रसिकका केही गीत सधैं जनमानसमा झुन्डिने खालका कालजयी छन्। तीमध्ये ‘रातो भाले क्वाँया क्वाँया’, ‘नखेल्नु जुवा र तास’, ‘घरबेटी नानी आँगनीमा देऊ न मलाई बास’, ‘धेरै सम्झे धेरै हुन्छ’ आदि हुन्।
परिवारका धेरै सदस्य आफूभन्दा अघि नै गुमाएका व्यक्तित्व हुन्, गणेश रसिक । उनको अनुहारमा त्यो पीडाको भान प्रष्ट देखिन्थ्यो । नाम रसिक भए पनि त्यो जीवनरेखामा संघर्षको इतिहास लेखियो । बाल्यकालमा आमावुबाको माया गुमाए उनले । तीन जवान भाइ शम्मी, श्याम र प्रजु गुमाए । छोरा निमेश र श्रीमती निरा पनि क्रमशः गुमाए ।
गणेश रसिकभित्र बहुआयामिक छवि थियो । उनी गायक, गीतकार, संगीतकार, साहित्यकार बने । उनको जन्मस्थान भोजपुर । गणेश सरले चिनिनेहरू उनको प्रतिभाप्रति सदैव अनुगृहित भए । सरलाई भेट्न म पनि फिक्कलस्थित घरमा पुगेकी छु । छ/सात पटक भेट भएको छ मेरो । फोनमा धेरै पटक भलाकुसारी भयो । रसिक सरबाट अथाह ज्ञानका कुरा सिक्ने मौका पाएँ ।
महान् हस्ती रसिक ठूलो मान्छेजस्तो कहिल्यै लागेन । उनमा रत्ति घमण्ड थिएन । जहिल्यै समय पाइन्थ्यो । उनका जीवनका अनुभव उनकै मुखबाट सुन्ने मौका मिलेको छ । चालिस वर्षको अन्तराल भए पनि सर मलाई साथी झैं लाग्थ्यो । एकदमै आत्मीय । घिउ झैं पग्लिने खालको थियो, आनीबानी । जहाँ भेट्दा पनि सुमधुर शैलीमा कुरा गर्ने रसिलो मान्छे । जसका पाँचवटा किताब समेटिएको पहिलो संस्करणको समीक्षा लेख्ने क्रममा अझ नजिकबाट बुझ्ने मौका पाएको थिएँ । जसमा ‘दशगजामा उभिएर’, ‘छपक्कै मनमा बसेकाहरू’, ‘आकाशगंगाको ओतमुनि’, ‘मुनिया र उसको छोरो’, ‘ताराभन्दा सपना धेरै’ छन् । ती किताबले फरक फरक विधामा फरक सन्देश बोकेका छन् ।
‘क्षितिजलाई छुन खोज्दा’, ‘एउटा सारंगी छुन खोज्दा’, ‘जब सिस्नुहरू टेक्दै हिँडें’, ‘रसिकका गीतहरू’ आदि हुन् । उनले भनेका थिए,
‘मान्छेको भाग्यमा जन्म कसरी र मरण कहाँ हुन्छ भन्ने जन्मिएको दिन र मरेको दिन मात्र थाहा हुँदोरहेछ ।’ उनको मृत्युको खबर सुन्दा मनमा नाप्नै नसकिने भूकम्पीय हचलच भयो । गम्भीर पीडाबोध भयो । शोकमा डुबेको उनको सिर्जनात्मक जीवन आद्योपान्त सम्झिएँ । उनीसँग जोडिएको मेरो आत्मीयताले केही न केही नलेखी धर दिएन । मनमा चोट लागेको भान भयो ।
राल्फा र लेकाली समूहमा आबद्ध भएर रसिकले गीतमार्फत जनचेतना जगाउने कार्यमा पनि प्रमुख भूमिका खेले । उनका केही गीत सधैं जनमानसमा झुन्डिने खालका कालजयी छन् । तीमध्ये ‘रातो भाले क्वाँया क्वाँया’, ‘नखेल्नु जुवा र तास’, ‘घरबेटी नानी आँगनीमा देऊ न मलाई बास’, ‘धेरै सम्झे धेरै हुन्छ’ आदि हुन् । प्रकृतिप्रेमी रसिकले इलामस्थित फिक्कललाई आफ्नो कर्मथलो बनाए । उनी चार दशकदेखि ईलामको बासिन्दा थिए । फिक्कल एफएमको अध्यक्षको रूपमा रहेर सञ्चारको क्षेत्रमा पनि प्रमुख भूमिकामा आफूलाई प्रस्तुत गरे । इलामको भूमि रसिकको राग फैलिएर धन्य बनेको छ ।
रसिकले २०३८ सालदेखि २०४० सालसम्म सांस्कृतिक संस्थानको महाप्रबन्धकको कार्यभार सम्हाले ।
२०४० सालदेखि २०४६ सालसम्म साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक बनेर अनेक काम गरे । २०५२ सालदेखि २०५५ सालसम्म नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य–सचिवको पदमा रहेर काम गरे । जसले जीवनकालमा धेरै पुरस्कार र सम्मान प्राप्त गरे । २०२८ सालमा आयोजित राष्ट्रिय कविता महोत्सवमा प्रथम स्थानमा पुरस्कृत भए । २०२४ सालमा राष्ट्रिय युवा महोत्सवमा कथातर्फ प्रथम पुरस्कार, २०३१ सालमा राज्याभिषेक पदक, २०३१ सालमा गोर्खा दक्षिण बाहु, २०३४ सालमा रेडियो नेपाल संगीत प्रतियोगितामा उत्कृष्ट गीतकार, २०४४ सालमा रत्नश्री स्वर्णपदक, २०४५ सालमा बीरेन्द्र ऐश्वर्य पदक, २०५३ सालमा गद्दी आरोहण पदक पाए ।
यसैगरी, २०५३ सालमा नागरिक सेवा पदक, २०५६ सालमा छिन्नलता गीत पुरस्कार, २०६३ सालमा पद्मश्री साहित्य सम्मान, २०७३ सालमा लाइफ टाइम अचिभमेन्ट इमेज च्यानल पुरस्कार, २०७६ सालमा राष्ट्रिय कलाश्री पुरस्कार, २०७६ सालमा नारायण गोपाल संगीत पुरस्कार, नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार पदक पाए । नेपाली गीतसंगीत अनि साहित्यको क्षेत्रमा रसिकले पुर्याएको योगदान अविष्मरणीय छ । तीनवटै विधामा उनको विशिष्ठ योगदान छ । उनको भौतिक शरीर नरहे पनि कृति सदैव बाँचिरहने छन् । जसले हामीलाई झस्काइरहने छन् । जो धेरै स्रष्टाको लेखनयात्राको प्रेरणाका स्रोत पनि हुन् । उनको शालिन व्यक्तित्वलाई बिर्सन सकिन्न र हुँदैन पनि । उनको अभाव खट्किइरहने छ ।
प्रतिक्रिया दिनुहोस !