ऐनापहरा बस दुर्घटना: दुई घाइते चितवन रिफर, तीनजना डिस्चार्ज
गोरखा : गोरखाबाट चितवनतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। ग २ ख १०७७ नम्बरको बस आइतबार अपरान्ह चारबजेतिर ऐनापहराबाट करिब १५ मिटर तल खस्दा बसमा सवार पाँचजना घाइते भएका वडाअध्यक्ष दिनेश केशीले बताए।
केशीका अनुसार सहिदलखन गाउँपालिका-६ की ४० वर्षीया सुनु थापा, सहिद लखन ६ रानीस्वाँराकी ४३ वर्षीया सीता थापा, सोही ठाउँकी २८ वर्षकी मीना थापा मगर, गोरखा नगरपालिका ९ का ५४ वर्षीय सनबहादुर गुरुङ र आँबुखैरेनी गाउँपालिका-१ गिरानचौरका आठ वर्षका खुशी राम रामदाम घाइते भएका छन्।
घाइते मध्य गम्भीर अबस्थामा रहेका सनबहादुर गुरुङ र सुनु थापालाई भरतपुर रिफर गरिएको उनले बताए। बाँकी तीनजना आँबुखैरेनी अस्पतालमा उपचार गरी डिस्चार्ज भएका छन्।
सो बसमा १२ जना यात्रु रहेकामा केही यात्रु ओर्लेर ऐनापहरातिर गएका, केही यात्रु, बसका चालक र सहचालक हाम्फालेर ज्यान जोगाएका इप्रका आँबुखैरेनीका इन्स्पेक्टर टेकप्रसाद सुवेदीले जानकारी दिए। दुईजना यात्रु बससँगै तल पुगेकाले गम्भीर घाइते भएका उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !