र पो एमाले

र पो एमाले

एमाले सत्तामा होस् वा प्रतिपक्षमा, चुनावको संघारमा होस् वा नहोस्, निरन्तर राजनीतिक चर्चाको केन्द्रमा रहनु विशेषता बनेको छ ।

न निकट भविष्यमा महाधिवेशन, न कुनै आसन्न चुनावको चटारो । न त कुनै विशेष चर्चायोग्य घटना वा परिघटना ! तैपनि, नेकपा एमाले नेपाली राजनीतिको केन्द्रमा छ, लगातार चर्चाको शिखरमा ।

आजको परिस्थिति हेर्ने हो भने सत्तारूढ समीकरणका शीर्ष नेतादेखि दुर्गम गाउँबस्तीका टोलटोलसम्म एमालेको घनिभूत चर्चा व्याप्त छ । स्वाभाविक रूपमा, चर्चा हुनासाथ पक्ष र विपक्षमा टीकाटिप्पणी हुने नै भयो । यसको अझ रमाइलो पक्ष त के छ भने विगतमा केपी शर्मा ओलीका कट्टर विरोधीहरू एकाएक उहाँको पक्षमा बोल्दै र लेख्दै देखा परेका छन् भने कट्टर पक्षधरमध्ये कतिपयले नेतृत्व हस्तान्तरणको बहसलाई अघि सारेका छन् । जे होस्, पछिल्ला केही हप्तादेखि यो मुलुक र मुलुकप्रति चासो राख्नेहरूका बीचमा एमालेको चर्चा कहिल्यै घटेको छैन ।

अंग्रेजीमा एउटा प्रसिद्ध भनाइ छ, गुमनाम हुनुभन्दा बदनाम हुनु नै सही । चर्चामा रहिरहन मानिसले अनेक हत्कण्डा अपनाउँछन् । तर एमालेको हकमा त्यस्तो केही देखिँदैन । न उसले चाहेर, न उसको कुनै नेता, कार्यकर्ता वा पार्टी पंक्तिले नै चर्चामा आउन कुनै प्रायोजित कार्यक्रम गरेको छ । तैपनि एमाले आज सर्वाधिक चर्चामा छ र भोलि पनि रहने निश्चित छ । कुनै व्यक्ति, संस्था वा पार्टीको नाम लिँदा यदि मानिसहरूले वास्ता गर्दैनन्, मौन रहन्छन् वा कुनै प्रतिक्रिया दिँदैनन् भने त्यसको प्रभाव क्षीण हुँदै गएको बुझ्नुपर्छ । तर, यदि त्यसको नाममा मानिस विभाजित हुन्छन्, समर्थन र विरोधमा आवाजहरू उठ्छन् भने कुनै न कुनै रूपमा त्यसको प्रभाव र सान्दर्भिकता कायम छ भन्ने प्रमाणित हुन्छ ।

विगतदेखिकै चर्चाको विरासत :  एमाले खासखास मोडमा महत्त्वपूर्ण परिघटनाका साथ चर्चाको शिखरमा रहने गरेको छ । २०४६ सालको जनआन्दोलनको सफलतासँगै पार्टी महासचिवका रूपमा (सुरुमा प्रवक्ता बनेर) उदाएका जननेता मदन भण्डारीको विलक्षण प्रतिभा र समयसापेक्ष विचारले एमालेलाई त्यसबेला चर्चाको शिखरमा पुर्‍यायो । त्यो बेलाका महासचिव मदन भण्डारीका भाषणका टेप रेकर्ड (क्यासेट) लुछाचँुडी हुन्थ्यो । ती क्यासेट दरबारदेखि सार्वजनिक यातायाततिर समेत सुनिन्थे । खुला राजनीतिमा आउँदा माले–एमाले एकीकरण, २०४७ सालको संविधान निर्माणमा भूमिका, २०४८ सालको चुनावमा सहभागिताजस्ता हरेक महत्त्वपूर्ण मोडमा एमाले सधैं केन्द्र भागमा रह्यो ।

दासढुंगाको रहस्यमय घटना, मदन भण्डारीको अवसानपछिको रिक्तता, विद्या भण्डारीको उदय र २०५१ सालमा बनेको एमाले नेतृत्वको सरकारले ल्याएका ‘आफ्नो गाउँ आफैं बनाऔं’ जस्ता नवीनतम र लोकप्रिय कार्यक्रमहरूले एमालेलाई लगातार चर्चाको केन्द्रबिन्दुमा राखिरह्यो । जननेता मदन भण्डारीको दु: खद् अवसानपछि मदनप्रदत्त ‘जनताको बहुदलीय जनवाद’को अपनत्व र व्याख्याको समस्या खड्किएको थियो । २०५६ सालसम्म मनमोहन अधिकारीको अग्लो कद र स्वच्छ छविको छाताले एमाले पंक्तिलाई ओत प्रदान गरिरह्यो । तर, मनमोहन अधिकारीको कीर्तिशेषपश्चात् एमालेको ओरालो यात्रा प्रारम्भ भयो, जुन यात्रा २०७०–७१ सम्म लगभग रह्यो ।

ओली नेतृत्व र चर्चाको नयाँ अध्याय :  २०७१ सालको नवौं राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएपछि एमाले फेरि चर्चाको शिखरमा चढ्यो । योसँगै माधव नेपाल र झलनाथ खनालकालको एमालेको ठहराव र गतिहीनता अन्त्य भयो । २०७० सालको निर्वाचनमा झलनाथ–माधव टिमले बाँडेको टिकट र बनाएको समानुपातिक सूचीबाट विजयी बनेका सांसदहरूको मतबाट अनपेक्षित रूपमै दलको नेता निर्वाचित बन्न पुगेका ओलीले लामो समयसम्म पार्टी सत्तामा रहेका माधवकुमार नेपाललाई नवौं राष्ट्रिय महाधिवेशनबाट हराएर पार्टी अध्यक्ष जित्नु आफैंमा महत्त्वपूर्ण राजनीतिक परिघटना थियो । त्यसपछि एमालेलाई कहिल्यै कुनै एजेन्डामा पछि पर्न परेन । एमाले सदाबहार चर्चाको केन्द्रमा रहिरहन सफल भयो ।

२०७४ सालको निर्वाचन, नेकपा निर्माण र त्यसपछिको विघटन, एमालेको विभाजन, ओली नेतृत्वको सरकार, संसद् विघटन र पुनर् स्थापना, अनि फेरि एमालेको पुनरागमन जस्ता एकपछि अर्काे घटना–परिघटनाले सधैं एमाले र त्यसको नेतृत्वकर्ता केपी शर्मा ओलीलाई अहिलेको प्रचलित भाषामा भन्दा ‘ट्रेन्डिङ’मा राखिरह्यो । संविधान निर्माणमा लिएको अडान, क्षेत्रीय र जातीय अतिवादविरुद्धको वैचारिक संघर्ष, भारतीय नाकाबन्दीको डटेर सामना र चीनसँग व्यापार तथा पारवहन सन्धि गर्दा होस्, केपी शर्मा ओली देशविदेशमा चर्चाको शिखरमा रहिरहने सफल पात्र बन्नुभयो । एमाले पनि राजनीतिको चासो र चर्चाको केन्द्र भागबाट कहिल्यै ओझेल परेन ।

२०७९ को निर्वाचनताका नेपाल र केही विदेशी मिडियामा सम्भावित निर्वाचन परिणामका पूर्वानुमानहरू अत्यन्त रोचक थिए । आफूलाई नेपालका अग्रणी मिडिया दाबी गर्नेहरूले सार्वजनिक गरेका पूर्वानुमान अहिले पनि जोकोहीले खोजेर हेर्न सक्छन् । ब्रोडसिट दैनिकका हेडलाइन र अनलाइनहरूका सर्वाधिक पढिएका समाचारहरूले कांग्रेस, माओवादी र समाजवादीको गठबन्धन हुँदा एमालेले प्रत्यक्षतर्फ १३ सिटभन्दा बढी नजित्ने ठोकुवा गरेका थिए । कसैले सात, कसैले नौ, त कसैले ८ देखि १२ सिटमा खुम्चिने भनेर आकर्षक पाइचार्ट र ग्राफिक्ससहित विश्लेषण छापेका थिए । ती समाचार र विश्लेषणलाई देशभर पुगेर अध्यक्ष ओली र अन्य नेताहरूले खण्डन गर्दै हिँड्नु परेको थियो ।

