इजरायलमा खेलकुदले गाँसेको नेपालीभाषी समुदायको आत्मीयता
इजरायल : परदेशको भूमिमा पसिना बगाइरहेका नेपालीहरूका लागि खेलकुद केवल शारीरिक सक्रियता मात्र होइन, सम्बन्ध गाँस्ने, पहिचान जोगाउने र मानसिक स्वास्थ्य सन्तुलनको सशक्त माध्यम पनि हो। इजरायलमा पछिल्लो दशकयता नेपाली र नेपाली भाषीहरूबीच बढ्दो खेलकुद गतिविधिले एक अर्काका समुदायभित्र आत्मीयताको नयाँ अध्याय कोरिरहेको छ।
स्वास्थ्य सेवाजस्ता क्षेत्रमा काम गरिरहेका अधिकांश नेपालीहरूका लागि खेलकुद थकान बिर्साउने र सामाजिक ऊर्जा भरिदिने माध्यम बनेको छ। फुटबल, भलिबलजस्ता लोकप्रिय खेलहरूमा सहभागिता बढेसँगै नयाँ कोही भेट्ना साथ तपाई फुटवल खेल्नु हुन्छ? भन्ने एउटै प्रश्नबाट सुरु हुने चिनजान गहिरो मित्रतामा परिणत हुन थालेको छ।
खेलकुदमैत्री सम्बन्धको मूलमा रहेको छ। एकै टिममा सँगै पसिना बगाउने भावना, सहयोग र एक अर्काप्रति सम्मान। मैदानमा जात, धर्म वा क्षेत्रको सिमा छैन साँच्चिकै नेपाली र नेपाली भाषी अनुभूत गराउने ठाउँ हो खेलकुद मैदान।
हालः इजरायलभर क्रियाशील नेपाली र नेपालीभाषी क्लबहरूको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ। झापा एफसी इजरायल, लायन टेलअभिव एफसी, कायापलट एफसी, केवाइसी एफसी, मनिपुर गोर्खा एफसी, सेभेन स्टार हाइफा, दर्जिलिङ युनाइटेड र राइजिङ स्टारजस्ता क्लबहरू केवल खेलाडी उत्पादनमा सीमित छैनन्, ती क्लबहरू अब युवाहरूको नेतृत्व, अनुशासन र आत्मविश्वासको पर्याय बन्ने गरेका छन्।
आज भोलि हरेक प्रतियोगिताहरूमा क्लबहरूको सहभागीतामात्र होइन, उपाधिको दाबेदारीसमेत गर्न थालेका छन्। यो मैदानमा देखिने उत्साह र कौशलले खेलप्रतिको लगाव मात्र होइन, नेपाली र नेपाली भाषी प्रतिको माया झल्किने कुरा पनि हो।
केही वर्ष पहिला हमासद्वारा इजरायलमा गरिएका आक्रमणका बेला औपचारिक निकायहरू भन्दा पहिला सक्रिय देखिएका थिए यहाँका फुटबल प्रेमी खेलाडीहरू र समूह। खेल मैदानमा भेटिएका साथीहरूले आपतमा परेकाहरूलाई कोहीले खाना ब्यवस्था गरे, कोहीले शरण दिए, कोहीले मन बुझाउने काम गरे र कोहीले सम्पर्कमा रहन, हौसला दिन समूहहरू बनाएर काम गरे। त्यसबेला थाहा भयो खेलकुद सञ्जाल एउटा अदृश्य सामाजिक सुरक्षा जाल पनि हो भन्ने।

परदेशी जीवनको तनाव, एक्लोपना, चिन्ता र परिवारको टाढापनले नेपाली कामदारहरूमा मानसिक दबाब बढिरहेको बेला, साप्ताहिक खेल गतिविधि थेरापीसरह राहत दिने माध्यम बनेको छ। खेल्ने समय, साथीहरूको साथ र मैदानमा पोखिने ऊर्जा जीवनप्रति आशा जागाउने बलशाली औषधि बनेको छ।
इजरायलमा रहेका झापाली समाज, किरात याक्थुङ चुम्लुङ, एनआरएनए, मगर समाज लगायतका सामाजिक संस्थाहरू र कोही समाजका अगुवा ब्यक्तिहरूबाट विगत केही वर्षयता फुटबल, भलिबल जस्ता प्रतियोगिताहरू आयोजनामा सक्रियता देखाएर वा सहयोग गरेर खेलकुद प्रवर्द्धनका कार्यक्रमहरूलाई निरन्तरर साथ दिएका छन्। भने यहाँका ब्यापारिक संस्थाहरू गोरखा किचन, मोबाइल होम, हकेरेन, ओम इण्डियन स्टोर जस्ताहरुको सहयोग पनि उल्लेखनीय हुने गरेको छ।
पछिल्लो एक दशकमा साना–ठूला गरी करिब हाराहारी २०-२५ वटा प्रतियोगिताहरू सम्पन्न भइसकेका छन्। सात-आठ वर्षदेखि किरात याक्थुङ चुम्लुङको आयोजनामा लगातार हुँदै आएको बलिहाङ कप साथै अन्य क्लबहरूको आयोजनामा भएका नयाँ वर्ष कप, दशैं कप र अन्य तथा यस वर्षदेखि सुरु हुने झापा एफसी इजरायलको आयोजनामा झापा सुपर कप इजरायलका प्रमुख प्रतियोगिताहरुका रूपमा स्थापित हुँदै गएका छन्। अन्य छिटफुट प्रतियोगिताहरु यहाँ रहेका फुटवल क्लबहरुकै आयोजनाहरुमा हुने गरेका छन्। यी प्रतियोगिताहरू अब केवल ट्रफीको प्रतिस्पर्धा मात्र होइन समुदायको उत्सव र नेपाली भाषीहरूको प्रदर्शन र एकताको प्रतिबिम्ब बन्ने गरेका छन्।
यहाँ काम, तनाब र पसिना बगाइरहेका कामदारहरूका लागि खेलकुदले दिएको आत्मीयता, सम्बन्ध र पहिचान अतुलनीय छ। यो केवल खेलमात्र होइन, यो हाम्रो अस्तित्वको कथा पनि हो, सहकार्यको सन्देश पनि हो र सामुदायिक एकतामा रहेका भावनाको शक्ति पनि हो।
अब झन् बढी आवश्यकता छ इजरायलमा यस खेलकुद चेतनालाई अझ संस्थागत र दिगो बनाउँदै लैजाने। खेल केवल बलको कुरा होइन, यो मन, मस्तिक र मानशिक स्वास्थ्यको मेरुदण्ड पनि हो र यसलाई जोगाई राख्न तमाम इजरायलमा रहेका नेपाली र नेपालभूषणहरूको कर्तब्य पनि हो।
प्रतिक्रिया दिनुहोस !