स्वार्थको द्वन्द्वविरुद्ध ‘कुलिङ पिरियड’

स्वार्थको द्वन्द्वविरुद्ध ‘कुलिङ पिरियड’
सुन्नुहोस्

अवकाशको मुखैमा जागिर छोड्दै अर्काे नियुक्ति लिने प्रवृत्ति उच्चपदस्थ निजामती कर्मचारीमा देखिन्छ । कतिपय जागिर छाड्नासाथै पनि अर्काे नियुक्ति लिइहाल्छन्, पाइहाल्छन् । त्यसका लागि सेवा अवधिमै शक्तिको पूजाआजा गर्न भ्याउँछन्, धाउँछन् । स्वार्थअनुकूल काम पदासीन हुँदै गर्छन् । बहालवाला निर्वाचन आयोगका प्रमुख आयुक्तदेखि अख्तियारका प्रमुख आयुक्तसम्म सेवावधिपछि खासै विश्रामै नगरी दोस्रो करियरका हकदार बनेका हुन् । बेलायतका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी मुख्यसचिवको सेवावधि बाँकी हुँदै राजीनामा गरेर नियुक्ति भएका थिए । उनी यति हतारिएर बेलायत गए कि कूटनीतिक प्रशिक्षण पनि लिएनन् । यस्ता बग्रेल्ती उदाहरण छन् ।

त्यस्तो प्रवृत्ति अन्त्य गर्न निजामती सेवासम्बन्धी ऐनमै कर्मचारीहरूलाई अवकाशको २ वर्ष ‘कुलिङ पिरियड’को व्यवस्था गर्न लागिएको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले त्यस्तो व्यवस्थालाई स्वीकार गरेको छ । अब संसद्बाट पारित भए त्यही व्यवस्था रहन्छ । तर, कर्मचारीतन्त्रका मुखिया अर्थात् मुख्यसचिव एकनारायण अर्याल नै यस्तो व्यवस्थाको विरुद्ध एक किसिमको आन्दोलनमा छन् ।

मानौं, उनी ट्रेड युनियन नेता हुन्, त्यसरी नै नेतानेताका घरदैलो चाहार्दै कुलिङ पिरियड हटाउनुपर्ने लबिइङ गरिरहेका छन् । पछिल्लो दशक उच्चपदस्थ कर्मचारीले कसरी संवैधानिकलगायत पद हत्याए, त्यो हेर्दा कुलिङ पिरियड जरुरी छ । स्वार्थको द्वन्द्व हुनेगरी कर्मचारीले काम नगरून् र भोलिको लोभमा कसैको स्वार्थपूर्ति नगरून् भन्नाका खातिर यस्तो व्यवस्था जरुरी छ । अर्यालहरूलाई कर्मचारीलाई मात्रै थिग्रने समय राख्दा अन्याय हुने कुतर्क गर्छन् । जब कि न्यायाधीशहरूका हकमा यस्तो प्रबन्ध पहिल्यैदेखि छ, नगण्य जिम्मेवारीवाहेक अवकाशप्राप्त न्यायाधीशले पाउँदैनन् ।

कर्मचारीहरूलाई थिग्रने समय नेपालमा नौलो अभ्यास हुन लागेको होइन । अमेरिका, क्यानडा, बेलायतमा २/२ वर्ष छ । भारतमा १ वर्ष छ । अस्ट्रेलिया, जर्मनी, पोल्यान्डलगायत देशमा पनि त्यस्तो व्यवस्था छ । अन्तर्राष्ट्रिय अभ्यास र नेपालकै पाठ सिकेर पनि कर्मचारीलाई हत्त न पत्त अर्काे जिम्मेवारी दिन जरुरी छैन । जहाँसम्म जनशक्ति अभाव हुन्छ भन्ने अर्यालहरूको तर्क छ, त्यसमा कुनै दम छैन ।

६० वर्षमा अवकाश हुने उच्चपदस्थ कर्मचारी दर्जनौं दर्जन हुन्छन् र तिनलाई दुई वर्षको व्यवहार तथा आचरणसमेत हेरी आवश्यकताको आधारमा जिम्मेवारी दिन सकिन्छ । कानुन बनाउने जनप्रतिनिधिले हो, कर्मचारीले होइन । सरोकारवालाका रूपमा उनीहरूले स्वार्थी प्रावधान राख्न पहल गर्छन् भने अस्वीकार गर्ने कर्तव्य नै जनप्रतिनिधि अर्थात् सांसदहरूको हो । स्वार्थ समूहको दलदलमा फसेर संसद्ले ऐनकानुन बनाउने हो भने त्यो अराजकता हुन्छ । लोकतन्त्र मासिन्छ ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.