सांसदज्यू, सुन्ने कि बागमती पीडितको पेचिलो प्रश्न ?

सांसदज्यू, सुन्ने कि बागमती पीडितको पेचिलो प्रश्न ?
फाइल तस्बिर।

सार्वभौम नागरिकको सम्पत्तिामाथिको संवैधानिक अधिकार राज्यद्वारा खोसिनु गैरन्यायिक कार्य हो। यस कुराको पुस्ट्याइँ नदीकिनार मापदण्डसम्बन्धी सम्मानित सर्वोच्च अदालतको फैसलाले पनि गरेको छ।

यतिखेर व्यवस्थापिका संसद्को बजेट अधिवेशन संघीय संसद्मा चलिरहेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका सम्पूर्ण माननीय सांसद सदस्यहरूको ध्यानाकर्षणका लागि लामो समयदेखि अनिर्णीत पेचिलो विषय र प्रसंगमा माननीयज्यूहरूको ध्यानाकर्षण गराउने प्रयास गरिएको छ । जनताको प्रतिनिधिद्वारा जनताकै लागि निर्वाचित सरकारमार्फत चलेको शासन व्यवस्थामा जनताको काम छिटो, छरितो र निस्वार्थ भावनाले सम्पादन गरिनुपर्ने हो । सुशासन, समृद्धि र नागरिकहित एकअर्कासँग अन्योन्याश्रित विषय रहेको वर्तमान परिप्रेक्ष्यमा माननीयज्यूहरूको ध्यानाकर्षणका लागि यो यो खुलापत्र प्रस्तुत गरेको छु ।

कार्यपालिकाले वर्षौंदेखि झुलाएर राखेको बागमतीपीडित किसानवर्गको गाँस, बास र कपासको सन्दर्भमा केन्द्रित यो विषयप्रति यहाँहरूको ध्यान अवश्य जानेछ । काठमाडौंस्थित गुह्येश्वरी मन्दिरदेखि माथि गोकर्ण ब्यारेजसम्म बागमती नदी शुद्धीकरण गर्ने बहानामा राज्यले गरेको घोर अन्यायको घटनाक्रम यस्तो छ । आव २०५१/०५२ मा तत्कालीन सरकारले बागमती नदी शुद्धीकरण आयोजना सञ्चालनका लागि ‘अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति’ गठन ग¥यो । उच्च प्राथमिकता प्राप्त समितिलाई पहिलो पटक गोकर्ण–गुह्येश्वरी खण्डको बागमती नदी सौन्दर्यीकरणको जिम्मेवारी दियो । गठन आदेश प्रक्रियाद्वारा ल्याइएको समितिलाई कार्यक्षेत्रभित्र निर्धक्कसँग काम गर्न सजिलो होस् भनेर भूमिसम्बन्धी सम्पूर्ण अधिकार दिइएको थियो ।

आराध्यदेव पशुपतिनाथलाई शुद्ध जलले सिञ्चन गर्न नदीको सानो भागमा मात्र ‘बागमती नदी सौन्दर्यीकरण आयोजना’को शुभारम्भ भयो । सुन्दरीजलबाट गोकर्ण ब्यारेज हँुदै गुह्येश्वरी, पशुपति, शंखमूल, थापाथली भएर चोभार छिचोल्ने जल प्रवाहलाई स्वच्छ, निर्मल र पवित्र पार्ने बृहद् लक्ष्यसहित आएको आयोजनालाई सरकारले राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरबाट पैसा र अन्य स्रोतको खोलो बगाउँदै आएको छ । विगत ३० वर्षदेखि अर्बौं–अर्ब खर्च हुँदा पनि बागमती नदीमा पुग्न नपाउँदै नाक थुन्नु पर्ने, नदीमा पाइला प¥यो भने अनेक चर्म रोग लाग्ने समस्या यथावत् छ । यो कुराको अनुभव माननीयज्यूहरूले गर्नु भएकै होला । साबिकमा १५ मिटरको साँघुरो नदीलाई एकैचोटी ४० मिटरसम्म फराकिलो बनाउँदा धेरै किसानको जमिन खोलामा पारियो । जग्गा प्राप्ति ऐन, २०३४ लाई पूरै लत्याएर आयोजना सुरु गरियो ।

