एमालेले नफर्कनेको नामावली मागेपछि सोविता गौतमको स्पष्टीकरण : प्रधानमन्त्रीसँगै स्पेन गएका भनेको छैन

एमालेले नफर्कनेको नामावली मागेपछि सोविता गौतमको स्पष्टीकरण : प्रधानमन्त्रीसँगै स्पेन गएका भनेको छैन
सुन्नुहोस्

प्रधानमन्त्रीको नाम जोडेर भ्रम फैलाउने अभिव्यक्ति दिएको भन्दै चौतर्फी आलोचना हुन थालेपछि सांसद गौतमले सच्याउँदै कार्यक्रममा अन्य विभिन्न संघसंस्थाबाट गएका व्यक्तिहरू भनेको स्पष्टीकरण दिइन्।

काठमाडौं : रास्वपा सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा केही व्यक्तिलाई स्पेनमै छाडिएको अभिव्यक्तिलाई सच्याएकी छन्। एमालेका सांसदले संसद बैठकमा र सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्पेन भ्रमणका गएका को-को फर्किएन जवाफ दिनुपर्ने माग गरेपछि आज उनले प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको बताएकी हुन्। 

प्रधानमन्त्रीको नाम जोडेर भ्रम फैलाउने अभिव्यक्ति दिएको भन्दै चौतर्फी आलोचना हुन थालेपछि सांसद गौतमले सच्याउँदै कार्यक्रममा अन्य विभिन्न संघसंस्थाबाट गएका व्यक्तिहरू भनेको स्पष्टीकरण दिइन्।

बुधबार प्रतिनिधिसभा बैठकमा गौतमले प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा गएका अन्य व्यक्तिहरु चाहि नफर्किएको धारणा राखेको भन्दै स्पष्टीकरण दिएकी हुन्। स्पेनमा प्रधानमन्त्री सहभागी भएको कार्यक्रम निकै ठूलो भएकाले सो कार्यक्रममा विभिन्न संघसंस्थाबाट नक्कली कागजात बनाएर थुप्रै नेपालीहरु गएको उनले बताइन्। उनले मंगलबार आफूले संसदमा राखेको धारणालाई नबुझेर विभिन्न टीकाटिप्पणी भएको बताइन्। उनले भिजिट भिसा प्रकरणमा सरकारले स्वार्थ बाझिने गरि समिति बनाएकाले आफूहरूको निरन्तर विरोध रहेको उनको भनाई छ।

बैठकमा एमाले सचेतक सुनिता बरालले प्रधानमन्त्रीको स्पेन भ्रमणबारे अपवाह फैलाउने काम भएको भन्दै आपत्ति जनाइन्। उनले संसदमा हेक्का राखेर बोल्न चुनौती दिँदै भाषाको ज्ञान र परिभाषा सिकाउन परे तयार रहेको जवाफ दिइन्। बरालले संसदमा तथ्यका आधारमा बोल्न गौतमलाई सुझाव दिइन्।
आफ्ना धारणा राखेर रास्वपा सांसदहरु बाहिरिएपछि बरालले आफ्ना कुरा राख्ने तर अरुको कुरा नसुन्ने धैर्यता नभएको भन्दै आपत्ति जनाइन्। 

मंगलबार नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पनि प्रधानमन्त्रीलाई जोडेर संसदमा भ्रम फैलाउने काम भएको बताए। उनले यस विषयमा सभामुखको ध्यानाकर्षण गराउँदै रेकर्डबाट हटाउन मागसमेत गरेका थिए। 'प्रधानमन्त्रीज्यु स्पेन भ्रमण सकाएर फर्किसक्नुभएको छ। उहाँ गरिमामय संसदमै पनि यस विषयमा जानकारी गराइसक्नुभएको छ। तर, त्यसका बावजुद केही माननीयहरूले भ्रमणमा गएकाहरू स्पेनमै बसेको वा भिजिट भिसामा स्पेन गएर बसेको कपोलकल्पित र भ्रामक विषय प्रस्तुत गर्नुभएको छ। माननीयज्युहरूबाट तथ्यहीन विषयमा सभामुखले नोटिसमा लिनुपर्छ। यस्ता भ्रामक विषय रेकर्डबाट हटाइनुपर्छ,' बर्तौलाले भने।

उनले आरोप लगाउने सांसदहरूलाई स्पेनमै बसेका व्यक्तिको नाम सार्वजनिक गर्न चुनौती पनि दिए। 'को व्यक्ति फर्किएनन् भन्ने कुरा जानकारी दिन म माननीयहरूलाई चुनौती दिन्छु। यस्तो भ्रम फैलाउने काम गर्नुभएन,' उनले थपे।

के भनेकी थिइन् गौतमले ?

यो सदनलाई अवगत नै छ, विगत दिन देखि यो संसदमा रास्वपा भिजिट भिसाको दुरूपयोग गरि मानव तस्करी गर्ने निकृष्ट कार्यविरुद्ध संसदीय छानबिन समिति वा उच्चस्तरीय जाँचबुझ आयोगको मागसहित विरोधमा उभिएको छ। यो कार्य त्रिभुवन विमानस्थलभित्र मात्र हैन, विभिन्न कार्यक्रमको बहानामा नेपालीलाई लोभ प्रलोभनमा पारी लैजाने गिरोहसँग पनी जोडिएको छ। स्वयम् सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरू कार्यक्रममा सहभागी हुने बहाना गएर नफर्किएको भन्ने लगायतका समाचार आइरहेका छन्। व्यक्ति विशेष कसैप्रति पनि हाम्रो आरोप छैन तर यो विषय अत्यन्तै गम्भीर छ। 

सरकारले नेपाली जनताको जिउधन र अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवी जोडिएको यस्तो गम्भीर विषयमा पनि उच्चस्तरीय छानबिन समिति नबनाएर, स्वार्थ बाझिने अनुपयुक्त पात्रको नेतृत्वमा आफु मातहतकै आफूभन्दा कनिष्ठ कर्मचारीहरू सम्मिलित एउटा सामान्य टालटुले प्रशासनिक समिति बनाएको विषयमा हाम्रो खेद छ, आपत्ति छ र हामी यस कार्यको विरोध गर्दछौँ।

हाम्रो माग हिजो पनि र आज पनि एउटै छ, नागरिक बेचिनु, कसैको गलत कार्यका कारण देशकै छवि घट्नु सामान्य विषय होइन, उच्चस्तरीय छानबिन समिति अनिवार्य बन्नुपर्छ। हाम्रो माग सम्बोधन गर्ने चौडा छाती सरकारसँग रहेनछ, हामी विरोध स्वरूप आज पनि यो संसद बहिस्कार गर्दछौँ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.