संसद् विघटन गरेर प्रतिगमनतर्फ देशलाई लगेको, संविधान समाप्त पारेको, दुई तिहाइको सरकार टिकाउन नसकेको, नेकपा विभाजन गरेको जस्ता संगीन आरोपहरूको चर्काे आक्रमणको चक्रव्यूहबीच एमालेले शानदार मत प्राप्त गर्‍यो । त्यस्तो प्रतिकूल चुनावमा एमालेले करिब २९ लाख मत प्राप्त गरेर लोकप्रिय मतमा पहिलो पार्टी बन्यो । देशका ६ वटा प्रदेश र ४४ वटा जिल्लामा समानुपातिकतर्फ पहिलो मत प्राप्त गर्नु त्यस चक्रव्यूहलाई तोडेर प्राप्त गरेको एक शानदार विजय थियो ।

तत्कालीन गठबन्धनलाई भत्काएर प्रचण्ड नेतृत्वको सरकार बनाउनु र ओलीलाई ‘बालकोटको बार्दली’ भनेर खिसी गर्ने प्रचण्डलाई त्यही बार्दलीमा उभ्याएर हात हल्लाउन लगाउनु चानचुने प्रतीकात्मक घटना थिएन । पछि, भारतीय प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी भएर फर्केपछि फेरि पुरानै ‘कम्फर्टेबल’ गठबन्धनमा फर्केका प्रचण्ड छिमेकी देशका प्यादा हुन् भन्ने भाष्य स्थापित हुँदै गर्दा सरकारबाट हटेको एमाले नै फेरि चर्चाको शिखरमा रहिरह्यो ।

अभियानमार्फत संगठनको पुनर्जागरण
१. विशेष अभियान :  मिसन ग्रासरुट :  २०७९ सालको निर्वाचनलगत्तै पार्टीले २०८० फागुनदेखि ८१ वैशाखसम्म ‘मिसन ग्रासरुट’नामक एक विशेष अभियानको घोषणा गर्‍यो । नेपाली राजनीतिमा कसैले प्रयोग नगरेको यो बिल्कुलै नयाँ र मौलिक प्रकारको अभियानमा ७ सय ५३ वटै पालिका र ६ हजार ७ सय ४३ वटै वडामा फरकफरक भूगोलका केन्द्रीय नेताहरूलाई विशेष कामको सूची थमाएर पठाइयो । पार्टीको खाताबाट किञ्चित खर्च नगरी आफ्नै व्यवस्थापनमा खटिएका नेताहरूले कहिल्यै केन्द्रीय नेतृत्वको अनुहार देख्न नपाएका अत्यन्त दुर्गम गाउँहरूमा पुगेर तोकिएको काम पूरा गरे । यसले देशभर एकैपटक पार्टी काममा गति लियो, अधिवेशनहरू भए, जनसंगठनहरू बने र जनप्रतिनिधि तथा पार्टी कमिटीबीच समन्वय स्थापना भयो । यस अभियानको सबैभन्दा महत्त्वपूर्ण काम पार्टी सदस्यताको सशरीर उपस्थित भएर नवीकरण गर्नु थियो । जसले ठेकेदारी प्रथामा हुने सदस्यता नवीकरणको विकृति अन्त्य गरी वास्तविक एमालेहरू मात्र सदस्यमा सूचीकृत भए ।

एमालेको यो अनवरत चर्चा कुनै संयोग नभएर, जनतासँग प्रत्यक्ष जोडिने र संगठनलाई निरन्तर क्रियाशील बनाइराख्ने एक सुविचारित रणनीतिको प्रतिफल हो, जसले पार्टीलाई भविष्यका सबैखाले सफलताहरूको हकदार र दाबेदार बनाउनेछ।

