मिसन ८४ : परिवर्तन गर्ने कि हल्ला मात्र
नेपाल फेरि एउटा निर्णायक राजनीतिक नेतृत्व परिवर्तनको मोडमा आइपुग्न लागेको छ। स्थानीय, संघीय संसद र प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा देशभित्रको राजनीतिक माहोल तात्न थालेको छ। सत्ताको नेतृत्व फेरिने कि फेरि पुरानै अनुहार दोहोरिने? यो प्रश्नको जवाफ अब जनताले दिनेछन्। तर सन्दर्भ केवल नेताहरूको मात्र पनि होइन, यो नागरिक सचेतनाको परीक्षा पनि हो। 'मिसन ८४' भन्ने अभियान आजको पुस्ताका लागि केवल निर्वाचनको संकेतमात्र नभई, देश बनाउने कि आशालाई गुमाउने अवसर पनि हो।
नेपालमा प्रजातन्त्र स्थापनाको लामो संघर्षपछि प्राप्त गणतन्त्र र संघीयता आज ठूलो प्रश्नचिन्हको घेरामा छ। विगत तीन दशकमा भएका राजनीतिक परिवर्तनहरूले जनताको जीवनशैलीमा उल्लेखनीय परिवर्तन ल्याउन सकेका छैनन्। राजनीतिक दलहरू सत्ताको लुछाचुँडीमै सीमित छन्। भ्रष्टाचार, बेरोजगारी, महँगी, शिक्षा र स्वास्थ्यमा चरम असमानता छ। नेतृत्व परिवर्तन भएर पनि सोच र संस्कार परिवर्तन नभएको यथार्थले आमनागरिकमा निराशा थपिरहेको छ।
यसबीचमा सबैभन्दा ठूलो पीडित वर्ग बनेका छन्, देशको ऊर्जा र सम्भावना बोकेको नयाँ पुस्ता अर्थात हाम्रो पुस्ता। शिक्षित, सक्षम, डिजिटल चेतना बोकेको युवाशक्ति आज राजनीतिको मूलधारबाट दैनिक विमुख भइरहेको छ। देशमा अवसरको अभाव, विदेश पलायनको लहर र आफ्नै राज्यप्रति गहिरो अविश्वास यी सबै कारणले गर्दा नयाँ पुस्ता चुप लाग्न बाध्य छ। तर, यही चुप भविष्यका लागी खतरनाक मौनता बन्न सक्छ।
प्रवासी नेपालीहरू आजको सन्दर्भमा निर्णायक पक्ष हुन सक्छन्। ५० लाखभन्दा बढी नेपालीहरू आज संसारभर रोजगारी, व्यवसाय, शिक्षा वा अन्य प्रयोजनले विदेशमा रहेका छन्। उनीहरूले पठाउने रेमिट्यान्सले देशको अर्थतन्त्रलाई धानेको छ भन्दा फरक पर्दैन। तर, जब राजनीतिक अधिकारको कुरा आउँछ, उनीहरू अझै उपेक्षित छन्। मताधिकार जस्तो आधारभूत अधिकारबाट वञ्चित छन् प्रवासी नेपालीहरू।
यद्यपि, प्रवासी नेपालीहरूको भूमिका केवल मतदानको सीमामा सीमित छैन। अब प्रवासीहरूले निर्वाचनको चेतनामूलक अभियानमा सक्रिय रूपमा संलग्न हुन जरुरी छ। जसरी प्रवासमा बसेर उनीहरूले परिवार धाने, गाउँको आर्थिक अवस्था बदल्ने काम गरेका छन्, त्यसरी नै अब देशको राजनीतिक स्वच्छता र नेतृत्वको परिवर्तनमा पनि उनीहरूको सहभागिता अपरिहार्य छ।
अब प्रवासी नेपालीहरूले आफ्नो समय छुट्ट्याएर निर्वाचनसँग प्रत्यक्षरूपमा जोडिनुपर्ने बेला आएको छ। सकिन्छ भने देश फर्केर मतदान गर्न सक्नेहरूका लागि अब कुनै बहाना बाँकी छैन। हप्ताको एक/दुई दिनको बिदा, हवाई यात्रा र कर्तव्यप्रतिको जिम्मेवारी बीच सन्तुलन कायम गर्दै मतदान गर्न फर्किनुपर्छ। अब यो केवल अधिकार मात्र होइन, राष्ट्रप्रेमको प्रतिविम्बको अभियान पनि हो।
