सेती राजमार्गमा रूख कटानका लागि सम्झौता

सेती राजमार्गमा रूख कटानका लागि सम्झौता

अछाम : सेती राजमार्गको दक्षिणी खण्डमा पर्ने रुख कटानका लागि बुधबार सम्झौता भएको छ। रुख कटानका लागि वन तथा वातावरण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच सम्झौता भएको हो। सेती राजमार्ग आयोजनाका निमित्त प्रमुख विरेन्द्रबहादुर चन्द र वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक अजितकुमार कर्णले सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौता भएसँगै लामो समयदेखि रोकिएको काम अब सुचारु हुनेछ। डोटीको ठूलीगाड–सेती–बूढीगंगा दोभानमा ४० किलोमिटर सडक निर्माणका लागि राष्ट्रिय वनको ८० हेक्टर जग्गामा रहेको २ हजार ७८५ रुख कटानका लागि सम्झौता भएको सूचना अधिकारी केशवदत्त मिश्रले जानकारी दिए। वन विकास कोषमा ४० करोड जम्मा गर्न नपर्ने गरी रुख कटानको सम्झौता भएको मिश्रले बताए। 

उनले भने, ‘प्रक्रिया अघि बढाउन बाटो खुल्यो। अब वन डिभिजन कार्यालय डोटीले कटानको आदेश दिन्छ अनि कटान सुरु हुन्छ। वनले एकपटक फेरि स्थलगत निरीक्षण गर्छ। कटान हुने रुखमा टाँचा लगाउँछ त्यसपछि कटानको काम सुरु हुन्छ।’ वन ऐन २०७६ को दफा ४२ को उपदफा (१) बमोजिम डोटीको बडिकेदार गाउँपालिका १, २, ३, ७ र बोगटान गाउँपालिकाको वडा नं ३ मा रहेको राष्ट्रिय वनको ८० हेक्टर वन क्षेत्रको रुख कटान हुनेछ।

कैलाली क्षेत्र २ का पूर्वसांसद झपट रावलले धेरै सकसपछि रुख कटानको कानुनी झन्झट सकिएको बताए। वनसम्बन्धी अव्यवहारिक कानुनका कारण सुदूरपश्चिमको गौरवको आयोजना प्रभावित हुँदै आएको रावलले बताए। उनले भने, ‘सेती राजमार्ग बीआरआईमा समेटिनुपर्ने हो तर विडम्बना यस्तो हुन सकेन। मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गराउन यतिका समय लाग्यो। सेती राजमार्ग ‘गेम चेन्जर’ प्रोजेक्टको रूपमा अगाडि बढाउनु पर्छ।’ सुदूरपश्चिमको समृद्धिसँग जोडिएको त्रिदेशीय सडक सेती राजमार्गलाई केही तत्वहरूले गलत ढंगले प्रचार गरेको कारण कामले गति लिन नसकेको रावलले बताए।

रुख कटानका लागि मन्त्रिपरिषद्को बैठकले दुईपटक गरेको निर्णय कार्यान्वयन नहुँदा रुख कटानको काम हुन सकेको थिएन। सेती राजमार्ग सडक खण्डअन्तर्गत सबैभन्दा धेरै डोटीको ठूलीगाड क्षेत्रमा ट्याक खुल्न सकेको थिएन। सेती राजमार्गअन्तर्गत दक्षिणी खण्डमा हालसम्म १२६ किलोमिटर ट्याक मात्र खोलिएको छ। दक्षिणीखण्ड २०४ किलोमिटर रहेको छ। ७८ किलोमिटर ट्याक खोल्न बाँकी रहेको छ। सेती राजमार्गअन्तर्गत दक्षिणी खण्डको कैलाली क्षेत्रमा ७२ किलोमिटर, अछाममा ८०, डोटी ४० र बाजुरा क्षेत्रमा १२ किलोमिटर सडक पर्दछ। हालसम्म कैलालीको २ किलोमिटर ट्याक खुल्न बाँकी छ भने डोटीको ४०, अछामको २४ र बाजुराको १२ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको छ।

कैलालीको टीकापुर भारतसँग जोडिएको तिकुने नाका हुँदै बौनियाबाट डोटी, अछाम, बाजुरा, बझाङको चैनपुर हुँदै यो सडक तिब्बतको ताक्लाकोटसम्म जोडिने लक्ष्य छ। ३ सय ५२ कुल लम्बाइ रहेको सेती राजमार्गको दुई खण्ड बनाएर निर्माण कार्य भइरहेको छ। राजमार्गको दक्षिणी खण्डअन्तर्गत साँफेबगरमा र उत्तरी खण्डतर्फ बझाङको चैनपुरमा कार्यालय रहेको छ। उत्तरी खण्ड १४८ किलोमिटर रहेको छ भने ७२ किलोमिटर मात्र ट्र्याक खुलेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.