रौनकको रौनक

रौनकको रौनक

नेपाली क्रिकेटले नयाँ गति लिँदै गर्दा भविष्य बोकेका युवा खेलाडीको उदय सँगसँगै भइरहेको छ । यही होडमा होमिएका छन्, कपिलवस्तुका रौनक श्रीवास्तव । नेपाली क्रिकेटमा भविष्य खोजेर हिँडिरहेका १६ वर्षीय रौनक नेपाली यू–१९ हुँदै सिनियर टिममा स्थान बनाउन चाहन्छन् । 

विशेषतः गत महिना मलेसियामा सम्पन्न भएको एसीसी यू–१६ इस्ट जोन कपमा शतकसहित सर्वाधिक रनकर्ता र सर्वोत्कृष्ट खेलाडी बनेका रौनक भन्छन्, ‘मलाई यति मेहनतले यहाँसम्म चिनायो । अझै धेरै मेहनत गरेर नेपाल प्रिमियर लिग (एनपीएल), यू– १९ राष्ट्रिय टिम र सिनियर 
टिमसम्म आउनु छ ।’

मैले गरेको मेहनतले मेरो र मेरो परिवारको नाम बनेको छ। म यसका लागि धेरै खुसी छु। तर, मेरा बाबा–ममीले यति मेहनतले हुँदैन, अझै मेहनत गर्नुपर्छ भन्नुहुन्छ।

नेपाली सिनियर टिमका खेलाडी बसिर अहमदको बाटो पछ्याउँदै रौनकले क्रिकेट खेल्न थाले । उनैलाई हेरेर क्रिकेटको ब्याट समातेका रौनक भन्छन्, ‘मेरो लागि सबैभन्दा ठूलो आइडल बसिर दाइ नै हो,’ उनले अन्नपूर्ण पोस्ट्सँगको कुराकानीमा भने । बसिरसँगै उनी अन्तर्राष्ट्रिय क्रिकेटमा भने भारतीय स्टार खेलाडी विराट कोहलीको खेल मन पराउँछन् । रौनक बसरको परिपक्व ब्याटिङबाट आफूले पनि स्ट्राइक रोटेट गर्दै बाउन्ड्री हान्न सिकेको बताए । ‘मैले क्रिकेट बसर दाइलाई नै हेरेर सिकेको हो,’ उनले भने । 

११ वर्षको उमेरमा कक्षा ४ मा पढ्दै गर्दा बालापनको हठले क्रिकेट खेल्न थालेका रौनक अब यही क्षेत्रमा भविष्य देख्छन् । श्री बुद्ध पद्म माध्यमिक विद्यालयबाट कक्षा ८ को पढाइ सकेका रौनकले विद्यालय शिक्षालाई बीचमै छोडेर क्रिकेटलाई अगाडि लिएर गइरहेका छन् । 

कपिलवस्तुको कृष्णनगरमा २०६६ साल भदौमा बुवा अशोककुमार र आमा पुनम श्रीवास्तवको काखमा दुई छोरीपश्चात् कान्छो सन्तानको रूपमा रौनकको जन्म भएको थियो । हुर्कंदैै जाँदा अर्काले क्रिकेट खेलेको देख्दा उनलाई पनि यो खेलमा रुचि बढ्यो । सोही रुचिलाई डोर्‍याउँदै २०७७ सालमा ११ वर्षका रौनक भारत गए । त्यसयता उनी भारतको उत्तर प्रदेशको सिद्धार्थनगरस्थित गौतम बुद्ध क्रिकेट एकेडेमीमा विवेकमणि त्रिपाठी र विपिन त्रिपाठीको प्रशिक्षणमा क्रिकेट खेलिरहेका छन् । उनी भन्छन्, ‘मैले यू–१६ बाट एक्सपोजर पाएँ । अब अन्य एक्सपोजरको लागि मैले थप मेहनत गर्नुपर्छ ।’

हो, एनपीएल टी–२० फम्र्याटको खेल हो। तर, मलाई स्ट्राइक रोटेट गर्दै बाउन्ड्री हानेर खेल्न सहज लाग्छ। टी–२० फम्र्याटमा त डट खेल्न हुँदैन, जसरी पनि हानेरै खेल्नुपर्छ। म यसका लागि पनि तयार छु। 

                                                                                                ...
 
