हराउँदैछ आदर्श

हराउँदैछ आदर्श

राजनीति कतै न कतै हरेक नागरिकको अन्तरमनमा हुन्छ। मेरो त रगतमा पनि राजनीतिक आस्था छ। बाल्यकालमै राजनीतिको गन्ध मिसिएको हुनुपर्छ। सानो उमेरका मेरो घरमै नेपाली कांग्रेस पार्टी डुम्राहा गाउँ विकास समितिको कार्यालय थियो। झण्डा बोक्दै गाउँका कार्यक्रममा सहभागी हुन्थें। बुझेको थिएँ कि थिइनँ, थाहा छैन तर राजनीतिको स्पर्श म टाढैबाट होइन, घरभित्रैबाट पाएको व्यक्ति हुँ। कांग्रेसको झण्डा बालमानसपटलदेखि नै छ। त्यही झण्डाले जीवनको दिशा तय गर्‍यो कि जस्तो लाग्छ अहिले।

समय अघि बढ्यो। त्रिचन्द्र क्याम्पसमा आईएस्सी अध्ययन गर्न भर्ना भएँ। अनि म राजनीतिसँग अझ नजिकिएँ। हरि अधिकारी, किशोरसिंह राठौर, गगन थापा यिनै साथीसँगको संगतले मलाई सक्रिय राजनीतिमा तान्यो। त्यो बेला केवल नाममात्रको समर्थन थिएन, नेविसंघमा खुलेर काम गरेको थिएँ। पछि पाटन संयुक्त क्याम्पसमा पढ्दा त विज्ञान संकायको बिहानको सत्रको नेतृत्व नै सम्हालेँ। हाम्रो पालामा पाटन संयुक्त क्याम्पसमा नेविसंघले पहिलोपटक स्ववियु जितेको थियो। त्यो गौरवमय इतिहासमा मेरो सक्रियता थियो।

तर जीवनको अर्को अध्याय सुरु भयो। चिकित्सा शिक्षाको अध्ययन। एमबीबीएस पढ्न थालेपछि समयको अभाव र पेसागत दबाबले राजनीति सक्रियता ओझेलमा पर्‍यो। तर चेतना हराएन, चुपचाप भएँ। तर असंवेदनशील कहिल्यै भइनँ। सायद त्यसैले होला, २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनले फेरि मलाई बोलायो। त्यसताका तीनकुनेमा थिएँ। तरुण दलका अर्जुन पराजुलीको नेतृत्वमा हामी गणतन्त्रका लागि सडकमा उत्रियौं। आन्दोलनमा घाइते भएँ। तर त्यो चोटमा सन्तोष थियो, गर्व थियो। आन्दोलन सफल भयो, गणतन्त्र आयो। अनि फेरि अस्पतालको कक्षहरूमा नै हराए। बिरामी चिहाउन, अरूको पीडा हटाउन अनि जीवनलाई स्थापित गर्न।

त्यो व्यस्ततामा पनि राजनीति बिर्सिएको छैन। पेसागत जीवनमा जति व्यस्त भए पनि राजनीतिक चेतनासँगको सम्बन्ध कहिल्यै बिछोड भएन। चिकित्सक थिएँ, तर मन सधैं बीपी कोइरालाको समाजवादमा अडिन्छ। ‘हरेक नेपालीको घर हुनुपर्छ, घरमा एउटा गाई र थोरै बारी हुनुपर्छ’ भन्ने बीपीको परिकल्पनाले हरपल छुन्थ्यो। गणेशमान सिंह जसले प्रधानमन्त्री बन्न अस्वीकार गरे। कृष्णप्रसाद भट्टराई जसले सधैं सादा जीवन रोजे। यी सबै मेरा आदर्श थिए, छन्। कांग्रेस साँच्चै समाजवादी पार्टी थियो। र मलाई यसमा पूर्ण भरोसा पनि।

समय फेरियो। समाज सेवाका लागि राजनीतिमा होमिएकाहरूलाई समयले निल्दै गए। म आफूलाई पेसा र परिवारमा केन्द्रित गरेको थिएँ। तर कतै न कतै राजनीतिक चेतना थियो। त्यसैले चिकित्सा पेसासँगै संगठनमा पनि संलग्न भएँ। नेपाल चिकित्सक संघको विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै गर्दा बुझ्दै गएँ। केवल अस्पतालमा उपचार गरेर समाज ठीक हुँदैन। परिवर्तनको औजार राजनीति पनि हो भन्नेमा अडिग थिएँ र छु।

