कैलाली कारागारमा घाइतेका आफन्तको गुनासो– अस्पतालमा भेट्नै दिइएको छैन
धनगढी : धनगढी उपमहानगरपालिका–४ का महेश चौधरी एका बिहानैदेखि तनावमा छन्। उनी कतिबेला सेती प्रादेशिक अस्पतालमा पुगिरहेका छन् भने कतिबेला कैलाली कारागार। उनलाई छोराको अवस्थाबारे केही जानकारी पाइएको छैन।
‘बिहानदेखि भौँतारिरहेका छु, न भेट गर्न दिइएको छ, न कुनै जानकारी नै दिएको छ’, सेती प्रादेशिक अस्पतालको ईमरजैन्सीको बाहिरपट्टी भेटिएका उनले भने, ‘लामो समयदेखि कारागारमा झडप भइरहेको थियो, प्रशासनले मतलब गरेन। अहिले ठुलो घटना भयो।’
उनका छोरा शरद चौधरी लागूपदार्थ सम्बन्धी मुद्दामा कैलाली कारागारमा थिए। शरदलाई ५ वर्षको जेल सजाय तोकिएको थियो। उनलाई जेल सजाय भोगेको २ वर्ष भयो। ‘छोरा भेट्न जाँदा कारागारभित्रको अवस्था नराम्रो छ भन्दै थ्यो, दुई समूहबिच झडप भइरहने र त्यसबाट सबैलाई खतरा रहेको भन्थ्यो, कारागार प्रशासनलाई पनि यसबारेमा जानकारी गराइएको थियो तर लापरबाही भएर यस्तो भयो’, महेश चौधरीले भने ।
उनी मात्रै नभई सेती प्रादेशिक अस्पताल र कैलाली कारागारमा कैदीबन्दीका आफन्तहरूको भिडभाड लागेको छ। धनगढीकै रमेश बिनाडीलाई पनि आफ्ना भान्जाबारे जानकारी छैन। लागूपदार्थ सम्बन्धी मुद्दामै कारागारमा रहेका उनका भान्जा पनि घाइते छन्।
‘भान्जाको अवस्थाबारे प्रशासन र कारागारले केही पनि जानकारी दिएको छैन। अस्पतालमा पनि जान दिन्न, कारागारमा पनि जान दिन्न’, बिनाडीले भने। उनले कारागारभित्र लाठी, रड र भाला कताबाट गए भन्ने गम्भीर प्रश्न उब्जिएको बताए।
‘झडपमा फलामे रड, भालाहरू प्रयोग भएका छन्। ती कसरी कारागारभित्र पुगे?,’ बिनाडीले प्रश्न गरे,‘यसको छानबिन हुनुपर्छ ।’ उनले लामो समयदेखि कारागारमा झडप भइरहे पनि प्रशासनले त्यसलाई सामान्य रूपमा लिएका कारण यस्तो भएको दाबी गरे।
प्रतिक्रिया दिनुहोस !