प्रवासमै रहेका नेपालीहरूले सामाजिक सञ्जालहरूलाई अधिकतम प्रयोग गरेर देशका मतदातामा असर पार्न सक्छन्। फेसबुक, टिकटक, युट्युब, भाइबर, ह्वाट्सएप यी सबै माध्यममार्फत गाउँघरमा रहेका आफन्त, साथीहरू र टोल छिमेकमा रहने मतदाताहरूलाई नेतृत्व छनोटको चेतना दिन सकिन्छ। उनीहरूलाई सही उम्मेदवार को हो? को निष्ठावान छ? को बोल्ने मात्र हैन, गर्ने पनि छ? भन्ने सवालहरुमा सचेत गराउन सकिन्छ।
प्रवासी नेपालीहरूले सामूहिक रूपमा सशक्त सन्देश प्रवाह गर्ने अभियानमा जुट्नुपर्छ। एउटा प्रवासी नेपालीको भोट नभए पनि उसका ५/१० आफन्त, साथीभाइहरूमा प्रभाव पर्नेछ। यदि प्रवासबाटै ५० जनाले दिनमा कम्तिमा २/२ जना मतदातालाई राम्रो नेतृत्व छान्ने चेतना दिन सके, त्यसले राष्ट्रव्यापी प्रभाव पार्न सक्छ। अब परिवर्तन केवल भोट हाल्नेले होइन, भोट हाल्न नपाउने तर भोट हाल्नेहरूमाझ चेतना फैलाउनेहरूले पनि ल्याउनेछन्। त्यसैले प्रवासी नेपालीहरू अब भ्रमणरत नागरिक हैन, परिवर्तनका अग्रपंक्तिका लडाकु हुन भन्ने प्रमाणित गर्ने समय आएको छ ।
अब हामी फेरि पनि अघिल्ला चुनावहरूझैँ मौन बस्यौं भने, इतिहासले हामीलाई माफ गर्ने छैन। हाम्रै पुस्ताले फेरि नतिजामा चित्त बुझाएर आलोचना गर्ने हो भने, देशको भविष्य अँध्यारो सुरुङमा प्रवेश गर्नेछ। नेतृत्व बदल्न सक्ने मौका फेरि सजिलै नआउने सम्भावना उच्च रहेको छ।
यसपटकको निर्वाचन हाम्रा लागि साँचो अर्थमा चुनावमात्र नभई चुनौती पनि हो। यो चुनौती हो, देशको नेतृत्व बदल्ने कि बदल्ने सपना मात्र देख्ने। यो मौका हो, विश्वास गुमाइसकेका पुराना शक्तिलाई विदा गरेर, नयाँ, निष्ठावान र जिम्मेवार नेतृत्वलाई अघि ल्याउने।
अब हल्ला होइन, मतको बलले फैसला गर्ने समय आएको छ। अब चुप लाग्ने होइन, आफ्ना सञ्जाल र प्रभाव प्रयोग गरेर चेतनाको बिजारोपण गर्ने बेला हो। अब गुनासो होइन, सक्रियता चाहिएको छ। प्रवासी नेपालीहरूको सक्रिय भूमिका र युवापुस्ताको नेतृत्वमा आस्था नै अबको परिवर्तनको साँचो आधार बन्न सक्छ। यदि हामीले यो मिसन ८४ लाई गम्भीरतासाथ लियौं भने, देशले नयाँ बाटो पाउनेछ। नत्र फेरि अर्को दशक पछुतोमै बित्नेछ। अब निर्णय हामी सबैको हातमा छ। देशमा परिवर्तन ल्याउने कि गफै मात्र गर्दै जाने।
मिसन ८४ सफल बनाउने जिम्मेवारी देशभित्रका नागरिकहरुको मात्रै होइन, देशबाहिर बसेका प्रवासी नेपालीहरूको पनि रहनेछ। त्यसैले अबको राष्ट्रनिर्माणमा हरेक विचार, प्रत्येक सन्देश र हरेक सञ्जाल एक-एक इँटा बन्न सक्छ। जागौँ, लेखौँ, भनौँ, फर्किऔँ, चेतना दिऔँ। अब फेरि पनि हामी चुक्यौं भने इतिहासले हाम्रो पुस्तालाई धिकार्ने छ।
प्रतिक्रिया दिनुहोस !