यार्सा संकलन छोडेर  योजना तर्जुमामा गाउँले

गाउँका विकास छलफलमा सहभागी नहुनेलाई जरिबाना

यार्सा संकलन छोडेर  योजना तर्जुमामा गाउँले
आफ्नो बस्तीमा योजना तर्जुमाको छलफलमा सहभागिता जनाउँदै स्थानीय। तस्बिर : जीवन सेजुवाल

मुगु : हुन त यतिबेला मुगुमा यार्सा संकलनको समय हो। गाउँ नै रित्तो बनाएर गाउँलेहरू यार्सा संकलन गर्न जान्छन्। तर, गाउँपालिकाले योजना तर्जुमा तथा विकास निर्माणका छलफलमा सहभागी हुन गाउँलेलाई अनिवार्य गरेको छ। यस्ता छलफलमा सहभागी नहुनेलाई गाउँपालिकाले जरिबाना नै तिराउने निर्णय गरेपछि गाउँलेहरू यार्सा संकलन छोडेर गाउँ फर्कन थालेका छन्।

जिल्लाको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाकाले आफ्ना टोलबस्तीमा हुने योजना तर्जुमाका छलफल र विकास निर्माणमा स्थानीयको सहभागिता अनिवार्य गरेको छ। सहभागी नहुनेलाई जरिबाना तोकेपछि गाउँलेहरू यार्सा संकलनको समय छोट्ट्याएर बस्तीमा आउन थालेका हुन्। मुगुम कार्मारोङ गाउँपालिकाका ९ वडामा १७ वटा बस्ती छन्। ती बस्तीमा क्षेत्री र लामा समुदायको बसोबास छ। जेठको पहिलो सातादेखि असार दोस्रो सातासम्म यहाँका समुदाय यार्सा संकलनका लागि पाटन क्षेत्रमै हुन्छन्। गाउँमा वृद्धवृद्धा र बालबालिकामात्र हुने गर्छन्। यही कारण विकास निर्माणका काम सम्पन्न गर्न टोलबस्तीमा गरिनुपर्ने योजना तर्जुमाका छलफलमा बाधा पुग्ने गर्छ। 

त्यसैकारण यस्ता कार्यमा प्रत्येक घरधुरीको अनिवार्य सहभागिता हुनुपर्ने र सहभागी नहुनेलाई २० हजारसम्म वडाले जरिबाना तोक्यो। त्यही जरिबानाको डरले यार्सा संकलन गर्न हिँडेकाहरू योजना तर्जुमा र विकास निर्माणकार्यमा सहभागी हुन थालेका हुन्।

आउँदो आर्थिक वर्ष २०८२/८३ का लागि मुगुम कार्मारोङ गाउँपालिकाले आफ्ना वडाका बस्ती र टोलमा योजना तर्जुमाका छलफल र गोष्ठी सुरु गरिसकेको छ। यस आर्थिक वर्षका लागि तोकिएका विकास निर्माणका कामको ६–७ महिनाअघि नै सम्झौता भइसकेका छन्। सम्झौता भइसकेर पनि निमार्णकार्य ढिलाइ हुन थालेपछि असार ३ देखि ५ गतेसम्म सम्भmौता भएका काम सम्पन्न गर्न र टोलबस्तीमा हुने योजना तर्जुमा गोष्ठीमा सबैको समान सहभागिताका लागि अनिवार्यता गरेपछि स्थानीयले सबै खाले कार्यमा सहभागिता जनाउन थालेका मुगुम कार्मारोङ गाउँपालिकाका उपाध्यक्ष छिरिङ पुटिक लामाले बताइन्।

‘पहिले योजना छनोट कहाँ कुन ठाउँबाट हुन्थ्यो, कसैलाई थाहा हँुदैनथियो। अहिले हाम्रो पालिकाका सबै वडा बस्तीमा बजेट सभा हुनुपुर्व वडाका बस्तीमै पुगेर योजना तर्जुमा हँुदै आएको छ। उक्त कार्यक्रममा सबैको सहभागिता हुने भएकाले योजना तथा कार्यक्रमसमेत आवश्यकताअुनुसार छनोट हुने र यसले सबै घरधुरी समुदाय लाभान्वित हुन्छन्’, मुगुम कार्मारोङ—३ का वडाध्यक्ष पासाङ लामाले भने।

