बौद्धिक सम्पत्ति संरक्षणको चुनौती

बौद्धिक सम्पत्ति संरक्षणको चुनौती

बौद्धिक सम्पत्तिका अधिकारहरूले प्रविधि स्थानान्तरण र अन्य देशसँग सहकार्य गर्न, आर्थिक वृद्धि र विकासलाई अझ बढावा दिन सक्छ ।

विश्व समाज यतिबेला औद्योगिकीकरण र विश्वव्यापीकरणको कब्जामा छ । बौद्धिक सम्पत्तिको विश्व इतिहास नियाल्ने हो भने बौद्धिक सम्पत्तिको अवधारणा शताब्दीयौं पुरानो मानिन्छ । प्रारम्भिक रूपमा सबैभन्दा पहिले पेटेन्ट कानुन भेनिसमा सन् १४७४ मा लागू गरिएको थियो । तर अहिले आधुनिक आईपी शासनको रूपमा पहिचान गर्ने आधार तयार भएसँगै सन् १९६७ मा विश्व बौद्धिक सम्पत्ति संगठन (डब्ल्यूआईपीओ) को स्थापनाले थप बल दिएको छ ।

भौतिक सम्पत्ति विभिन्न तरिकामा सुरक्षित गर्न सकिन्छ तर अमूर्त प्रकृति भएकाले बौद्धिक सम्पत्तिलाई प्रतिकृति वा चोरीबाट सजिलै सुरक्षित गर्न सकिँदैन । त्यसैले बौद्धिक सम्पत्तिलाई अनधिकृत प्रयोगबाट जोगाउन कानुनी संयन्त्र आवश्यक पर्ने गर्छ । नेपाल सन् १९९७ मै संगठनको सदस्य भइसकेको छ भने औद्योगिक सम्पत्तिका लागि पेरिस सम्झौता, व्यापार सम्बद्ध बौद्धिक सम्पत्तिको अधिकार र अन्य सम्बन्धित अधिकारसम्बन्धी वर्न सम्झौतामा समेत आबद्ध छ । नेपालमा बौद्धिक सम्पत्ति संरक्षणका लागि १९९३ सालमा नेपाल पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन आएको देखिन्छ । हाल नयाँ ऐन छ । विश्व बौद्धिक सम्पत्ति संगठन (डब्ल्यूआईपीओ) को ग्लोबल इनोभेसन इन्डेक्स २०२४ को प्रतिवेदनअनुसार नेपाल सर्वेक्षण गरिएका १ सय ३३ देशमध्ये १ सय ९औं स्थानमा छ । 

अर्थात्, नेपालको स्थिति निराशाजनक छ । नेपालको संविधान, २०७२ ले बौद्धिक सम्पत्तिको हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ ।बौद्धिक सम्पत्ति राष्ट्रको आर्थिक विकासलाई डोहोर्‍याउने महŒवपूर्ण आधार हो । विश्व समाज यतिबेला प्रविधिलाई टेको बनाएर समृद्धिको बाटोमा लम्किरहेको छ । नयाँ आविष्कार, निर्माणलाई यदि प्रोत्साहन र संरक्षण गर्ने हो भने देशमा बाहिरी लगानी बढ्ने निश्चित छ । विडम्बना के छ भने स्वदेशी कम्पनीले विदेशी ब्रान्डको ट्रेडमार्क चोरेर दुरुपयोग गर्ने घटना बढ्दै गएको पाइन्छ, जसले विदेशी लगानीकर्तालाई निरुत्साहित बनाएको छ । सरकार बौद्धिक सम्पत्ति अधिकारको संरक्षण गर्न चाहिँ असफल भएको छ । अर्को चुनौती भनेको अन्तर्राष्ट्रिय सन्धि, अभिसन्धिका प्रावधानलाई नीति कानुनमा समायोजित गर्न नसक्नु हो । कतिपय अवस्थामा सर्जकहरू कानुनी प्रावधानबारे अनविज्ञ भएका कारण पनि चुनौती थपिएको पाइन्छ ।

न्यायिक असक्षमता र विशेषज्ञताको अभाव अर्को चुनौती हो । नेपालको कानुन प्रणालीमा बौद्धिक सम्पत्तिसम्बन्धी मुद्दाहरूको चाङ रहेका कारण वर्षौंसम्म पनि मुद्दा नटुंगिने भएकाले यसको मुद्दामा अल्झिएका व्यक्ति तथा व्यवसायी कानुनी सहारा खोज्न निरुत्साहित छन् । जसले बौद्धिक सम्पत्ति चोरीलाई उत्साहित गर्ने निश्चित देखिन्छ । बदलिँदो बिश्वमा दैनिक रूपमा नयाँ प्रकृतिको बौद्धिक चोरीका मुद्दा आउने गर्छन् । जसलाई सामना गर्न सम्बन्धित निकायको अभ्यास गराउन आवश्यक देखिन्छ । बौद्धिक सम्पत्तिको विचलन र दुरुपयोग आदिको प्रभावकारी नियन्त्रण गरी दोषीलाई उचित सजाय दिनु बौद्धिक सम्पत्ति व्यवस्थाको महŒवपूर्ण पक्ष हो । हालको ऐन–नियम र जनशक्तिबाट यस क्षेत्रमा प्रभावकारिता आउन सकेको देखिँदैन ।

बौद्धिक सम्पत्ति संरक्षण सचेतना आमनागरिक र सम्बन्धित समुदायको पहुँचमा पुगेको छैन । सरकारले हरेक स्थानीय तहमा बौद्धिक सम्पत्ति सम्बन्धित कानुन, संरक्षणको बाटोलगायत विभिन्न पाइला चाल्नु आवश्यक छ । यसो गर्न सके आमनागरिक यसको चपेटामा पर्ने छैनन् । आम सर्जकलाई आफ्ना सिर्जना, कलाकृति आदिलाई कसरी दर्ता गर्न सकिन्छ भन्ने अभ्यासको पहुँचमा पुर्‍याउन सके हकदाबी गर्न पछि हट्ने छैनन् । बौद्धिक सम्पत्तिहरूको दर्ता गर्ने, छानबिन गर्ने, परीक्षण गर्ने कार्य जटिल एवं प्राविधिक काम हो । यसका लागि पर्याप्त सूचना, तथ्यांक र जानकारीहरूको संकलन र प्रयोग हुनुपर्छ । साथै अनुभवी र तालिम प्राप्त जनशक्ति पनि त्यति नै आवश्यक हुन्छ । अन्तर्राष्ट्रिय जगत्मा कम्प्युटर प्रविधिको निकै विकास भइसकेको छ । समग्र बौद्धिक सम्पत्तिको प्रशासन सञ्चालन गर्ने दक्ष जनशक्ति, उपयुक्त साधन स्रोत र प्रविधि, समयानुकूल ऐन, नियम आदिले सम्पन्न एक छुट्टै प्रशासकीय संगठन संरचनाको व्यवस्था गर्न जरुरी देखिन्छ ।

बौद्धिक सम्पत्तिको मुद्दाहरूलाई प्रभावकारी रूपमा सम्हाल्न न्यायपालिका र कानुन प्रवर्तन एजेन्सीहरूको क्षमतालाई बलियो बनाउन आवश्यक छ । यसमा न्यायाधीशहरू, अभियोजनकर्ताहरू र प्रहरी अधिकारीहरूलाई बौद्धिक सम्पत्ति कानुन, अनुसन्धान प्रविधिहरू र प्रमाण संकलनसम्बन्धी विशेष तालिम प्रदान गर्नुपर्ने देखिन्छ । यसबाहेक, सरकारले विवादहरूको द्रुत समाधान गर्न छुट्टै विशेष बौद्धिक सम्पत्ति अदालत वा न्यायाधिकरणहरू स्थापना गर्न सक्छ । स्रष्टा, आविष्कारक तथा लेखकको बौद्धिक सम्पत्तिमाथिको अधिकार प्रत्याभूत गर्न, उद्योग व्यवसायमैत्री वातावरण बनाउन, पेटेन्ट अधिकार सुरक्षित गर्न, विदेशी लगानी बढाउन, रोजगारीका अवसरहरू सिर्जना गर्न, विदेशी प्रविधिको आयात गर्न र प्रविधि हस्तान्तरणमा सघाउन तथा उपभोक्ताको हित संरक्षण गर्नसमेत बौद्धिक सम्पत्ति संरक्षणको व्यवस्था गर्न आवश्यक देखिन्छ ।

अन्तर्राष्ट्रिय अभ्यास छिचोल्ने हो भने छिमेकी मुलुक चीनमा विशेष बौद्धिक सम्पत्तिसम्बन्धी मुद्दा हेर्न विशेष अदालतको व्यवस्था गरिएको छ । जसले विदेशी लगानी आकर्षित गर्न मद्दत पुगिरहेको छ । त्यस्तै, अमेरिकामा एफबीआई र अन्य एजेन्सी छन् । जसले ठूलो मात्रामा बौद्धिक सम्पत्ति चोरीको अनुसन्धान गर्छ । जसमा प्रायः संगठित अपराध र अन्तर्राष्ट्रिय अपरेसनहरू समावेश हुन्छन् । अन्तमा, बौद्धिक सम्पत्तिका सर्जकहरू समाज र आर्थिक विकासका लागि योगदानकर्ता हुन् । बौद्धिक सम्पत्तिले विश्व बजारमा राष्ट्रको प्रतिस्पर्धात्मकतामा योगदान पुर्‍याउँछ । घरेलु आविष्कारहरूको संरक्षण गरेर, देशले प्रविधि, औषधि र मनोरञ्जनजस्ता विभिन्न उद्योगमा प्रतिस्पर्धात्मक लाभ प्राप्त गर्न सक्छ । जसले निर्यात वृद्धि, उच्च राजस्व र व्यापार सन्तुलनमा सुधार ल्याउन सक्छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.