२. झुलाघाट–चिवाभन्ज्याङ संकल्प यात्रा :  २०८० मंसिर १४ देखि एमालेले मध्यपहाडी लोकमार्गको पश्चिमी सिमाना झुलाघाटबाट पूर्वी सिमाना चिवाभन्ज्याङसम्म १ हजार ७ सय ८९ किलोमिटरको ‘संकल्प यात्रा’ पूरा गर्‍यो । एमालेकै अवधारणा र अगुवाइमा लगभग पूरा भएको यो लोकमार्ग मध्यपहाडको विकासको मेरुदण्ड हो । पछिल्लो समय भयावह रूपमा बढेको बसाइँसराइ रोक्न र खाली हुँदै गएका मध्यपहाडका बस्तीहरूलाई पुन:  गुलजार बनाउने बृहत् योजनाका साथ पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा १८ दिनसम्म यो अभियान चल्यो । यात्राको सुरुमा अध्यक्ष ओली समापनमा मात्र पुग्नुहुन्छ भन्ने अनुमानलाई गलत साबित गर्दै उहाँले सबै कार्यक्रममा सहभागी भई स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्नुभयो । यस अभियानले मध्यपहाडका २६ जिल्लामा नयाँ जागरण र उत्साह सिर्जना गर्‍यो ।
३. जरा केन्द्रित अभियान :  २०७९ को निर्वाचनपछिको तेस्रो महत्त्वपूर्ण अभियानका रूपमा एमालेले ‘जरा केन्द्रित, वडा केन्द्रित’ अभियान सञ्चालन गर्‍यो । यस अभियानले पार्टी कामको केन्द्रबिन्दु वडा र टोललाई बनायो । पार्टी सदस्यता नवीकरण, वडा र टोलका अधिवेशन, तथा जनसंगठन व्यवस्थित गर्ने जस्ता महत्त्वपूर्ण कामहरू सम्पन्न भए । यसबीचमा अधिकांश जिल्ला, पालिका, ८० प्रतिशत वडा र ५० प्रतिशत टोलमा अधिवेशन गरी संगठन विस्तार गर्ने काम सफलतापूर्वक सम्पन्न भयो ।
अभियानका ठोस उपलब्धिहरू :  

यी अभियानहरूको परिणामस्वरूप पार्टीको आन्तरिक जीवन थप व्यवस्थित र गतिशील बनेको छ ।

सदस्यतामा गुणात्मक वृद्धि : ‘मिसन ग्रासरुट’का क्रममा सशरीर उपस्थित भएर सदस्यता नवीकरण गर्नुपर्ने व्यवस्थाले पार्टी सदस्यको अभिलेख इतिहासमै सबैभन्दा यथार्थपरक बन्यो । नेकपा कालमा लहडमा सदस्य बनेका, मृत्यु भएका र पार्टी छाडेकाहरू हटेपछि सदस्य संख्या करिब पाँच लाखमा सीमित भएको थियो । तर, ‘जरा केन्द्रित अभियान’ले यसमा गुणात्मक बढोत्तरी गरेको छ । महाधिवेशन केन्द्रित ठेकेदारी विकृतिको अन्त्य भई वास्तविक सदस्यहरूको अभिलेखीकरण हुँदा एमालेको सदस्य संख्या २८ प्रतिशतले वृद्धि भएर ६ लाख ५० हजार नाघेको छ । यो संख्या ‘मिसन ८४’ पूरा गर्न अत्यन्त कामयावी हुने अपेक्षा गरिएको छ ।

व्यवस्थित हुँदै जनसंगठनहरू :  एमालेका २३ वटा जनसंगठन आआफ्ना समुदायमा स्थापित छन् । आन्तरिक अस्वस्थ चलखेल, गुटबन्दी र जनसमुदायसँगको दूरी अन्त्य हुँदै गएको छ । यो एक वर्षमा अवधि पूरा गरेका १६ वटा जनसंगठनका अधिवेशन सम्पन्न भएका छन् भने बाँकी अधिवेशनहरू आउँदो वर्ष सम्पन्न हुनेछन् ।