 यू–१६ मा जति मेहनत गरेको छु। त्योभन्दा डबल मेहनत र प्रदर्शन मैले यू–१९ को राष्ट्रिय टिममा पर्न गर्नुपर्छ। अझ सिनियर टिममा आउन उत्कृष्ट नै हुनुपर्छ। 

                                                                                            ...
 
 मलाई प्रश्न गर्नेहरू मैले यू–१६ खेलेर आउँदा माला लिएर ताली बजाउन र भेट्न आएका थिए। अहिले मलाई समाजले हेर्ने नजर धेरै परिवर्तन भएको छ....। 

                                                                                         ...
रौनकको ‘कमब्याक’
सन् २०२३ मा मलेसियामा हुने यू–१६ इस्ट जोन कपको लागि विभिन्न जिल्लामा छनोट भएको थियो । सोही छनोटका क्रममा रूपन्देही जिल्लामा १४ वर्षीय रौनक श्रीवास्तवले आफूलाई परीक्षण गर्न आए । तर, उनी जिल्लाको टिममा समेत छनोट भएनन् । त्यसको दुई वर्षमा रौनकले आफूलाई प्रमाणित गर्न मेहनत गरे । ‘म पहिलो पटक जिल्लाबाट फालिएको थिएँ । तर, मलाई एकपटक जसरी भए पनि यू–१६ खेल्नु छ भन्ने हठ थियो । मैले मेहनत गरें । त्यसको फलस्वरूप मैले अवसर पाएँ,’ उनले आफ्नो विगत सुनाएँ । 

उनले यस वर्षको यू–१६ राष्ट्रिय टिममा मौका बनाउन जिल्लाको छनोट खेलमा दोहोरो शतक प्रहार गरेका थिए । यही प्रतियोगितामा गरेको प्रदर्शनले उनलाई राष्ट्रिय टिममा स्थान बनाउन सहयोग गर्‍यो । 

उक्त प्रतियोगितामा उनले लुम्बिनी प्रदेशबाट खेलेका थिए । उनको टिमको प्रदर्शन खासै याद गर्न लायक भएन । तर, उनको ब्याटिङले सबैको ध्यान खिच्यो । उनले गण्डकी प्रदेशविरुद्ध रौनक एक्लैले २१७ रनको पारी खेले । त्यसबेला लुम्बिनीको स्कोर ४०३ रन बनेको थियो । रौनकले नेपाली उमेरसमूहको प्रतियोगितामै कीर्तिमानी दोहोरो शतक बनाएका थिए । 

सोही मेहनतको प्रतिफल हो गत महिना मलेसियामा भएको इस्ट जोन कपमा उनले गरेको प्रदर्शन । इन्डोनेसियासँगको खेलमा ८८ रन बनाएका उनले भुटानसँगको खेलमा शतकसहित कीर्तिमानी १६८ रन बनाएका थिए । रौनकले बनाएको १६८ रन कुनै पनि नेपाली खेलाडीले ५० ओभरको प्रतियोगितामा बनाएको उच्च व्यक्तिगत स्कोर हो । उनले ५ खेलमा २९६ रन बनाए । यो नतिजासँगै उनले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि जितेका थिए । 


यू–१६ मा पहिलो पटका राष्ट्रिय टिमको झण्डा छातीमा लिएर खेल्दा रौनकलाई बेग्लै खुसी थियो । त्यसमा पनि सर्वोत्कृष्ट खेलाडी र उच्च रनकर्ताको उपाधि जित्दा रौनकलाई छुट्टै उत्साह मिल्यो । 

‘मलाई एकदमै धेरै खुसी लागेको थियो । अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उच्च रनकर्ता पाउँदा मेरो आत्मविश्वास बढेको छ । मैले अझ राम्रो गर्न सक्छु भन्ने आश र भरोसा आफूभित्र नै बढेर आएको छ,’ उनले प्रतियोगिताको अनुभव सुनाए । 
रौनकलाई प्रतियोगितापश्चात् क्रिकेट खेलेर के गर्छस् ? भनेर प्रश्न गर्नेहरू समाजमा थुप्रै थिए । उनी भन्छन्, ‘मलाई सुरुमा क्रिकेट खेलेर के गर्छस् भनेर प्रश्न उठाउँथे । अहिले सबैले मेरो प्रशंसा गर्छन् ।’
 
