्डीकी छोर्याटी !
कुनै बेला डोगडीमा यो देउडा बहुत सुनिन्थ्यो। गेर्याटी हाम्रो आलुसुगाडी (आलुबारी) हो। डोगडीकी छोर्याटी (केटी) र पन्धाराका छोर्याटा (केटा)बीच देउडा खेल हुँदा, केटा पक्षबाट भनिएको गीत हो यो। बाआमा भाइबहिनी मिलेर फाल्गुनको अन्तिमतिर आलु लगाए। आलु लगाएको तीन दिनपछि भख्खर लगाएको आलु खनेर बँदेलले ‘बिजोग’ बनाइदियो। मेरा बाआमाका लागि यो बिजोग कम, ‘हरिबिजोग’ बढी थियो। मीठो तरकारी खाने सपनामाथि बँदेलको डोजर चलेको थियो। सपनामाथि डोजर जल्नु बडा दुःखदायी कुरा हो। भोग्नेले जानोस्।
‘ढुंगाको काप फोडेर पनि उम्रन्छ पिपलु’ भनेजस्तै बँदेलले त्यसरी खनजोत गर्दा पनि केही आलु उम्रिए। प्रांगारिक मल र रासायनिक मल दुवैको समिश्रणले बँदेलको थुतुनोबाट जोगिएका केही बोट हर्लक्क बढे। बँदेलले त्यो पनि देख्न सकेन। अर्को दिन फेरि बँदेल आएर आलु बारीलाई ‘नदीको किनार’ जस्तो सुक्खा बनाइदियो। अब त त्यहाँ केवल ‘आलुबारीको अस्थिपञ्जर’ मात्रै बाँकी छ। उसो त बँदेलले हाम्रो बारी मात्रै सखाप पारेको होइन। हामीसँगै जोडिएका अन्य थुप्रै परिवारका आलुबारी सक्किए। डोगडीका किसानहरू केही वर्ष यता बाँदर र बँदेलको कुकर्मबाट आजित छन्। डोगडी आलुखेतीका लागि उहिल्यैबाट ख्यातिप्राप्त ठाउँ हो। उहिले उहिले डोगडीको आलु किन्न छिमेकी जिल्ला अछाम र बझाङबाट समेत मान्छे आउँथे। त्यो बेला प्रत्येक परिवारका भैंसा (भैंसी) हुन्थे। खरक (खर्क) हुन्थे। जम्मै प्रांगारिक मल प्रयोग हुन्थ्यो। रासायनिक मलले गाउँको बाटो देखेको थिएन। गाउँ जाने गाडी चढेर कीटनाशक औषधि डोगडी आइपुगेका थिएनन्। विषादीलाई डोगडीको नक्सा थाहा थिएन।
गाउँमा आलु भण्डारण गर्ने आफ्नै परम्परागत तरिका छ। जमिनमुनि खाल्डो खन्छन्। खाल्डोको मुख ढुंगाले छोपेर माटोले पुर्छन्। त्यसपछि न खाल्डोभित्र पानी छिर्ने डर, न त असिनाले आलु बिगार्ने डर। न हिउँले आलु कुहिएला भन्ने डर। डरबाट मुक्ति हुनु भनेको आशाको किरण पलाउनु हो। त्यसरी भण्डारण गरेको आलु एकदमै सफाचट र पौष्टिक तत्वले भरिपूर्ण हुन्छ।
यसो गर्दा रैथाने आलुको ‘अर्गानिक स्वाद’ हराउँदैन। अनि जतिखेर आलुको जरूरत पर्छ, त्यतिखेर आलु निकालिन्छ। एउटा खाल्डोमा दुई÷तीन बोरा आलु अटाउँछन्। आलु भण्डारण गर्ने खाल्डोलाई ‘खाड्डल’ भनिन्छ। डोगडीले कुनै बेला आलु निर्यात गर्थ्यो। आलु किन्नेहरू किसानको घरमा होइन, सिधै आलु खाड्डलमै पुग्थे। त्यो बेला धार्नीमा आलु बेचिन्थ्यो। अलिपछि तुलो आयो। तुलोलाई पछि ‘डिजिटल काटो’ले खाइदियो।
डोगडीका किसान डोकोमा आलु बोकेर ‘औल’ बेच्न झर्थे। गाउँका लागि त्यतिखेरको औल भन्नु नौबिस, बाह्रबिस थियो। आलु बेचेर धान, मकै ल्याएर फर्कन्थे। अम्बा पाक्ने सिजनमा डोगडीलाई अम्बाको स्वाद चखाउने पनि आलु नै थिए। अम्बा धनीहरू डोकोमा अम्बा बोकेर माथि डोगडी उक्लन्थे। फर्किंदा आलु बोकेर औल झर्थे। अचेल डोगडीका किसान न आलु बोकेर औल झर्छन्। न औल्यालहरू अम्बा, चिचिण्डा, चुक बोकेर डोगडी उक्लन्छन्। आलु सक्केपछि डोगडी र औलको सम्बन्धमा खिया लाग्यो। बिस्तारै डोगडीका लेकका खरकमा भैंसा (भैंसी) घटे। घरका गोठमा गौ (गाई) घटे। मेरा जिजा बाजे हुँदा मेरै घरमा तीन ओटासम्म लैना भैंसी थिए। बाजे बज्यै परमधाम गएपछि घरबाट भैंसी लोप भए। उहाँहरू ज्युँदा रहुञ्जेल हाम्रो मुखले ‘किनेको दूध’को स्वाद चाखेन। रैथाने भैंसीको दूध खाइन्थ्यो। अचेल हामी दूध किनेर खान्छौं।
भैंसा घटेपछि खरक घटे। धरतीमा वसन्त ऋतुको आगमनपछि कुनै अग्लो डाँडाबाट फर्केर तल ‘ऐरेना’ हेर्दा अनगिन्ती खरक देखिन्थे। कुनै हरियो पाटनमा बसेका पर्यटकका टेन्ट जस्ता अद्भूत देखिन्थे, ऐरेनाका खरक। भैंसाती (भैंसीको गोठालो) जाँदा अग्लो ढुंगामा म त खरक गनीबस्थे। गनेर सक्दासम्म भैंसीहरू बिरलो गरिसक्थे।
भनेपछि तपार्इं अनुमान गर्नुहोस्, कति खरक हुन्थे होलान् ? बर्खायाममा खरक बनाएर आलुसुगाडी मैल्याउँथे (आलुबारीमा परम्परागत प्रांगारिक मल बनाउने काम)। पोर्सो (प्रांगारिक मल) बनाउँथे। हिउँदमा आलुबारी जोत्दा त्यही पोर्सो प्रयोग गर्थे। एकै परिवारको दुई-तीन ओटा आलुबारी हुन्थे। एउटा आलुबारी मैल्याइसकेपछि अर्को आलुबारीमा खरक सार्थे।
समयले एक खेप कोल्टे फेर्यो। यो लेख लेख्दासम्म ऐरेनामा एउटा खरक छैन। ऐरेनाबाट खरक हराए। खरकसँगै विस्तारै ऐरेनाका रैथाने आलु हराउँदै छन्। रैथाने आलु लोप भएपछि आलुको ‘अर्गानिक स्वाद’ पनि डोगडीले बिर्सदै बिर्संदै जानेछ।
अचेल डोगडीले तराईबाट गाडी चढेर पहाड उक्लेको आलु किनेर खान्छ। आलुसँगै तराईका अनेक तरकारीका प्रजातिहरूले डोगडीमा बजार पाएका छन्। दोकानदारका दिन फिरेका छन्।
000
डोगडीको रातो मास्र्या खायो हरिनाले
आजभोलि मुखै न बोल्दी बैंस भरिनाले !
अहिलेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय बद्रीप्रसाद पाण्डेले २०७० सालको संविधानसभाको चुनावमा डोगडीको आमसभालाई सम्बोधन गर्दा यो गीतबाट सुरु गर्नुभएको थियो। यो पंक्तिकार त्यो बेला ९ कक्षामा पढ्थ्यो।
गीतमा भने झैं ‘रातो मास्र्या’का लागि डोगडी चर्चित थियो। रातो मास्र्यालाई स्थानीय भाषामा ‘माल मास्र्या’ भन्छन्। कोदो र मास्र्या मिसाएको रैथाने रोटीको स्वाद जिब्रोमै झुन्डिन्छ।
विगत तीन चार वर्षदेखि डोगडीमा मास्र्या फलेको मैले देखेको छैन। मास्र्या उम्रन्छ। गोडमेल गरेर हर्लक्क हुर्किन्छ पनि। तर फल लाग्ने बेला किरा लाग्छ। किराले मास्र्याका बोट सखाप पार्छ। नेताले देश खोक्रो पारे जस्तो। किराले मास्र्याका बोट मात्रै हैन, किसानको मेहनत पनि सक्काउँछ। ‘मास्र्या लाइबेर क्या हार्नु ? उम्रेपछि किरो खाइदिन्छ। एक बोट राख्दैन। बुनु दुख्खै। गोड्नु दुख्खै। दुख्ख हरीकन बोयो, दुख्ख हरी गोड्यो। किराकी ज्युनार।’
‘यसपाली मास्र्या कुन ठाउँको बारीमा छर्नुभो आमा ?’ भनेर आमालाई सोध्दा, आमाको सपाट जवाफ थियो यो। डोगडीबाट बिस्तारै रातो मास्र्या हरायो। गाउँले रातो मास्र्या देख्न छोड्यो। रैथाने मास्र्या लोप भएपछि, अब कोदोको रोटीको स्वाद फेरिन्छ होला।
000
गाउँमा कतै रुद्री, विवाह, कपाल मुण्डन, जग्गे, पूजापाठ आदि भयो भने हजुरबालाई निम्तो आइराख्थ्यो। मेरा हजुरबा भन्नुहुन्थ्यो, ‘बोलाएको ठाउँमा सकेसम्म जानुपर्छ। त्यसमा पनि रुद्री पूजाको निम्तो छोड्नु हुँदैन। त्यो धर्म कमाउन जाने ठाउँ हो। नाई भन्नु हुँदैन। ईश्वर रिसाउँछन्।’ मालिकको पछिपछि कुकुर हिँडेजस्तो म हजुरबाको पछिपछि हिँड्थें। रूद्री पूजाको प्रसादमा खिर छुट्दैन थियो। रुद्री र जग्गेमा कागुनो र झुमरोको खिर अनिवार्य हुन्थ्यो। कागुनो र झुमरोको खिर यति मीठो हुन्थ्यो कि त्यही लोभले म रूद्रीको निम्तो आएको दिन हजुरबासँगै सुत्थें।
गाउँमा अझै पनि रुद्री भइरहन्छ। जग्गे, पूजापाठ भइरहन्छ। मलाई लाग्दैन कि ती रुद्री, जग्गे, पूजापाठमा अचेल कागुनो र झुमरोको खिर पाक्छ होला। पंक्तिकारले रूद्री, जग्गे, पूजापाठको प्रसाद नचाखेको दशक नाघ्यो। रुद्रीको निम्तो खाएर कागुनो र झुमरोको खिर खान छुटाउनु भनेको पोखरा घुमेर फेवाताल छुटाउनु जस्तै हो। डोगडीबाट चिनु, कागुनो र झुमरो जस्ता रैथाने बाली बिस्तारै लोप भए। डाँडोमाथिको घाम भए। कागुनो र झुमरोलाई ‘भोकमरीको अन्न’ भन्छन्, गाउँतिर। किनकि यी दुई बालीको खेती, कम उर्वर जमिनमा पनि सजिलै गर्न सकिन्छ।
000
डाँडाखर्क मुला चोतो बोइ जाला बोइ जाला
जन झर्का मैना चडी सोच्याको होइ जाला !
गाउँमा देउडा खेल हुँदा यही गीतबाट सुरु हुन्छ। उहिले डाँडाखर्क भन्ने ठाउँमा चोतो (गान्टे मूला) असाध्यै हुन्थ्यो। कम मेहनतमा पनि चोतो गज्जब फल्थ्यो। त्यही प्रसंगबाट बनेको गीत हो यो। त्यो बेला डाँडाखर्कमा भैंसाको खरक हुन्थ्यो। ‘हात्तीका खुट्टा जत्रा’ मोटा हुन्थे, मूला। फर्सी जत्रा चोता हुन्थे। चोतोबाट फरक फरक किसिमका तरकारी बनाउन सकिन्छ। चोतो टुक्रा टुक्रा काटेर, घाममा सुकाएर राखिन्थ्यो। हिउँदमा खाइन्थ्यो। यसरी चोतोबाट बनेको यो तरकारीलाई ‘चोतीपोडा’ भन्थे। चोतीपोडा वस्तुभाउको औषधि पनि हो। वसन्त ऋतुमा भख्खर पलाएका राता पालुवा वस्तुभाउले खाएपछि ती बिरामी पर्छन्। यस्तो अवस्थामा तीनलाई चोतीपोडा पकाएर दिन्थे।
चोतो मसिनो धुलो बनाएर घाममा सुकाइन्थ्यो। अनि हिउँदमा खाइन्थ्यो। यसलाई ‘असुरो’ भनिन्छ। बहुत मीठो तरकारी। चोतीपाला (चोताका पात) सुकाएर गुन्द्रुक बनाएर खाइन्थ्यो।
चोतोबाट अचार बनाएर बट्टामा प्याक गरेपछि खाए पनि भो। तत्काल खाए पनि भो। चोतो र आलु मिसाए भो। चोतीपाला र आलु मिसाए भो। सम्भवः यति धेरै फरक फरक तरिकाले खान सकिने एकमात्रै तरकारी ‘चोतो’ हो। चोतोबाट त उखान पनि बनेका छन्। बुढापाकाका कुरालाई गम्भीर रूपमा लिइएन भने उहाँहरू भन्नुहुन्छ, ‘चोतो खाया जसा कुणा नहर।’ चोतो खाएर पाद्यो भने कुहिएको सिनो जस्तो गन्हाउँछ। गाउँका एक जना काका आफ्नी श्रीमतीलाई जिस्काउँदै भन्थे, ‘यसले चोतो खाएर पादेपछि, यसको पादबाट बिजुली निकाल्ने हो भने पूरै गाउँलाई पुग्थ्यो। कहिल्यै लोडसेडिङ हुँदैन थियो।’ यहीँनेर तपाई चोतो खाएर पा...को दुर्गन्ध सम्झेर मुख बिगार्न सक्नुहुनेछ।
बिस्तारै डाँडाखर्कबाट खरक हराए। डोगडीबाट रैथाने चोतो हरायो। डोग्डेली किसानले चोताको अर्गानिक स्वाद बिर्से। चोतो खाएको पादको ‘अर्गानिक दुर्गन्ध’ बिर्से। अचेल किसानका बारीमा रैथाने चोतो फल्दैन। विकासे मूला फल्छ। डाँडाखर्क र चोतोबिना माथिको रैथाने गीत कसरी बाँच्ला ?
000
थाली कोट करबिर्या मूल कोट कल्लान्या
पल्लाघर क्याको तिउन छ गतको खल्लान्या !
गाउँमा ऐंचोपैंचो चल्छ। वल्लो घर पल्लो घरमा जे पाक्छ, त्यो बाँडेर खाने चलन छ। यही क्रममा वल्लो घरबेटीले पल्लो घरबेटीलाई आज केको तिउन छ भनेर सोधेको प्रसंग हो यो गीतको। गतको (गहत)को झोल एकदमै पातलो हुन्छ। पातलो भइकन पनि यो बहुत पौष्टिक चिज हो। उबेला डोगडीमा भारी गत फल्थ्यो। पछि गत हेलामा पर्यो। कसैले गतको झोललाई ‘खल्लान्या पानी’ भन्न थाले। कसैले गतको झोललाई ‘टुर्रान्या पानी’ भन्न थाले। कोही कोही त घरमा टन्न पाहुना थुपिँ्रदा दाल चाहिँ गतकै बनाउनुपर्छ ताकि पातलो झोलले धेरैलाई पुगोस् पनि भन्थे। जतिबेला गतको महत्व थाहा थिएन। अन्य गेडागुडीबाट गत ‘घरेलु हिंसा’मा पर्यो। दुव्र्यवहारमा पर्यो। थिचोमिचोमा पर्यो। जब गत र यसको पौष्टिक महत्वको बारेमा धेरैले जान्न, बुझ्न थाले, तब एकाएक गत हरायो। बारीमा गत उम्रिन छाड्यो। फल्न छाड्यो। अचेल डोगडीमा गहतको झोल पाइँदैन। डोगडीले आयातीत महँगो बजारिया दाल खान्छ।
000
उहिले गाउँमा एउटा कथा सुन्न पाइन्थ्यो। एउटाको घरमा बुढाबुढीको झगडा भएछ। बुढीले हान्ने हतियार केही पाएनछ। त्यसपछि कुटिरोमा बाँधेका मासका दानाले हानेछ। यसरी हानेका मासका केही दाना लोग्नेको अण्डकोषमा लागेछन्। मासका दानाले लोग्नेको अण्डकोष फुटेछ। लोग्ने चिलिम चैट। यो कथन हो। सत्य होला नहोला फरक कुरा हो तर यो कथाबाट तपाईं अनुमान लगाउन सक्नुहुन्छ कि मासको दाना कति बलियो होला ? बलियो हुनु भनेको त पौष्टिक हुनु पनि त हो। रैथाने मास कति पौष्टिक हुँदो हो। शरीरमा चोट लाग्दा उहिले उहिले मेरी आमा, मास र गुराँस पकाएर चोट लागेको ठाउँमा सेकिदिनुहुन्थ्यो। चोटपटक लाग्दा यो चिज केवल दाल होइन, औषधी हो।
अचेल मेरो घरमा मास, गुराँस छैन। समयसँगै गाउँबाट मुसुरो, मास र गुराँस इतिहास बन्यो। मासको कथा मात्रै सुन्न पाइँदैन, अब मास आफैमा ‘कथाको पात्र’ भइसक्यो। गाउँका दोकानमा मुसुरो, मास र गुराँस पाइन्छ तर त्यो अन्त कतैबाट आयातीत हो। गाउँको रैथाने मुसुरो, मास र गुराँसको उहिल्यै ‘मृत्युदर्ता’ भइसकेछ।
000
टाइचनको भात पकाउनु सैटाको दाल हुनु
साइको मेरो मरन हुनु लैझान्या काल हुनु !
टाइचन रैथाने धानको जात। सैटा (सिमी) रैथाने गेडागुडी। टाइचनको भातसँग सैटाको दाल भएपछि अरू के चाहियो ? ‘सस्तो, आफै पेटभित्र पस्तो’ भने जस्तै हो। त्यसो भएपछि साइको र मेरो मरन पनि एकैदिन हुनु भन्ने अर्थ र सन्दर्भमा भनिएको वियोगान्त देउडा गीत हो। उहिले उहिले डोगडीमा सैटा खुब फल्थे। जन्त, बर्यात, भोजभतेर सबैतिर सैटाको दाल पाक्थ्यो। एक हिसाबले सैटाको एकलौटी शासन थियो उबेला। परम्परागत कृषि प्रणालीअन्तर्गत मास्र्या लगाएकै बारीमा सैटा लगाइन्थ्यो। मास्र्या र सैटा जोडी हुन्। मास्र्या लगाउन छोडेपछि सैटा लगाउन पनि छोडे। मास्र्या आफू एक्लै गएन। उसले सैटालाई पनि तानेर लग्यो। रैथाने सैटाको स्वाद केवल ‘जिब्रो पड्काइ’मा सीमित रह्यो।
भाग्यको कुरो भन्नुपर्छ, डोगडीबाट भट्ट (भटमास) लोप भएको छैन। अझै पनि यहाँका खेतका आलीमा रैथाने भट्ट लहलह फलेका भेटिन्छन्। ‘मास्र्या र सैटा’ जस्तै ‘धान र भटमास’ पनि मिल्ने जोडी हुन्। खेतमा सधैं सँगै हुर्किन्छन्। सँगै फल्छन्।
000
शिवरात्रीको एक हप्तापछि बहिनीलाई फोन गरेर सोधेको थिएँ, ‘भुजा (फर्सी) लगाइस् ?’ ‘नाइँ। अच्याल किराले खान्छ। पछि बाँदर खान्छ। हुन्या केही नाई।’ बहिनीले एक सासले भनी।
गाउँमा एउटा भनाइ छ। शिवरात्रिका दिन फर्सी लगायो (रोप्यो) भने ‘शिव हो शिव’ भन्नुपर्ने खालका फर्सी फल्छन्। म सानो हुँदादेखि शिवरात्रिकै दिन फर्सी लगाउँथे। कुनै साल मज्जाले फल्थे। कुनै साल फल्दैन थिए। उहिले डोगडीमा ढुंगा माटोले बनेका र पडा (स्लेट)ले छाएका घर हुन्थे। ती घरको धुरीमा लहरै भुजाहरू (फर्सी) राखेका हुन्थे। दसैंतिर घरको धुरीमा राख्ने अनि हिउँदभरि खाने गरिन्थ्यो। बिस्तारै डोगडी बजार भयो। उसले ढुंगाका घर बिस्र्याे। पडा बिस्र्याे। डोगडीका घरहरू अचेल हरिया जस्तापाताले ‘हरियालीमय’ छन्। जस्तापाताले छाएका घरमा फर्सी राख्ने धुरी हुन छोड्यो। फर्सी फल्न छोड्यो।
रैथाने फर्सीका जात लोप हुँदै गए।
000
माघ मास धर्मी महिना कोद्या खाना हौ कि
मैना चडी घरै छाडी परदेश झाना हौ कि !
भख्खर बिहे गरेको लोग्ने परदेश जान्छ कि भन्ने पिरले बाँचेकी दुलहीलाई लोग्नेले भनेको गीत हो। हाम्रोतिर माघ महिनालाई धर्मकर्मको महिनाका रूपमा लिइन्छ। यो महिनामा धामीझाँक्रीले मासु र कोदोको रोटी खाँदैनन्।
सहर बजारका महंगा होटेल रेस्टुरेन्टदेखि गाउँका साधारण होमस्टेमा समेत कोदोको माग तीव्र रूपले बढ्यो। कोदोको ढिँडो, कोदोको सेलरोटी, कोदोको रक्सी, कोदोको बिस्कुट, कोदोको पाउरोटी, कोदोको रोटी, आदिको माग र महत्व बढ्न थाल्यो। यसरी दोकान मालिकहरू कोदो किन्न गाउँका घर चहार्न थाले। त्यसपछि अचेल डोगडीमा रैथाने कोदो खेती फस्टाउन थालेको छ।
गाउँमा बिजुली आयो। बिजुलीले मिललाई निम्तो दियो। मिल आइपुग्यो। पहिले मिल जान दुई तीन दिन पैदल हिँड्नु पथ्र्याे। यस कारण बिचमा लगभग रैथाने तोरी खेती हराइसकेको थियो। आफ्नै घर आँगनमा मिल आइपुगेपछि तोरीखेतीमा डोगडीका किसानहरू आकर्षित भएका छन्। रैथाने ‘तोरीखेतीको खोलो’ बाह्र वर्षपछि फक्र्याे।परम्परागत रैथाने धानका जात (टाइचन, टाक्मारो) जीवित छन्। डोगडीमा रैथाने धान खेती र रैथाने गहुँ खेती हराइसकेको छैन। आधुनिकीकरणले जिउलो (खेत) छोइसक्दा पनि पनि रैथाने धान र गहुँ सास फेरिरहेका छन्। बाँचिरहेका छन्।
000
उसो त डोगडीबाट बिस्तारै रैथाने गाई, रैथाने बाख्रा पनि हराउन थालेका छन्। आधुनिक विकासे बाख्राहरूले गाउँ प्रवेश पाएका छन्। डोगडीका लेकका खर्कमा भैंसा छैनन्। घरका गोठमा गौ छैनन्। केही मान्छे भारतका विभिन्न सहरमा ज्याला मजदुरी गरिरहेका छन्। केही बिदेसिन बाध्य छन्। गाउँभन्दा विदेश प्यारो ठानिरहेका छन्। गाउँको कुटो, कोदालोभन्दा विदेशी राइफल, विदेशी बन्दुक प्यारो ठानिरहेका छन्।
यही परिवेशसँग मिल्दोजुल्दो, सुदुरपश्चिमकी रैथाने गायिका पवित्रा भण्डारीको एउटा रैथाने ठाडीभाका छ :
झुपा रेल पन...
गौठ गौ नाई पाँड मौ नाई,
रेल पन या मुकी अफ्ठ्यारो
झुपा रेल पन...
आजभोल मु भन्दा साइको,
रेल पन राइफल भयो प्यारो !
एक दिन ती नौजवानहरूलाई देश फर्काउन पाए, परम्परागत रैथाने कृषि प्रणाली र आधुनिक कृषि प्रणालीलाई एउटै हलोले जोत्न पाए, डोगडीका दिन फिर्थे। त्यहाँका रैथाने बाली फेरि जुर्मुराउँथे। किसानको आँखामा सपना फल्थ्यो। अनुहारमा चमक फुल्थ्यो। ओठमा मुस्कान देखिन्थ्यो। माटोको सुगन्ध फर्कन्थ्यो। डोगडीको माटो बोल्थ्यो। डोगडीको माटो बाँच्थ्यो।
माटो बाँच्यो भने किसान बाँच्छ। किसान बाँच्यो भने देश बाँच्छ। हाम्रै पालामा सम्भव छ, रैथाने गीत, रैथाने बाली र रैथाने स्वाद जोगाइराखौं। उठौं। जागौं। बुझौं र बुझाऔं। आधुनिकताको ओढ्ने जति ओढे पनि, आयातीत स्वाद जति चाखे पनि ‘मन्दिरको विकल्प, शौचालय हुन सक्दैन बरू सुधारिएको मन्दिर हुन सक्छ।’
000
अचेल मेरो घरमा मास, गुराँस छैन। समयसँगै गाउँबाट मुसुरो, मास र गुराँस इतिहास बन्यो। मासको कथा मात्रै सुन्न पाइँदैन, अब मास आफैमा
‘कथाको पात्र’ भइसक्यो। गाउँका दोकानमा मुसुरो, मास र गुराँस पाइन्छ तर त्यो अन्त कतैबाट आयातीत हो। गाउँको रैथाने मुसुरो, मास र गुराँसको उहिल्यै ‘मृत्युदर्ता’ भइसकेछ।
000
उसो त डोगडीबाट बिस्तारै रैथाने गाई, रैथाने बाख्रा पनि हराउन थालेका छन्। आधुनिक विकासे बाख्राहरूले गाउँ प्रवेश पाएका छन्। डोगडीका लेकका खर्कमा भैंसा छैनन्। घरका गोठमा गौ छैनन्। केही मान्छे भारतका विभिन्न सहरमा ज्याला मजदुरी गरिरहेका छन्। केही बिदेसिन बाध्य छन्। गाउँभन्दा विदेश प्यारो ठानिरहेका छन्।
000
एक दिन ती नौजवानहरूलाई देश फर्काउन पाए, परम्परागत रैथाने कृषि प्रणाली र आधुनिक कृषि प्रणालीलाई एउटै हलोले जोत्न पाए, डोगडीका दिन फिर्थे। त्यहाँका रैथाने बाली फेरि जुर्मुराउँथे। किसानको आँखामा सपना फल्थ्यो। अनुहारमा चमक फुल्थ्यो। ओठमा मुस्कान देखिन्थ्यो। माटोको सुगन्ध फर्कन्थ्यो।
000
प्रतिक्रिया दिनुहोस !