भविष्यको मार्गचित्र :  विधान महाधिवेशन :  विगतमा महाधिवेशनहरू नीति र विधिमा भन्दा नेतृत्व निर्माणमा मात्रै केन्द्रित हुने प्रवृत्तिलाई तोड्दै एमालेले दसौं राष्ट्रिय महाधिवेशनपूर्व प्रथम विधान महाधिवेशन आयोजना गरेको थियो । यही सफल अभ्यासलाई निरन्तरता दिँदै यही भदौ २० देखि २२ सम्म दोस्रो विधान महाधिवेशन आयोजना गरिएको छ । यसले राष्ट्रिय महाधिवेशनलाई पूर्णरूपमा नेतृत्व चयनमा केन्द्रित हुन सहज बनाउनेछ ।

विधान महाधिवेशनमा मुख्यतया तीनवटा प्रतिवेदन प्रस्तुत हुनेछन् : 
राजनीतिक प्रतिवेदन – अध्यक्ष केपी शर्मा ओली
सांगठनिक प्रतिवेदन – महासचिव शंकर पोख्रेल
विधान संशोधन प्रस्ताव – उपाध्यक्ष विष्णुप्रसाद पौडेल

विधान संशोधन प्रस्तावमाथि पार्टीको केन्द्रीय सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीमा गहन छलफल भइसकेको छ । एमालेमा बोल्न पाइँदैन र आलोचनामा बन्देज छ भन्ने भाष्यलाई चिर्दै यसपटकको बैठकमा इच्छुक सबैलाई बोल्ने अवसर दिएर खुला छलफल गरियो । २ सय ६४ जना केन्द्रीय नेताहरूले विधान मस्यौदामाथि व्यापक छलफल गरी यसलाई समृद्ध बनाउन भूमिका खेल्नुभयो । अब यी प्रस्तावमाथि ६ लाख ५० हजार पार्टी सदस्य र २९ लाख मतदाताले विभिन्न स्तरमा छलफल र बहस गर्नेछन्, जसले एमालेको सांगठनिक जीवनलाई थप सुसंगठित, सुव्यवस्थित र लोकतान्त्रिक बनाउनेछ ।

निष्कर्ष :  यसरी हेर्दा, नेकपा एमाले सत्तामा होस् वा प्रतिपक्षमा, चुनावको संघारमा होस् वा नहोस्, निरन्तर राजनीतिक चर्चाको केन्द्रमा रहिरहनु उसको विशेषता नै बनेको छ । यो चर्चा केवल बाहिरी घटनाक्रमले मात्र सिर्जना गरेको होइन, बरु पार्टीले आन्तरिक रूपमा आफूलाई सुदृढ र गतिशील बनाउन चलाएका मिसन ग्रासरुट, झुलाघाट चिवाभन्ज्याङ संकल्प यात्रा र जरा केन्द्रित अभियान जस्ता शृंखलाबद्ध र परिणाममुखी अभियानहरूको उपज हो । यी अभियानहरूले पार्टी सदस्यतामा उल्लेख्य वृद्धि गर्नुका साथै टोल र वडा तहसम्म संगठनलाई जीवन्त बनाएको छ ।

अब हुन लागेको दोस्रो विधान महाधिवेशनले पार्टीको नीति र विधिलाई थप परिस्कृत गर्दै सांगठनिक जीवनलाई व्यवस्थित गर्ने र भविष्यको राजनीतिक यात्रालाई स्पष्ट दिशाबोध गर्ने देखिन्छ । तसर्थ, एमालेको यो अनवरत चर्चा कुनै संयोग नभएर, जनतासँग प्रत्यक्ष जोडिने र संगठनलाई निरन्तर क्रियाशील बनाइराख्ने एक सुविचारित रणनीतिको प्रतिफल हो, जसले पार्टीलाई भविष्यका सबैखाले सफलताको हकदार र दाबेदार बनाउनेछ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.