सयौं रोपनीमा अकबरे खुर्सानी
नुवाकोट : किसानको आयआर्जन बढाउने उद्देश्यले नुवाकोटको बेलकोटगढीमा अकबरे खुर्सानी खेती विस्तार गरिएको छ। हावापानी सुहाउँदो बेलकोटगढी नपाका किसानले व्यावसायिक रूपमा सयौं रोपनी जमिनमा अकबरे खुर्सानी खेती गरेका छन्।
बेलकोटगढी नपाका १३ वटै वडामा अकबरे खुर्सानी खेती विस्तार गरिएको हो। नपाले अनुदान र प्राविधिक सहयोगसहित किसानलाई अकबरे खुर्सानी खेतीमा प्रोत्साहन गरेको मेयर जगतबहादुर गुरुङको भनाइ छ।
बेलकोटगढी नपाले ७५ प्रतिशत अनुदानमा खुर्सानीको बिरुवा वितरण गरेसंगै यसले प्रवद्र्धन पाएको हो। हाल व्यवसायिक अकबरे खुर्सानी खेति बिभिन्न वडामा गरिएको छ। बेलकोटगढी नपाले चालु आर्थिक बर्ष २०८१/०८२ को बार्षिक स्वीकृत कृषि प्रवद्र्धन कार्यक्रमअनुसार ७५ प्रतिशत अनुदानमा अकबरे खुर्सानीको एक लाख १२ हजार बिरुवा कृषि फर्म, समूह र सहकारीमार्फत कृषकलाई उपलब्ध गराएको थियो। १३ वटै वडामा व्यावसायिक अकबरे खेती गर्न प्रोत्साहन गरिएको थियो।
कार्यक्रमअनुरूप हाल उत्पादन दिन सुरु गरेको छ। यसबाट सो भेगका किसानले लाखौं आम्दानी गर्ने अपेक्षा गरिएको मेयर जगतबहादुर गुरुङको भनाइ छ। आधुनिक प्रविधिको प्रयोगमा मल्चिङ प्रयोग गर्दै अकबरे खुर्सानी खेती गरिएको हो। उपमेयर शिवप्रसाद दाहालले यस कार्यक्रमले कृषकहरूलाई आर्थिक रूपमा सशक्त बनाउने विश्वास व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस !