सूत्रात्मक सूक्ष्मकथा

सूत्रात्मक सूक्ष्मकथा

साहित्यका विविध विधामा कलम चलाउँदै आएका इन्द्रकुमार श्रेष्ठ ‘सरित’ मूलतः आख्यानकार हुन् । उपन्यासका साथै उनले पाठकलाई कथा संग्रह दिएका छन् । उनका कथा संग्रह पठनीय मात्रै छैनन्, स्तरीय र चर्चित पनि छन्, दिदीको देवर, जस्केलोबाट चियाउने सूर्य, एकजोर फूलघोडा, सरितका 
प्रतिनिधि कथा, ऋतु फेरिँदै जान्छ र ड्राइभर दिदी आदि । उनको लेखनको राजमार्ग आख्यानबाटै बनेको छ ।

भनिन्छ, बस चलाउन सक्ने चालकले मिनीबस, भ्यान त सजिलै चलाउँछ । उपन्यास, कथा संग्रहबाट कलम तिखारेका उनले लघुकथा लेख्नु कुनै आश्चर्यको कुरा भएन । पहिल्यैदेखि फुटकर रूपमा लघुकथासमेत सिर्जना गर्दै आएका उनले २०८१ वैशाखमा लघुकथा संग्रह लिएर आएका छन् । ‘एक मुठी घाम’ उनको नवीतम लघुकथा संग्रह हो । ४१ लघुकथा समेटिएको यस पुस्तकले नेपाली राजनीतिक समाज देखाउन स्पष्ट ऐनाको काम गरेको छ । लघुकथाका विशेषता, विषयवस्तु र लेखन शैलीका बारेमा किताबको भूमिकामा नारायण तिवारी र प्रा.डा. गोपीन्द्र पौडेलले बृहत् चर्चा गरेकाले पनि कृतिको गुणवक्ताको अनुमान गर्न सकिन्छ ।

लघुकथाहरूमा सरितले प्रष्ट बिचारबाट शाश्वत दृष्टिकोण निर्माण गरेका छन् । निम्नवर्गीय पात्रको न्यायका लागि नै उनले लघुकथामा समय खर्चेका छन् । उनका लघुकथाहरू पढिरहँदा सुरु, मध्य वा अन्तमा कतै न कतै राजनीतिले प्रवेश पाइहाल्छ । पात्रको चरित्रलाई चिनाउन उनले राजनीतिको सहारा लिए पनि उनका कुनै पनि कथामा राजनीति उदांगो रूपमा आएको छैन । विचार निर्माण गर्न कलात्मक रूपमा राजनीतिक घटनाको प्रयोग भएकाले नै लघुकथा पठनीय छन् । लघुकथाहरूले शोषण, दमनविरुद्ध आवाज उठाएका छन् । नेताहरूको वर्तमानमा देखिएको स्खलित नैतिक चरित्र र उनीहरूप्रति जनतामा दिनानुदिन बढिरहेको घृणाभाव लघुकथाका प्रमुख विषयवस्तु हुन् ।

सामान्यजनको राजनीतिप्रतिको आशालाई नेताहरूले कसरी तिरस्कार गर्छन् भन्ने कुरा लघुकथाले देखाएका छन् । राजनीतिको सानुराजा सिंह, चरित्रको बेदबहादुर तुम्बाहाम्फे, मूलघरको मूल ढोकाको मालिक, फेरिन्छन् मुहारहरूको मन्त्री, बिर्खबहादुरको नारानबाबु, सक्कली (नक्कलीको केन्द्रीय नेता, नयाँ मोडमा उभिएरको जीवन साथी कमरेड, विचारमा निष्ठावान्को सन्दीप, कमरेड दमयन्तीकी दमयन्ती, घाइते श्रीमतीको मन्त्री, चतुरमान चाँचरीको चतुरमान चाँचरी, कर्तुतको रमाकृष्ण सिंह, नेताजीको नेताजी र इमानदार मन्त्रीज्यूको मन्त्रीजस्ता पात्रमार्फत लघुकथाकारले राजनीतिको खोल ओढेर कमाउ धन्दामा लीन भएका, मालिकको इशारामा पार्टी फुटाएका, सहकर्मीलाई धोका दिएका सन्दर्भ जुटाएका छन् ।