सरकारको सेतो हात्तीका रूपमा विद्यमान यो विकासे समिति भ्रष्टाचार, बेथिति र कुशासनको अखडा भएको छ । स्थानीय जनतालाई बेवास्ता गरेर केन्द्रबाट लादिएको नदी सौन्दर्यीकरण आयोजनामा अथाह साधनस्रोतको लगानी भएको छ । यो दूषित कार्यको पृष्ठपोषकका रूपमा तत्कालन मुख्यसचिव लीलामणि पौड्याल, तत्कालीन अध्यक्ष बिदुर पौडेल रहनुभयो । काठमाडौंस्थित कागेश्वरी मनोहरा, गोकर्णेश्वर नगरपालिका र का.म.पा–६ का बागमती तटीय किसानहरूको गाँस, बास र कपास खोसेर योजना सञ्चालन गरेको पनि वर्षौं भइसक्यो । एसियाली विकास बैंकबाट चार अर्बभन्दा अधिक बजेट ऋणका रूपमा लिएर सञ्चालित यो कार्यक्रमबाट स्थानीय जनता लाभान्वित हुनुको साटो घरबारविहीन हुन पुगेका छन् ।

२०२१ सालको नक्सालाई तोडमोड गरेर उत्तर–दक्षिणतर्फको बहाव क्षेत्रलाई झन्डै तीन गुणा फराकिलो बनाउँदा व्यक्तिगत जमिन खोलामा पर्न गयो । बहाव क्षेत्र विस्तार गर्दा विस्तारित क्षेत्रमा पारिएको जमिनको मुआब्जा धेरै किसानले पहिल्यै पाए भने थोरैले पाएका छैनन् । राज्यपक्षले गरेको यो जघन्य अपराधविरुद्ध धेरै पटक विभिन्न सञ्चारमाध्यममार्फत उठ्दै आएको कुरा सर्वविदितै छ । यो मुद्दाको विषय र प्रसंग सतहमा आएपछि धेरै पटक सरकार फेरियो । प्रधानमन्त्री, मन्त्रीहरू आए–गए । वर्तमान प्रधानमन्त्री केपी ओली पनि दुई पटक प्रधानमन्त्री भइसक्नु भयो । अहिले त यही क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने प्रकाशमान सिंह विभागीय मन्त्री हुनुहुन्छ । तर अपशोच ! कसैले पनि यो कुरामा ध्यान दिनु भएन । उहाँले पनि यसै हो 
भन्न सकिरहनु भएको छैन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको डरले जग्गाको मामलामा कलम चोप्न नचाहने कर्मचारी र राजनीतिज्ञहरूको दोहोरो मारमा फसेका किसानहरूको निर्णय कहिले हुने ?    बागमतीको बहाब क्षेत्र विस्तारका क्रममा नदीमा परिणत करिब १ सय ८८ रोपनी जमिनमध्ये १ सय ४६ रोपनीको मुआब्जाबापत जग्गाको सट्टा जग्गै र नगद नै वितरण भइसकेको छ । आजका मितिसम्म एक इन्च जमिन र एक पैसा पनि मुआब्जाबापत नपाएका पीडित किसानहरूको जमिनको क्षेत्रफल ४१–९–२–० मात्र हो । यो जग्गाको मुआब्जा वितरण गर्न सजिलो होस् भनेर भूमि सुधार विभागले क, ख र ग गरी तीन वर्गमा पीडित किसानहरूको जग्गा वर्गीकरण गरिसकेको छ । यसमध्ये ख र ग समूहमा वर्गीकृत १ सय ४६ रोपनी क्षेत्रफल भएका किसानले क्षतिपूर्ति पाइसकेका छन् । बाँकीको सन्दर्भमा धेरै पटक कुरा उठ्दा पनि सरकार कानमा तेल हालेर बसेको छ ।

नागरिक शासनको बहाली हुँदा पनि जनताहरू अन्यायमा पर्नु भनेको सुशासनको धज्जी उडाउनु सरह हो । बाढीपहिरोका कारण खोलाले आफैं धार बदलेको भए किसानको बोल्ने ठाउँ थिएन । राज्य स्वयंले नदीको सौन्दर्य अभिवृद्धि गर्न साँघुरो नदीलाई फराकिलो बनाउँदा अतिक्रमित जमिनको क्षतिपूर्ति दिनुुको विकल्प सरकारसँग छैन । दिन नसके यति कारणले दिन सकिएन भन्न ढिलाइ गर्नु भनेको कानुनी राज्यको बर्खिलाप गर्नु हो । नदीको चौडाइतर्फको बहाब क्षेत्र गोकर्ण–गुह्येश्वरी खण्डमा मात्र फराकिलो पारेर अन्यत्र पुरानै डोबमा कायम गर्नु नै सरकारको महामुख्र्यांइ हो । प्राकृतिक सिद्धान्तअनुसार गुह्येश्वरीभन्दा तल चोभारसम्म नदीको बहाव क्षेत्र ४० मिटरबाट बढाएर थप फराकिलो पार्नु पर्दछ । नदीको बहाव क्षेत्र मुहानतर्फ फराकिलो र पुछारतिर साँघुरो हुनै सक्दैन ।

गुह्येश्वरी–चोभार खण्डमा सहायक नदीहरूको भार पनि थपिने हुँदा बहाव क्षेत्र ४० मिटरभन्दा बढी चाहिन्छ । त्यसो गर्न नसके गुह्येश्वरीदेखि गोकर्ण ब्यारेजसम्म क्रमशः नदीको बहाव क्षेत्र घटाएर सामाजिक न्यायको सिद्धान्तअनुसार किसानको अतिक्रमित भूमि फिर्ता गर्नु कानुनसम्मत हुन्छ । सार्वभौम नागरिकको सम्पत्तिमाथिको संवैधानिक अधिकार राज्यद्रारा खोसिनु गैरन्यायिक कार्य हो । यस कुराको पुस्ट्याइँ नदीकिनार मापदण्डसम्बन्धी सम्मानित सर्वोच्च अदालतको फैसलाले पनि गरेको छ । फैसलालार्ई हरेक दृष्टिकोणबाट हेर्दा पनि कही कतै किसानको जमिन क्षतिपूर्ति नदिइकन राज्यपक्षले प्रयोग गर्नु हुँदैन भन्ने आशय पाइन्छ । नदीको किनारा कति कायम गर्ने, बहाव क्षेत्र कति राख्ने र नदीको उचित व्यवस्थापन कसरी गर्ने ? विषय सरकारको हो ।

गुह्येश्वरी–चोभार खण्डको बहावक्षेत्र न्यूनतम ४० मिटर कायम गर्नुको विकल्प अब छैन । खोलाको पुछारतर्फ साँघुरो र सिरानतर्फमात्रै फराकिलो बनाउने नीति प्राकृतिक हिसाबले पनि गलत देखिन्छ । कालो मण्डी ओढेर घिउ खान पल्केकाहरूका कारण यो समस्या तीन दशकदेखि कचल्टिँदै आएको छ । यसलाई मिहिन ढंगले केलाएर दूधको दूध पानीको पानी गरी दिनका लागि जनताका प्रतिनिधिसमक्ष हार्दिक अनुरोध गरिन्छ । हरेक दृष्टिकोणबाट हेर्दा पनि आम नागरिकको पक्षमा काम गर्न नसकेको अहिलेसम्मको अवस्थालाई जोडदार रूपमा आवाज उठाई दिएर टुंगो लगाइदिनु हुने आशा सर्वत्र गरिएको छ । हिउँदमा कमिला हिँड्ने बागमतीलगायत नदीहरूको विषयलाई लिएर ठूला कुरा गर्नु र ठूलो धनराशि लगाएर सौन्दर्यीकरण गर्नु बेकार छ । एसियाली विकास बैंकको ठूलो ऋण बोकेर सञ्चालित बागमती सौन्दर्यीकरणले तात्विक अन्तर पारेको देखिँदैन ।

उपत्यकाका नदीहरूको विकासका लागि भनेर सरकारले आव २०६५/०६६ देखि विशेष कोषको व्यबस्था गरेको छ । काठमाडौं उपत्यकाका तीनैवटा जिल्लाबाट जग्गा पास गर्दा उठ्ने थैली अंकको ०.५ प्रतिशत रकम कोषमा दाखिला गरिएको छ । अझै केन्द्रीय राजस्व खातामा सञ्चित रहेको रकमबाट बाँकी जनताको मुआब्जा दिन सकिन्छ । किसानको अतिक्रमित जग्गाको क्षतिपूर्ति दिनै नमिल्ने भए कारण खुलाएर लिखित जबाफ दिए जनता न्यायालयको ढोका चाहार्न जान पनि तयार देखिन्छन् । राज्य स्वयंले नागरिकमाथि गरेको जालझेलको पर्दाफासका लागि सबै सांसदज्यूमा हार्दिक अनुरोध छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.