नेपाली समाजमा खेलाडी बन्छु भन्न सहज छैन । अझै पनि सफलताको शिखरमा पुगेपछि ताली बजाउने हातले संघर्ष गर्दा धर्मराएको हात समाइदिँदैन । यसको ज्वलन्त उदाहरण रौनक हुन् । उनी थप्छन्, ‘मलाई प्रश्न गर्नेहरू मैले यू–१६ खेलेर आउँदा माला लिएर ताली बजाउन र भेट्न आएका थिए । अहिले मलाई समाजले हेर्ने नजर धेरै परिवर्तन भएको छ,’ उनले अन्नपूर्णसँग भने ।

‘मैले गरेको मेहनतले मेरो र मेरो परिवारको नाम बनेको छ । म यसको लागि धेरै खुसी छु । तर, मेरो बाबा–ममीले यति मेहनतले हुँदैन, अझै मेहनत गर्नुपर्छ भन्नु हुन्छ ।’

एनपीएल र राष्ट्रिय टिमसम्म खेल्ने इच्छा 
यू–१६ मा उत्कृष्ट प्रदर्शन गरेका रौनक माथिल्लो स्तरसम्म नेपालको जर्सी लगाएर खेल्न चाहन्छन् । उनी भन्छन्, ‘जसरी हाम्रो यू–१६ को कप्तान विपिन शर्माले एनपीएलबाट राम्रो एक्सपोजर पाए । म पनि एनपीएल खेल्न चाहन्छु । त्यसपछि माथिल्लो स्तरसम्म नेपालको जर्सीमा खेल्ने इच्छा छ ।’


उनले दोस्रो सिजनको एनपीएलका लागि आफ्नो नाम दर्ता गराएका छन् । उनी भन्छन्, ‘अब अगस्ट ९ तारिखमा अक्सन छ । मलाई कुनै न कुनै टिमले त लिनुहुन्छ कि भन्ने आशा छ ।’ त्यसो त यू–१६ इस्ट जोन कप एकदिवसीय फम्र्याटको खेल थियो तर, रौनकसँग स्ट्राइक रोटेट गर्दै बाउन्ड्री हान्ने क्षमता छ । उनी आफूले टी–२० फम्र्याटमा पनि राम्रो गर्न सक्ने बताए ।

‘हो, एनपीएल टी–२० फम्र्याटको खेल हो । तर, मलाई स्ट्राइक रोटेट गर्दै बाउन्ड्री हानेर खेल्न सहज लाग्छ । टी–२० फम्र्याटमा त डट खेल्न हुँदैन, जसरी पनि हानेरै खेल्नुपर्छ । म यसको लागि पनि तयार छु ।’ 

टी–२० फम्र्याटमा खेल्नका लागि उनी हालः भारतमा प्रशिक्षण गरिरहेका छन् । उनी भन्छन्, ‘मैले एनपीएलमा मौका पाएँ भने मैले त्यहाँ राम्रो प्रदर्शन गर्नु छ । एनपीएलमा राम्रो प्रदर्शन गरें भने मेरो लागि अन्य अवसरका ढोकाहरू खुल्नेछन् ।’ 

१६ वर्षका रौनक उमेरभन्दा धेरै परिपक्क तरिकाले क्रिकेटको बारेमा सोच्छन् । ‘क्रिकेट शारीरिक खेलभन्दा धेरै मानसिक खेल हो । खेल सबै दिमागको खेल हो । मानसिक स्वास्थ्य भएन भने हामीले मैदानमा खेल्न सक्दैनौ,’ उनले भने । युवा रौनक मैदानमा खेल्नुअघि योगा र ध्यान गर्छन् । जसले उनको दिमागलाई स्वस्थ बनाउने र खेलमा ध्यान दिन मद्दत गर्ने उनी सुनाउँछन् । 

उनी राष्ट्रिय टिमसम्म आइपुग्न आफ्नो तर्फबाट मेहनत गरिरहेका छन् । ‘यू–१६ मा जति मेहनत गरेको छु । त्योभन्दा डबल मेहनत र प्रदर्शन मैले यू–१९ को राष्ट्रिय टिममा पर्न गर्नुपर्छ । अझ सिनियर टिममा आउन उत्कृष्ट नै हुनुपर्छ,’ उनले भने । उनी आफ्नो लक्ष्यमा निकै समर्पित छन् । ‘राष्ट्रिय टिममा आउन निकै प्रतिस्पर्धा छ । त्यसकारण मैले मेरो मेहनत छोड्नु हुँदैन,’ रौनकले भने ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.