यस्तै, चुनावको समयमा आफूलाई सहयोग गर्ने कार्यकर्ता अप्ठ्यारोमा परेको बेला तिनैलाई नचिनेका, द्वैध चरित्र देखाएका र श्रमजीवीलाई हेप्ने, शोषण, दमन गर्ने गरेर जनसेवक हुनुपर्नेमा बेइमान हुँदै गएका नेताहरूका चरित्रलाई उजागर गरी सांकेतिक रूपमा यस्ता विकृति, विसंगतिको विरुद्धमा आवाज बुलन्द गरेको र अग्रगामी चेतको निर्माणले लघुकथाहरू उत्कृष्ट बनेका छन् । सरितले विकृति र विसंगतिको पर्दाफास मात्रै गरेका छैनन्, भोलिको उज्यालो दिन पनि देखाएका छन् । यस्ता लघुकथाहरूमा प्रस्टरूपमा आशावादी सोच रहेको देख्न सकिन्छ । एक मुठी घाम, भोलिको दिन, वैचारिक दृढता, घामको स्वागत र इमानदारिताजस्ता लघुकथाहरूले इमानदारी, त्याग र उज्यालोका कथा भनेका छन् ।

सरितका कथाहरूको प्रमुख बिशेषता भनेको अग्रगामी दृष्टिकोण, समसामयिक घटनाक्रम र तीक्ष्ण व्यंग्य हो । यस्ता विषयवस्तुले लघुकथालाई चखिलो र चोटिलो बनाएका छन् । कतै पानीको विषय उजागर भएको छ भने कतै वर्तमान समयको नियुक्ति प्रणालीको भद्दा रूप देखिएको छ त कतै साहित्यिक वृत्तको विषयवस्तु पनि लघुकथामा आएका छन् । पूर्वाभ्यास, काकाकुलको तिर्खा, सम्झौता, देश खोज्दै, दसैं त, सर्वोच्चता, साहस, नानु अब त मान्देऊ, नाच्ने बुढा, त्यो सन्देश, नदीको विशाल छातीमा, म के गरुँ, हात्तीको खाने र देखाउने दाँत, असहमति, कलमको आवाज, नोकरी, नियुक्ति, हिजोआज, चड्कन, व्यावहारिक, गणतन्त्र आएर नै जस्ता लघुकथाले समसामयिक चेतनाको प्रवाह गरेका छन् । क्रान्ति र परिवर्तनको आकांक्षा मुखारित भएको छ अनि देशको सग्लो चित्र आएको छ यी लघुकथामा ।

सरितको कलम परिस्कृत छ । प्रायः अशुद्ध वाक्य भेटिँदैन । सम्पादन पक्ष बलियो छ । लघुकथाको कसीमा राखेर हेर्दा आयाम मध्यम छ भने विषयवस्तुको आकस्मिक उठान, घटनाक्रमको तीव्र विकास र झट्कायुक्त समापनलाई लघुकथाको अवयव मान्नुपर्छ । कथानकको सुरुवात विस्तारपूर्वक भएको, ठूलो कथाको रूपमा सुस्तसुस्त अगाडि बढेको र व्याख्यात्मक रूपमा छ । लघुकथाका कतिपय विद्वान्हरूको भनाइअनुसार शैलीका दृष्टिले लघुकथा संवादात्मक र प्रतिवेदनात्मक गरी दुई प्रकारका हुन्छन् । सरितका लघुकथाहरूले यी दुवै शैलीगत विशिष्टतालाई अंगीकार गरेका छन् । सूत्रात्मकता लघुकथाको गहना मानिन्छ । लघुकथाहरूको अन्त्य भने असाध्यै धारिलो छ ।

अन्त्यमा, रहस्योद्घाटन गर्न भने सक्षम छन् लघुकथा । लघुकथाको समापनका हिसाबले हेर्दा भने लघुकथा सार्थक छन् । लघुकथाको रूप ढाँचामा अन्त्य भएका छन् । लघुकथा विधाको प्रथम कृति नै यति दमदार रूपमा आउनु पक्कै पनि सुखद कुरा हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.