यार्सा संकलन गरेर आम्दानी हुने भनेकै यही समय हो। ‘जेठ १५ देखि असार १५ सम्म हामीहरू पाटन क्षेत्रमा यार्सालगायत अन्य जडीबुटी संकलनतिरै व्यस्त हुन्छौं। हाम्रो मुख्य आम्दानीको स्रोत पनि यही हो। गाउँका सबै पाटनतिर हिँडेपछि असार मसान्त अगाडि नै सम्पन्न गरिनुपर्ने विकास निर्माणका कार्य सबै रोकिने र बजेट फिर्ता जान्छ। त्यसैले वडाले गाउँमा सञ्चालन गर्ने सबै खाले विकास निमार्णका योजनामा प्रत्येक घरधुरीलाई अनिवार्य सहभागिताका लागि भनियो। आउँदो आर्थिक वर्षका बजेटका लागि समस्या पहिचान गरी योजना छनोट गर्नुपर्ने देखियो’, सहभागी नहुनेलाई २० हजार जरिबाना तोकेपछि जरिबाना तिर्नुभन्दा यार्सा संकलनको समय छोट्ट्याएर गाउँमा पुगेका मुगुम कार्मारोङ—४ का कार्तिग्याक खानेपानी उपभोक्ता समितिका अध्यक्ष छिटुप लामाले बताए।

टोलबस्तीमै योजना छनोट हुँदा हर्षित
मुगुमका चार स्थानीय तहमध्ये मुगुम कार्मारोङ गाउँपालिकाले आफ्ना ९ वटै वडाका टोलबस्तीमा पुगेर योजना तर्जुमाका छलफल, गोष्ठीको आयोजना गरेपछि वृद्धवृद्धा र अपांगता भएका व्यक्ति हर्षित भएका छन्। यी गाउँपालिकामा स्थानीय पूर्वाधार सहयोग परियोजना लागू भएपछि हरेक आर्थिक वर्षका लागि ल्याइने बजेटमा टोल समुदायको आवश्यकता पहिचानका लागि टोलबस्तीमै पुगेर योजना तर्जमाका छलफल गर्दा आफ्ना आवश्यकता र मुद्दालाई राख्न पाइने भएकाले सबैभन्दा बढी वृद्धवृद्धा र अपांगता भएका व्यक्तिहरू हर्षित भएका हुन्। 

टोलबस्तीमै योजना तर्जुमाको छलफल हुँदा सबैको समान सहभागिता हुने र विकास निमार्णका योजना तथा कार्यक्रम प्राथमिकतामा पर्ने भएकाले टोलबस्तीमै छलफललाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ।

मुगुम कार्मारोङ गाउँपालिका—४ का ९४ वर्षीय कार्माछिरिङ तामाङ भन्छन्, ‘हामी वृद्धवृद्धाका थुप्रै समस्या छन्। यी समस्या लिएर वडा पालिकादेखि गाउँपालिकासम्म हामी पुग्न सक्दैनांै। पुगे पनि हाम्रो समस्या कसैले सुनिदिँदैनन्।’ टोलबस्तीमै पुगेर यस्ता छलफल हुँदा वृद्धवृद्धा, बालबालिका, अपांगता भएका व्यक्तिदेखि सबैका समस्यालाई सहजै राख्न सकिने र सबैको सहभागिता हुने हुँदा छलफलमा सही निष्कर्ष आउने उनले बताए।

‘गाउँघरका योजना माग्न पालिका वडादेखि पालिका केन्द्रसम्म धाउनु पथ्र्यो। हाम्रा समस्या कसैले सुन्दैनथिए। आवश्यकता एउटा, योजना अर्को आउँथ्यो। तर अहिले बस्तीका मुख्य समस्या पहिचान गरी योजना छनोट हुने भएकाले सबैभन्दा बढी अपांगता भएका व्यक्तिहरूको मुद्दालाई बस्तीमा हुने यस्ता खाले गतिविधिले केही राहत महसुस भएको छ’, सोही गाउँपालिका—४ कार्ती गाउँका नोर्बेल तामाङले बताए।

पूर्वाधार सहयोग परियोजनाका कर्मचारीहरूको सहजकीरणमा टोलबस्तीमा योजना तर्जुमा हुने गर्दै आएको छ। टोलबस्तीबाट छनोट भई आएका योजना तथा कार्यक्रमलाई वडा पालिकाका जनप्रतिनिधिले प्राथमिकीकरणमा राख्दै गाउँसभाले पारित गर्ने भएकाले बस्तीबाट छनोट भएका योजनाको सुनिश्चित हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुभाष रावलले बताए।

मुगुम कार्मारोङ गाउँपालिकामा स्थानीय पूर्वाधार कार्यक्रम लागू भएको छ। योजना तर्जुमा दिग्दर्शन २०७५ अनुसार स्थानीय स्तरका टोल, बस्ती वडादेखि गाउँसभासम्म योजनाको कार्यान्वयन गर्न सात चरणका प्रक्रियाहरू पूरा गर्दै सम्बन्धित योजनालाई प्रथामिकीकरण गर्नुपर्ने हुन्छ। 

स्थानीय निकायलाई यो अधिकार हस्तान्तरण गरिएको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकालको मध्यान्तरमा पुगिसक्दासमेत मुगुका चार स्थानीय तहमध्ये मुगुम कार्मारोङ गाउँपालिकाले यो दिग्दर्शन अक्षरशः पालना गर्ने पहिलो गाउँपालिका भएको अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.