सिन्धुलीमा दुई भारतीय नागरिकसहित चार जना पक्राउ
सिन्धुली : सिन्धुलीमा अवैध लागुऔषधसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुई जना भारतीय नागरिक पनि रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार भारतका ३० वर्षीय मोहम्मद रिजवान र सोही ठाउँका ३५ वर्षीय मोहम्मद इकरार अवैध लागुऔषधसहित पक्राउ परेका हुन् ।
उनीहरूलाई विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बा४ख ६०४२ नम्बरको हायस कमलामाई नगरपालिका ९ भिमान चेकपोष्टमा चेकजाँच गर्ने क्रममा अवैध खैरो हिरोइन ११ दशमलव ५०० ग्रामसहित नियन्त्रणमा लिइएको सिन्धुलीका प्रहरी प्रवक्ता तथा (डिएसपी) सूर्य प्रकाश सुवेदीले जानकारी दिए।
यस्तै बुढानीलकण्ठ नगरपालिका १ का ३५ वर्षीय सरोज बास्तोला र इश्वरपुर नगरपालिका १४ सर्लाही बस्ने अशोक हिङ्ममाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
झापाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.१ –०१–००१ ख ४५३६ नम्बरको हायसमा चेकजाँच गर्दा उनीहरूको साथबाट १६ दशमलव ४०० ग्राम अवैध खैरो हिरोइन फेला परेको प्रवक्ता सुवेदीको भनाई छ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !