नेपालमा बसेर इजरायललाई गाली किन?

नेपालमा बसेर इजरायललाई गाली किन?
एआई सिर्जित तस्बिर

नेपालबाट हजारौं युवाहरू इजरायलको भूमिमा पसिना बगाइरहेका छन्। कोही वृद्धा बिरामीहरूको सेवा गर्छन्, कोही खेतबारीमा काम गर्छन्, कोही निर्माण वा अन्य क्षेत्रमा काम गर्छन्। उनीहरू केवल यहाँका मजदुरमात्रै होइनन्, नेपाली समाजको मेहनती, भरोसायोग्य र नैतिकताको पर्याय बनेका देशका प्रतिनिधिहरू पनि हुन्। 

तर, दुर्भाग्य, यही इजरायललाई आज नेपालभित्र बसेर केही व्यक्ति र संगठनहरूले बिना आधार गाली गरिरहेका छन्, नारा-जुलुस गरिरहेका छन्। भनिरहेका छन्- इजरायल साम्राज्यवादी हो, अमेरिकी एजेन्ट हो, इरानी तथा प्यालेस्टानीहरूको हत्यारा हो।

नेपालमा रहेका केही दलहरूको चिसिएको वामपन्थी सोच र पुरानो वर्गसंघर्षको विचारधाराले इजरायललाई दुश्मनको रूपमा चित्रण गरिरहेको देखिन्छ। खासगरी उनका विद्यार्थी संगठनहरू, कतिपय एनजीओहरू वा राजनीतिक उद्देश्य बोकेका केही मानव अधिकारकर्मीहरूले इरान र प्यालेस्टाइन पक्षप्रति सहानुभूति जनाउँदै इजरायलमाथि आक्रोश पोख्न थालेको देखिएको छ। तर, उनीहरू बुझ्न चाहँदैनन्, यही इजरायलभित्र नेपालीहरूको जीवन, श्रम र आत्मसम्मान कति छ भन्ने कुराहरू।

केही वर्ष अगाडि गाजाबाट हमासद्वारा गरिएको आतंकवादी हमलामा मारिएका १० नेपाली विद्यार्थीहरू, केही भौतिक घाउ र मानसिक घाउ बोकेर फर्केका छन्। उनीहरू कुनै सिपाही थिएनन् न देशका, न इजरायलका, न कुनै सैनिक अड्डामा काम गर्न आएका लडाकु थिए। ती अबोध भाइ-बहिनीहरू कृषिमा ज्ञान लिन आएका युनिभर्सिटीका विद्यार्थीहरू थिए, जो केही सिकौं र नेपाल फर्केर स्वरोजगार बन्न सकियोस् भन्ने सपना बोकेर आएका कलिला युवाहरू थिए। जुन हत्याको घटनाले नेपाल, इजरायल र यहाँ रहेका नेपालीहरूलाई स्तब्ध बनाएको छ। अझै पनि परिवार आफन्तहरूको र यहाँ रहेका नेपालीहरूको आँखा सुकेको छैन।

आजको मितिसम्म पनि एक विद्यार्थी विपिन जोशी हराइरहेका छन्। बन्धक छन् वा मारिए त्यसको ठोस पुष्टि भएको छैन। उनीबारे नेपाल सरकार मौन छ नै, त्योभन्दा दुःखद कुरा हाम्रा देशका विद्यार्थी संगठनहरू र आत्मघोषित मानवतावादीहरू हराएका विपिन र मारिएका १० जनाको पीडामा कुनै मूल्य राख्दैन। 

इजरायलले नेपाली श्रमिकलाई अरू कुनै खाडी वा एसियाली देशहरूभन्दा फरक र उच्च सम्मानका साथ हेर्छ। यहाँ कामदारले केवल न्यूनतम पारिश्रमिक मात्रै पाउँदैनन्, उनीहरूलाई त्योभन्दा दोब्बर बढी पारिश्रमिक, निश्चित सेवा सुविधा, कानुनी सुरक्षा र कामको सम्मान प्राप्त हुन्छ। कैयौं नेपाली केयरगिभर वा कृषि क्षेत्रका कामदारहरूले महिनामा २ लाख रुपैयाँभन्दा बढी कमाइरहेका छन्। इजरायल सरकार र रोजगारदाता दुवैले श्रमिकको सुरक्षा पहिलो प्राथमिकतामा राख्छन्। यो युद्धकालीन अवस्थामा उनीहरूको उद्धार र सुरक्षालाई भरपुर सुनिश्चित गरिन्छ। यहाँ विदेशी अथवा नेपाली कामदारहरूलाई लाभको साधन होइन, विश्वासीलो कामदारको रूपमा हेर्ने संस्कार छ। यही कारणले गर्दा नेपालीहरू इजरायली समाजमा पहिलो रोजाइमा पर्ने गर्छन्। 

नेपालभित्र बसेर विदेशी राजनीति र धर्मको नारा बोकेर जब इजरायलविरुद्ध गाली गरिन्छ त्यो केवल राजनीतिक भ्रममात्र होइन। नेपालको इजरायलमा रहेका नेपाली कामदारहरूको श्रम, निष्ठा र गरिमामाथि ठाडो प्रहार हो। इजरायलमा काम गरिरहेका नेपालीहरूको जीवन, यहाँ ज्यान गुमाएका विद्यार्थीहरूको बलिदान, हराइरहेका विपिन जोशीको अवस्थामाथि यसखाले गरिने इजरायल विरोधी नारा सम्मान र न्यायको आवाज लुकाउने प्रोपोगाण्डा बाहेक केही हुँदै होइन । 

अब बेला आएको छ, सामान्य नेपाली जनता, प्रबुद्ध वर्ग र मिडियाले ती नारा लगाउनेहरूलाई प्रश्न गर्ने। 'के तिमीहरूलाई अनाहकमा ज्यान गुमाएका ती १० नेपाली विद्यार्थीहरूको न्याय, हराइएका विपिन जोशी र नेपाली कामदारहरूप्रतिको उच्च सम्मान चाहिएको हो कि विदेशी आतंकको जयजयकार?' 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.