१४औं महाधिवेशनको समय आयो। फेरि राजनीति सक्रिय हुने अवसर मिल्यो। सुनसरी, मेरो जन्मभूमि। जहाँ आदरणीय दाइ राजीव कोइरालाको साथ पाएँ। उहाँको अनुभव, धैर्य, लगनशीलता र सबैभन्दा महत्वपूर्ण समाजप्रतिको चिन्तनले फेरि जोसिएँ र आशा पनि बोकेँ। सुनसरी क्षेत्र नं. २(ख्) (जहाँ मेरो गाउँ पर्छ) का सबै वडा टेक्दै, चिया पसलमा गफिँदै, मान्छेहरूसँग भेट्दै म प्रतिनिधि बनेँ, प्रदेश प्रतिनिधि। राजनीति फेरि जीवनको भित्री तहसम्म फर्केर आयो।

तर पनि मन गहिरो चिन्तामा डुबेको छ। प्रश्न उठ्छः के हामी त्यही कांग्रेस हौं जसको सपना बीपीले देखेका थिए। जसका लागि राणा, पञ्चायत अनि संवैधानिक राजतन्त्रविरुद्ध आन्दोलन भए। फेरि शरणार्थी घोटाला, भिसा काण्ड, आन्तरिक गुटबन्दी... यो सब किन यी सबैले मजस्तै हजारौं कार्यकर्ताको मन कुँडिएको छ। पेसागत रूपमा म अझै व्यस्त छु तर राजनीतिप्रतिको मोह जति बढेको थियो, अहिले त्यतिकै तीव्र रूपमा घटेको अनुभूति हुन्छ।

कहिलेकाहीँ सम्झन्छु, पाटन क्याम्पसका दिनहरू। स्ववियुमा नेविसंघले विजय हासिल गर्दा अमृत साइन्स क्याम्पसमा प्रदीप पौडेल सभापतिमा नेविसंघबाट विजय भए। हामीले नारा लगायौं, ‘अस्कल–पाटन जोडियो, लालकिल्ला तोडियो।’ कति खुसी भएका थियौं। पहिलो पटक स्ववियुमा हाम्रो झण्डा लगाउन पाउँदा...। त्यो खुसी आज किन छैन प्रदीप पौडेल आज स्वास्थ्य मन्त्री छन्। हिजोका दिनमा गगन थापा। तर त्यो दिनको उन्मक्त हर्ष म किन अनुभूत गर्न सक्दिनँ

त्रिचन्द्र क्याम्पसमा आईएस्सीबाट एकजना हुनैपर्छ भनेर नेविसंघको प्यानलमा गगन थापालाई राखेका थिए। हामी आईएस्सीका सबैले गगनमा आफैंलाई देखेका थियौं। आज उनी महामन्त्री छन्। तर उहाँमा हामी आफैंलाई पूर्णरूपले भेटेका छैनौं। चिप्लो दल्ने र अवसरवादहरूको भीडमा हराएको जस्तो लाग्छ। विश्वप्रकाश शर्मा सरल र आदर्श व्यक्ति। पाटनको पढाइका बेला उहाँ कुपन्डोलको त्यो मेरो साँघुरो कोठामा आउनु भएको बिर्सेको छैन। उहाँले लिएको कागती चियाको त्यो स्वाद अझै जिब्रोमा अड्किएको छ। तर आज पार्टीका पदाधिकारी भेट्दा त्यो आत्मीयता किन महसुस हुन्न

म भित्रभित्रै चिसिएको छु। सायद यो थकाइ हो। आदर्शबाट व्यवहारमा खस्दा देखिएको अन्तर हो या, सपना र यथार्थबीचको टकराव हो। तर पनि पूर्णतः निराश छैन। राजनीतिबाट भाग्न खोजिरहेको पनि छैन। बरु अझ सजग छु। अब केवल झण्डा बोक्ने कार्यकर्ता होइन, सोच्ने कार्यकर्ता हुन चाहन्छु। आत्मालोचना गर्ने सदस्य हुन चाहन्छु। के बीपीको समाजवाद आजको सत्ताभित्र कतै जीवित छ कि केवल भाषणमा बाँचेको छ के कांग्रेस अझै त्यो कांग्रेस हो कि एउटा सुविधाभोगी संस्थामा सीमित वा निजी कम्पनीका रूपमा स्थापित हुँदै छ।

यी प्रश्न केवल मेरा होइनन्, हजारौं कार्यकर्ताका हुन्। अझै सपना देख्छु, जुन कांग्रेस बाल्यकालमा चिनेँ। जसका लागि चोट सहेँ, जसको झण्डा बोक्दै क्याम्पसमा दौडिएँ। त्यही कांग्रेस एक दिन फेरि जनताको पार्टी बन्नेछ। आदर्श फर्किनेछ, सादगी फर्किनेछ। राजनीति फेरि सेवा बन्नेछ, सत्ता होइन। त्यो दिनका प्रतीक्षा गरिरहेछु।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.